व्यावसायिक पत्रकारितामा नागरिक पहुँच

लक्ष्मण शर्मा

आजको विश्वमा नागरिक पत्रकारिताको प्रभाव बढ्दै गएको छ । प्रत्येक नागरिक पत्रकारिताको स्रोत, उपभोक्ता र मूल्याङ्कनकर्ता हो । नागरिक पत्रकारिता कुनै व्यवसायी, संस्थागत, सामुदायिक वा पम्परागत पत्रकारिता होइन । नागरिक पत्रकारिता एउटा यस्तो अवधारणा हो । जसले सञ्चार उपभोक्ता वा कुनै पनि नागरिकले समाचार निर्माण वा विचार निर्माणमा क्रियाशील भूमिका खेलेको हुन्छ ।

कुनै पनि व्यावसायिक सञ्चार माध्यमले सम्प्रेषण गर्ने विषयवस्तुमाथि नागरिकद्वारा अभिव्यक्त गरिने विचार, टिप्पणी वा असन्तुष्टि नागरिक पत्रकारिताको एउटा रुप हो । समाजमा हुने घटनाप्रति व्यावसायिक पत्रकारिताद्वारा सम्प्रेषण गरिएका सामग्रीमा नागरिकका आवाज अभिव्यक्त भए वा भएनन् ? त्यसप्रति पाठकपत्रको माध्यमबाट, ब्लग तथा समाचार वेवसाइटमा टिप्पणी गरेर वा वास्तविक सूचना उपलब्ध गराएर नागरिकले सञ्चार सामग्री निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् । यसलाई नै नागरिक पत्रकारिता भनिन्छ ।

नागरिक पत्रकारिता व्यावसायिक पत्रकारिताको पृष्ठपोषक मात्र नभएर व्यावसायिक पत्रकारितालाई वास्तविकताको गहिराइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अवधारणा समेत हो । मूल प्रभावका सञ्चार माध्यमले वास्तविकतालाई लुकाएको स्थितिमा नागरिक पत्रकारिताले यसलाई उदाङ्गो पार्ने काम समेत गर्दछ । नागरिक पत्रकारितालाई आवाजविहीनको आवाज पनि भनिन्छ । यसलाई सार्वजनिक, सहभागितामूलक, लोकतान्त्रिक, छापामार वा सडक पत्रकारिताको नामले समेत चिनिन्छ ।

नागरिक पत्रकारिता व्यावसायिक पत्रकारिताको विश्वसनियतामाथिको चुनौती पनि हो । पेसागत सञ्चार माध्यमले नागरिक पत्रकारद्वारा खिचिएका उपभोगी भिडियो फुटेजबाट प्रशस्त लाभ उठाउन सके पनि कतिपय सञ्चार माध्यमले नागरिक पत्रकारका सामग्रीहरुलाई स्थान नदिने पनि गरेको पाइन्छ । नागरिक पत्रकार घटना स्थलमा प्रत्यक्ष उपस्थित भएर समाचार दिने हुनाले नागरिक पत्रकारिताको विश्वसनियता व्यावसायिक पत्रकारिताको भन्दा बढी हुन्छ, भन्नेहरु पनि छन् । प्रहरी वा सेलेब्रेटीहरुले गरेका दुव्र्यवहार र अपराधजन्य क्रियाकलापसँग सम्बन्धित तस्बिर तथा फुटेजहरु नागरिक पत्रकारिताका सामग्री हुन् ।

यसैगरी समाजमा हुने हत्या, कुटपिट, बेमौसमजन्य प्रकोप, सवारी दुर्घटना, युद्ध र आक्रमणका तस्बिर एवम् फुटेजहरु पनि नागरिक पत्रकारिताको सामाग्री हुन् । कतिपय व्यवसायिक पत्रकारहरुले नागरिक पत्रकारहरुद्वारा बढी चुनौतीको सामाना गरिरहेका हुन्छन् । यसो हुनुको मुख्य कारण नागरिक पत्रकारले उपलब्ध गराएका सूचनाको सत्यताप्रति व्यावसायिक पत्रकारमा शङ्का रहने गर्दछ । त्यसो त सम्प्रेषण समाचारमाथि नागरिक पत्रकारिताको सहभागिताका लागि सधैँ ढोका खुला राखेको हुन्छ । कतिपय वेवसाइटले आफ्ना समाचार वा अन्य सामग्रीमा टिप्पणी गर्न तथा त्यसप्रति भिडियो फुटेज जोड्न नागरिकलाई प्रेरित गरिरहेका हुन्छन् ।

यसबाट वेवसाइट सञ्चालकको वेवसाइटको प्रचारप्रसार र सहभागितामूलक पत्रकारिताको विकासमा समेत मद्दत पुग्ने गर्दछ । नागरिक पत्रकारिताको अवधारणा अनुसार नागरिकले व्यावसायिक पत्रकारिताको तालिमबिना आधुनिक प्रविधिको उपयोग गरेर आफ्ना विचार, आफूले खिचेका तस्बिर वा भिडियो फुटेज सञ्चार उपभोक्ताको हैसियतले व्यावसायिक पत्रकारद्वारा उपलब्ध गराइएको सञ्चार माध्यममार्फत सम्प्रेषण गर्दछन् । यसैगरी नागरिक पत्रकारले आफ्नै ब्लगमार्फत् पनि मूलप्रवाहका सञ्चार माध्यमले सम्प्रेषण गरेका समाचार लेखमा देखिएका त्रुटिहरुलाई औल्याउने र सत्य–सथ्य कुराहरुलाई बाहिर ल्याउन सक्छन् । यसले गर्दा व्यावसायिक पत्रकारिताका लागि नागरिक पत्रकारिता सबै चुनौतीको रुपमा हरने गर्दछ ।

पत्रकारितामा नागरिकको संलग्नताको इतिहास लामो छ । विशेष गरी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा नागरिकले गरेका अनुमानबाट आधुनिक नागरिक पत्रकारिताको इतिहास सुरु भएको मानिन्छ । व्यावसायिक पत्रकारले जनजीवनका विभिन्न घटनाप्रति रिपोर्टिङ गर्दा परम्परागत मान्यतालाई रुपमान्तरण गर्नमा नागरिक पत्रकारले महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ । पछिल्ला वर्षहरुमा कुनै पनि सामाजिक घटना क्रमहरुको रिपोर्टिङ गर्ने व्यावसायिक पत्रकारले नागरिकलाई समाचार निर्माणमा सहभागी गराउने गरेको पाइन्छ ।

जसबाट नागरिकका आवाजहरु मुखारित हुनुको साथै समाचार सामग्रीको सत्यताको पक्ष बलियो हुन पुग्दछ । व्यावसायिक पत्रकरिताका लागि नागरिक पत्रकारिता अनुसन्धान एजेन्ट पनि बन्न सक्दछ । व्यावसायिक पत्रकारले कुनै विषयमा न्यूज स्टोरी लेख्दा उसले निश्चित दायराका नागरिकलाई नमुनाका रुपमा छनोट गर्न सक्छ र उनीहरुले उपलब्ध गराएका सूचनाका आधारमा आफ्नो न्यूज स्टोरी पूरा गर्दछ । यसबाट व्यावसायिक पत्रकारको समाचार सामग्रीको सत्यता पुष्टि हुन्छ नै, त्यस बाहेक यस्तो पत्रकारिता सहभागितामूलक र लोकतान्त्रिक समेत ठहरेन पुग्दछ ।

सूचना प्रविधिको विकासले यतिबेला विश्वलाई एउटा गाउँमा परिणत गरिदिएको छ । अझ इन्टरनेटको विकासले त विश्वलाई एउटा डेक्सटप, ल्यापटप वा मोबाइलमा सीमित गरिदिएको छ । यसले गर्दा नागरिक पत्रकारिताले नयाँ जीवन पाएको छ । जसको माध्यमबाट नागरिक पत्रकारले आफ्ना सामग्रीलाई विश्वव्यापी बनाउन पाएका छन् । व्यावसायिक पत्रकारिताको औपचारिक समाचारको तुलनामा नागरिक पत्रकारिताको अनौपचारिक तथा चाखलाग्दा वस्तुगत सामग्रीले धेरै पाठकको ध्यान खिच्न सफल गएको पाइन्छ र यस्ता सामग्रीको समृद्धिका लागि धेरै नागरिकको सहभागिता देख्न सकिन्छ ।

इन्टरनेटको सुरुवात पछि नागरिक पत्रकारिताको मुख्य स्रोत ब्लग बन्न पुगेको छ । सन् १९९९ मा ‘पत्रकारिता जनताबाट हुनु पर्दछ’ भन्ने अवधारणाको विकास भयो । जसका लागि वेव, ब्लग, च्याटरुम, मेसेजबोर, बिकी, मोबाइल, कम्प्युटरजस्ता इन्टरनेट तथा नेटवर्किङ प्रविधिको प्रयोग गरियो । जनमत सर्वेक्षण पनि नागरिक पत्रकारिताको क्षेत्रमा नयाँ आयम हो । व्यावसायिक पत्रकारिताद्वारा सम्प्रेषित समाचार आम मानिसका लागि समाचार नबन्न सक्छ । सञ्चार क्षेत्रको विश्वव्यापी करणले गर्दा समाचार लेखनको पम्परागत ढाँचाले आम नागरिकको ध्यान नखिच्न सक्छ । जसमा नागरिकका भावना अभिव्यक्त नभएका हुन सक्छन् वा घटनाको वस्तुगत स्थितिको चित्रण त्यस्ता समाचारले दिन नसकेको हुन सक्छ । यसैले समाचार सामग्रीको निर्माणमा सञ्चार माध्यमले नागरिकका लागि सधैँ ढोका खुला राख्न जरुरी छ । जसको माध्यमबाट नागरिकलाई समाचारमा प्रत्यक्ष सहभागी गराउन सकियोस् र उनीहरुको भावनाको, उनीहरुले देखेको, भोगेको कुराहरुको चित्रण गर्न सकियोस्, मूल प्रभावहका सञ्चारमा माध्यमका पाठक, दर्शक वा स्रोताहरु नै नागरिक पत्रकार हुन व्यवसायी पत्रकारिताको निश्चित उद्देश्य हुन्छ ।

र, ऊ निश्चित आचारसंहिताभित्र बाँधिएको हुन्छ तर नागरिक पत्रकारिता स्वच्छन्दवादी धारो कतिपय व्यवसायी पत्रकारहरुले नागरिक पत्रकारलाई पत्रकारिताको परम्परागत लक्ष्य र उद्देश्य छाडेको आरोप लगाउने गर्दछन् । उनीहरुले नागरिक पत्रकारलाई पत्रकारिताको कुनै तालिम नलिएकाले उनीहरुको समाचार सामग्रीहरुमा विश्वास गर्दैन र व्यावसायिक पत्रकारले मात्र घटनाको सत्यता तथा पत्रकारिताको संहितालाई ख्याल गर्न सक्छन् भन्ने विचार राख्छन् । यस्ता व्यावसायिक पत्रकारले नागरिक पत्रकारमा पत्रकारितामा हुनु पर्ने तीनवटा मुख्य कुरा आचारसंहिता, आर्थिक पक्ष र ज्ञानको कमी हुने धारणा राख्छन् । नागरिक पत्रकारिता सेन्सरसिपको सीमाभन्दा बाहिर हुने हुनाले पनि यसको व्यापकता भएको हो ।

लोकतन्त्रको मुलभूत मान्यता अभिव्यक्तिमा पूर्ण स्वतन्त्रता नागरिक पत्रकारिताले उपभोग गर्ने हुनाले पनि यसप्रतिको आकर्षण बढेको देख्न सकिन्छ । नेपालको सन्दर्भमा जब मूल प्रवाहका पत्रकारले नागरिकका टिप्पणीका लागि पाठकपत्रको स्थान छुटाए तबदेखि नागरिक पत्रकारिताको इतिहास सुरु भएको मानिन्छ । पछिल्ला दिनमा त्यस्ता दैनिक पत्रिकाहरुले पाठकका लागि पर्याप्त स्थानहरु छुट्याउने गरेका छन् ।

विशेष गरी पूर्व राजा ज्ञानेन्द्र शाहाले सन् २००५ मा नेपालका सञ्चार माध्यममाथि सेन्सरसिप लादेपछि नागरिक पत्रकारिताको विकासमा तीव्रता आएको पाइन्छ । त्यतिबेला ब्लगको माध्यमबाट नागरिकले आफ्ना असन्तुष्टिहरु सम्प्रेषित गर्नुका साथै सरकारी सेन्सरसिपका विरुद्ध आवाज बुलन्द पार्ने काम गरे । यसले विसं २०६२÷०६३ को आन्दोलनमा जनतालाई सडकमा उतार्न सहयोगी भूमिका खेल्यो । नागरिक स्वच्छन्दवादी अवधारणा भएकाले व्यक्ति, समाज वा देशप्रति यसको जिम्मेवारीबोधको प्रश्न यतिबेला टड्कारो रुपमा उठ्ने गरेको छ ।

मूलप्रवाहका सञ्चार माध्यमले पनि नागरिकका लागि स्थान दिने र उनीहरुले अभिव्यक्त गर्ने विचारले कसैको मानहानी गर्ने वा असत्य घटनाबारे सामग्री उपलब्ध गराउने स्थिति आएमा देश र जनताप्रतिको जिम्मेवारीबोध गरे त्यस्ता सामग्रीलाई प्रोत्साहित गर्नु हुँदैन । यसैगरी नागरिकले पनि आफूखुसी खोलेका ब्गल वा नागरिक पत्रकारिताका माध्यममार्फत् अभिव्यक्ति स्वतन्त्रताको प्रयोग ध्वंशभन्दा निर्माणमा र नकारात्मकभन्दा सकारात्मक दिशातर्फ उन्मुख गराउन सकेमा नै वास्तविक अर्थमा नागरिक पत्रकारिताको लक्ष्य पूरा हुन सक्छ ।