देवेन्द्र बस्नेत
दाङ, १ पुस । रोल्पा त्रिवेणीका रामबहादुर पुन (नाम परिवर्तन) मनग्य आर्थिक लाभ गर्ने लक्ष्य सहित तीन महिना अघि रुस उडे । वैदेशिक रोजगारीका लागि रुस जाने योजना बनाएका उनले यो कुरा परिवारलाई भने खुलाएनन् । रामबहादुरको रुस यात्राको एउटै लक्ष्य थियो, रुसी सेना बन्ने ।
रुस पुगेर रुसी सेना बनेका रामबहादुरले त्यहाँको युद्ध झेले । त्यो त्राहीत्राहीदेखि आजीत बने । अहिले भने कसरी घर फर्कने भन्ने चिन्तामा छन् । ‘रुसी सेना बनेर राम्रो आर्थिक लाभ गर्ने लक्ष्य राखेर यहाँ (रुस) आएँ’, रामबहादुरले फोनमा भने, ‘यहाँको स्थिति सोचेको जस्तो सजिलो रहेनछ, घर फर्कने कसरी भन्ने सोचिरहेको छु, यहाँ सेना बनेर बाँच्न गाह्रो रहेछ ।’
रुसी सेनाको तालिम सकेर युक्रेन कब्जा गर्ने मिसनका साथ युद्धमा सहभागी भएका थिए, रामबहादुर । उनका अनुसार रामबहादुर सहितको रुसी सेनाको समूह रुसको सीमादेखि पाँच सय किलोमिटरभित्र युक्रेको क्षेत्रमा घुसिसकेको थियो । यो क्षेत्रमा लामो समय भिषण युद्ध चल्न सुरु भयो । ‘रुसको सीमा क्षेत्रदेखि पाँच सय किलोमिटरभित्र युक्रेनको क्षेत्रमा प्रवेश गरेका थियौँ’, उनले भने, ‘त्यहाँ युक्रेनी सेना र हामी रुसी सेनाबिच लगातार युद्ध भयो, जतिबेला पनि हामीलाई लडिरहन पथ्र्यो ।’
युक्रेनी सेनाविरुद्ध युद्धमा होमिएका रामबहादुरले युक्रेनी सेनालाई जित्ने हिम्मत गर्न सकेनन् । बरु ज्यानको असुरक्षा बढ्दै जान थाल्यो । आफू युक्रेनी सेनाको तारो बन्ने उच्च खतरादेखि डराइरहे, उनी । त्यसपछि युक्रेनी भूमिबाट पछि हट्ने योजना बनाए । ‘यहाँ युक्रेनी सेनासँग भिडेर ज्यान जोगिएला जस्तो लागेन’, उनले भन, ‘अनि त्यो युद्धभूमि युक्रेनको क्षेत्रबाट ब्याक हुने योजना बनाउन थालेँ ।’
युक्रेनको युद्धभूमिबाट ब्याक भएर रुसी क्षेत्रमा प्रवेश गर्नका लागि अनेकन उपाय अपनाउन थालेका रामबहादुरले आफ्ना निधन भइसकेका बाबुको विषयलाई अन्तिम उपाय निकाले । उनले निधन भइसकेका बाबुलाई घाइते भएको भनेर नक्कली कागजी प्रमाण बनाउन खोजे । त्यसपछि उनले अस्पतालबाट फर्जी कागज तयार पारे र आफ्नो रुसी सेना समूहका नायिकेलाई उक्त कागजी प्रमाण बुझाए ।
‘बुवा घाइते भएको र अस्पतालको आइसियुमा रहेको भनेर अस्पतालबाट कागज बनाउन लगाएँ तर बुवाको निधन भइसकेको छ, त्यो कागज रुसमा मगाएँ’, उनले भने, ‘त्यही कागज हाम्रो सेना समूहका नायिकेलाई बुझाएँ, त्यसपछि उनले युक्रेनको भूमिबाट मलाई मस्कोसम्म फिर्ता आउन अनुमति दिए, ती सेनाका नायिके सहयोगी थिए, चाँडो फर्कनु भनेर बिदा दिए ।’
युद्धग्रस्त क्षेत्रबाट बिदा पाएका रामबहादुर अहिले रुसको राजधानी मस्कोमा छन् । उनी त्यहाँबाट नेपाल आउन खोजिरहेका छन् । ‘बुवा घाइते भई अस्पतालको आइसियुमा भर्ना भएको कागजका आधारमा नेपाल आउने सोँचमा छु’, उनले भने, ‘मलाई १६ दिनका लागि भनेर बिदा दिने सम्भावना देखिन्छ, सरकारले बिदा दिने बाटो हेरिरहेको छु ।’
बुवाको घाइते कागजी प्रमाणका आधारमा उनी नेपाल फर्कन पाउँछन् या पाउँदैनन्, अहिलेसम्म निश्चित भई नसकेको उनले बताए । हाल मस्कोमा रहेका उनले यो कागजी प्रमाणका आधारमा नेपाल आउन नमिले अरु उपाय अपनाएर भए पनि नेपाल आउने योजना बनाइसकेका छन् । ‘बुवा घाइते भनेर बनाइएको कागजका आधारमा बिदा पाएँ भने यही प्रक्रियाबाट आउँछु’, उनले भने, ‘यहाँको सरकारले यसरी आउन दिएन भने घर आउने अरू उपाय अपनाउँछु तर घर चाहिँ जसरी पनि आउँछु, यहाँ रुसी सेना भएर बस्ने वातावरण नै छैन ।’
उनका अनुसार रुसी सेना एउटा फौजमा तीन÷चार जना नेपाली मात्रै हुन्छन् । युक्रेनसँग भिडन्तमा उत्रने नेपाली कहाँ बेपत्ता हुन्छ भन्ने यकिन जानकारी नै कसैलाई नहुने गरेको उनले बताए । ‘हाम्रो फौजमा हामी तीन जना नेपाली मात्रै थियौँ, म मात्रै मस्को फर्किएँ’, उनले भने, ‘नेपाली धेरै सम्पर्कविहीन हुनु परेको अवस्था छ, को कहाँ छ यहाँ कसैलाई थाहा हुन्न ।’