स्थानीय पाठ्यक्रम : कति प्रभावकारी हुन्छ, पाठ्यपुस्तकबिनाको पढाइ ?

अमरराज आचार्य
दाङ, १ पुस । स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार प्रदान गरिएको छ । त्यसै अनुसार पालिकाले आप्mनो अधिकार प्रयोग गरेर शिक्षा क्षेत्रमा काम गरिरहेका छन् । जिल्लामा रहेका केही स्थानीय तहले स्थानीय पाठयक्रम निर्माण तथा कार्यान्वयन गरेका छन् ।

पाठ्यक्रम निर्माण गरेका केही पालिकाले मात्रै पाठ्यपुस्तक निर्माण गरेका छन् । केहीले भने पुस्तक निर्माण नगरेर अध्यापन गराइरहेका छन् । पाठ्यपुस्तक नबनाएरै गरिने शिक्षण सिकाइ प्रभावकारी भने हुँदैन । इन्टरनेट सर्च गरेर मात्रै गरिने अध्यापनले विद्यार्थीका लागि सिकाइ उपलब्धि नहुने शिक्षाका जानकार बताउँछन् । पाठ्यपुस्तकबाट अध्यापन गराउने शिक्षक र पाठयपुस्तकबाट अध्ययन गर्ने विद्यार्थी पुस्तक नहुँदा अन्योलमा परेका छन् । पाठयपुस्तक नहुँदा शिक्षकले विषयको खोजी गर्ने समस्या, स्थानीय पाठ्यक्रमले निर्दिष्ट गरेका विषय कहाँ खोज्ने भन्ने समेत अन्योल छ । पुस्तक नहुँदा विद्यार्थीमा अध्ययनका लागि रुचि समेत नदेखिने गरेको छ ।

पाठयक्रम र पाठयपुस्तक एकअर्काको परिपुरक रहेको नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध डाँगी बताउँछन् । पाठयपुस्तक नहुँदा शिक्षण सिकाइमा प्रभावकारी नहुने उनको भनाइ रहेको छ । ‘पाठयपुस्तकबाट अध्यापन गराउँदा समेत समस्या देखिएको छ’, डाँगीले भने, ‘पाठ्यपुस्तक नै नहुँदा त्यो सिकाइ झन कसरी प्रभावकारी होला ?’ स्थानीय पालिकाले पाठयक्रमबारे शिक्षकलाई समेत जानकारी गराउन नसकेको उनी बताउँछन् ।

शिक्षकलाई समेत जानकारी नगराउँदा शिक्षक अन्योलमा पर्ने उनले बताए । ‘शिक्षकहरूलाई स्थानीय पाठयक्रमबारे जानकारी गराउनु पर्छ’, उनले भने । स्थानीय पाठयक्रमले स्थानीय कला संस्कृति तथा परिवेशबारे जानकारी हुने उपाध्यक्ष डाँगी बताउँछन् । ‘जुन लक्ष्य नीति अनुसार स्थानीय पाठयक्रम लागु गर्न खोजिएको हो त्यस अनुसार हुन सकेको छैन’, उनले भने ।

पाठयपुस्तकमा निर्भर भएका शिक्षक तथा विद्यार्थी पाठयपुस्तक नहुँदा सिकाइमा प्रभाव पर्ने गरेको लामो समयदेखि शिक्षण पेसामा संलग्न गोविन्दप्रसाद न्यौपानेले बताए । ‘पाठयपुस्तक नभए पनि शिक्षण गर्न सकिन्छ तर पाठयपुस्तकमा निर्भर भएका कारण सिकाइमा प्रभाव पर्ने गरेको छ’, न्यौपानेले भने । प्रायः शिक्षक विद्यार्थी पाठयपुस्तकमै निर्भर भएको पाइएको उनको भनाइ रहेको छ । पाठयपुस्तक नभए पनि शिक्षक, प्रअ तथा विद्यालयले सामग्री तयार गरेर शैक्षिक सामग्री उपलब्ध गराउन सकिने उनको भनाइ छ । ‘पाठयपुस्तक नहुँदा शिक्षकले मिहिनेत गर्नु पर्छ’, उनले भने, ‘स्रोत सामग्रीको खोजी गरेर अगाडि बढ्नु पर्छ ।’ शिक्षण प्रभावकारी बनाउन शैक्षिक सामग्री प्रयोग गर्न सक्नु पर्ने उनले बताए ।

पाठय पुस्तक नहुँदा शिक्षण सिकाइ प्रभावकारी नहुने प्याब्सनका केन्द्रीय सचिव यादव गिरी बताउँछन् । ‘शिक्षक तथा विद्यार्थी अधिकांश पाठपुस्तकमै निर्भर रहन्छन्’, गिरीले भने । पाठयपुस्तक स्रोत रहेको उनको भनाइ रहेको छ । त्यही स्रोत नहुँदा गरिने सिकाइ प्रभावकारी नहुने भन्दै उनले भने, ‘सिकाइका लागि पाठ्यक्रम मात्रै भएर हुँदैन, पाठ्यपुस्तक पनि आवश्यक रहन्छ नि !’

पाठयपुस्तकभन्दा पाठयक्रम महत्वपूर्ण विषय भएको नेपाल सरकारका पूर्व सहसचिव विष्णुकुमार देवकोटाले बताए तर पाठ्यपुस्तकमा अध्ययन र अध्यापन गर्ने बानी परेका कारण पाठ्यपुस्तक नहुँदा शिक्षण सिकाइमा प्रभाव पर्ने उनको भनाइ छ । ‘बानी पाठयपुस्तकमा परेकाले समस्या भएको हो’, देवकोटाले भने । पाठ्यक्रमका आधारमा स्थानीय विषय अध्यापन गर्न शिक्षकलाई तालिम दिइनु पर्ने उनको भनाइ छ । यसले शिक्षण सिकाइमा समेत सहयोग पुग्ने उनको भनाइ रहेको छ ।