ब्रह्माकुमार माधव तिमिल्सेना
कसैले सोध्यो “जीवन के हो ? “जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ ।”
श्रीमद्भगवद् गीतामा लेखिएको छ –जसले शुद्ध वुद्धिले धैर्यता लिदै मनलाई आफ्नो अधीनमा राखेर ईन्द्रियजन्य विषय त्याग,राग,द्धेषदेखि मुक्त अवस्थामा रही एकान्त स्थानमा वस्न सक्छ । जो अल्पहारी छ,वाणी र मनलाई नियन्त्रण गर्दछ,सदैव समाधीमा स्थित,विरक्त अवस्था,मिथ्या शक्ति,अहंकार,गर्व,काम क्रोध वा भौतिक चिजहरुको संग्रह गर्ने संस्कारबाट मुक्त छ,जो सदैव शान्त रहन्छ,उसले नै आत्मा साक्षात्कार पाएको हुन्छ । जीवन एक बहुमूल्य यात्रा हो । यात्राको मार्ग सुरक्षित ढंगले प्रयोग गर्नाले यात्रा सहज र आनन्दायी हुन्छ । बाह्य जगतको यात्रा जस्तै अन्तर्जगतको यात्रामा पनि केही सिद्धान्त लागू हुन्छ ,। जहाँ स्थिरता हुन्छ,त्यहाँ सुरक्षा हुन्छ । त्यसैले सरल सुरक्षित जीवनका लागि समेत आन्तरिक सन्तुलनको आवश्यक हुन्छ । सवारी नियमको पालनाले दुर्घटना नभएजस्तै आद्यात्मिक ट्राफिक कन्ट्रोलको महत्व हुन्छ । जीवन असंख्य अनुभवहरुको संगालो हो । परोक्ष अपरोक्ष धेरै कुराको प्रभाव मन मस्तिष्कमा परिरहेको हुन्छ । खप्तड बाबाको विचार विज्ञानमा लेख्नुहुन्छ “तिम्रा आन्तरिक रुप तिम्रा आफ्नै विचार नै हुन र बाहिरी रुप उनैका प्रतिविम्व हुन ।” फूलको मूल्य वासनाले,प्रकृतिको मूल्य सुन्दरताले प्रतिविम्वित गर्न सक्षम भएझै मानव जीवनको महत्वपनि व्यक्ति स्वयंले अङ्गीकार गरेको मूल्य र मान्यताको आधारमा निर्धारण हुने गर्दछ । यो विश्वव्यापी सत्य नियम हो । प्राणविना मनुस्यको अस्तित्व नै समाप्त हुन्छ भने मूल्यविना आदर्श जीवनको कुनै अर्थ रहदैन । सर्वमान्य,सर्वसुलभ र शाश्वत नियम विनाको जीवन त केवल लगाम नभएको घोडा सवार जस्तो हो जतिखेर पनि दुर्घटना हुनसक्दछ । व्यवहारको उद्गमस्थल व्यक्तिको मनमा उव्जने विचारहरु नै भएकोले वीजलाई उचित भूमिमा छर्न नसक्दा उत्पादित वस्तुमा सम्पूर्णरुपले नराम्रो असर पर्न सक्छ । जस्तो वीज त्यस्तै बृक्ष अनि जस्तै फल÷फूल यो प्रकृयागत विषयमा सम्पूर्ण जिम्मेवारी वीज हो ।
आध्यात्मिकता आफ्नो जिम्मेवारीहरुलाई सन्तुलन बनाइराख्ने कला हो । स्वयंप्रति, परिवारप्रति तथा सारा विश्वप्रतिको जिम्मेवारी तब पूरा हुन सक्दछ, जब स्वयं,परमात्मा तथा कर्मको गहन गति÷नियमको गहिरो समझ प्राप्त हुन्छ ।
मनरुपी वगैचा सुन्दर वनिरहोस् भन्नका लागि व्यर्थ विचाररुपी झारलाई उखाल्ने संस्कार वसालौं । उन्नति मार्गको मूलमन्त्र शुभ संकल्प हो । संकल्पबाट नै यस जगतको उत्पति र स्थिति छ । यो जगत संकल्पमय छ । जीवनमा जतिपनि सुख र दुःख छन् ति हाम्रै संकल्पका फल हुन् । “ न तीर्थानि न दानानि न व्रतानि न चाश्रम । दुष्टाशयो दुष्दरति प्रनष्टो व्याधि तो यथा ।। अर्थात नराम्रो इच्छा र नराम्रो विचार गर्नेलाई तीर्थयात्रा,दान,व्रत जप सन्यासले वचाउन सक्दैन । श्रवणले मन सुध्रिन्छ र मननबाट वाणी सुध्रिन्छ तथा नित्य ध्यानासनबाट कर्म सुध्रिन्छ,तव मानिसको उन्नति हुन्छ । यो सव कार्य हृदयको शुभेच्छा र सुविचार तथा असल चालचलन र असल संगतिबाट सम्पादित हुन्छ । जहाँ मनको शुद्ध भावना त्यहाँ सुख रहन्छ । मानसिक शान्तिको नाम नै सुख हो । विचारमय जीवन नै आदर्शरुप पवित्र जीवन हो । व्यक्तिको संकल्पमा आत्मशक्ति ओतप्रोत भरिएको छ । हामी महान वन्ने कारण हाम्रो आत्मामा विद्यमान छ वाहिर कहीं खोज्नु आवश्यक छैन । कमी वा अभावको भावनाले मानिसमा सच्चा सुख कदापी प्राप्त हुदैन । तृष्णाले मानिसलाई शान्ति हुन दिदैन । माहात्मा बुद्ध भन्नु हुन्छ –“नकारात्मक मनले कहिल्यैपनि सुखमय जीवन प्रदान गर्न सक्दैन ।” हाम्रो सच्चा जीवन आन्तरिक हो । त्यसैले सच्चा परिवर्तन वाह्य स्थितिमा होइन आन्तरिक स्थितिमा गर्नुछ । जीवन वल,सुख,शान्ति,शक्ति एवं आनन्द भित्रबाट नै प्राप्त हुन्छ । जो भित्र छ त्यो समय पाएर वाहिर आउँछ । जो मनमा हुन्छ त्यो वाणीबाट प्रकट हुन्छ । जुन मानिस या जुन वस्तुको प्रभाव मधुर छ,महत्व छ,सुन्दर छ,हितकर छ त्यसैले नित्य वारम्वार चिन्तन गर्नुपर्छ । याद राखौ जे गर्नु छ त्यसका लागि केही समय र प्रयत्नको आवश्यकता छ । जीवन उत्तम वनाउनु छ भने मनलाई सद्विचारमा लगाउने प्रयत्न गरौ,यसबाट हाम्रो जीवन शोक,मोह,चिन्ता आदिबाट छुटेर आनन्दमय वन्नेछ ।
वास्तवमा शान्ति र अशान्ति मानव भनेको आन्तरिक मनस्थिति हो । मनले दृढतापूर्वक कुनै संकल्प गर्दछ— मैले यस्तै अनुभव गर्नु पर्दछ, तब त्यस्तै परिणाम हासिल हुन सक्दछ । तर संकल्प भने दृढ, अडिग र एकाग्रचित्त हुनु पर्दछ ।
कुनै पनि प्रकारको बाÞह्य चुनौति, समस्या र विपरीत परिस्थितिबाट विचलित हुनु हुँदैन । बाह्य चुनौति जतिसुकै भयड्ढर र उपद्रव मच्चाउने खालका किन नहुन मनको स्थिरता, धैर्यता र निर्भीकतामा रत्तिभर पनि प्रभाव नपरोस् । मन आफ्नो निर्धारित लक्ष्यमा दृढताका साथ एकचित्त रहन सकोस् । यस्तो मनको अडोल स्थितिका अगाडि परिस्थिति,समस्या,घटना र व्यक्तिहरू सबै नतमस्तक हुन्छन् । अर्थात् स्वस्थिति सबै प्रकारका परिस्थितिमाथि विजयी हुन सक्दछ । मनभित्रको अथाह सम्भाव्य ऊर्जा जब सकृय हुन्छ त्यस अवस्थामा व्यक्ति सबै प्रकारका अड्चन, बाधा र व्यवधानलाई सहजै पार गर्न सक्दछ । मानव मनमा असीमित सम्भावनाहरू रहेका हुन्छन् जो अति नै मनन योग्य छन् । संसारमा जे जति पनि नयाँ खोज आविष्कार भएका छन् यी सबै मानव मनका नै अभिव्यक्ति हुन् । कुरा शान्तमय मनको हो । वर्तमान युगमा सबैभन्दा महंगो मानव मनको शान्ति भएको छ । सुख–सुविधाका प्रचुर साधनहरू छन्, पद,प्रतिष्ठा, मान–शान, शिक्षा र बौद्धिक स्तर अति उच्च हुँदा–हुँदै पनि मनमा शान्ति छैन । मन अमनचयनको अनुभव गरिरहेको छैन । अनेक प्रकारका संकल्प विकल्पका हुरी–तुफानहरू मनमा चलिरहन्छन् । कहिले द्वन्द्वात्मक विचारहरू,कहिले नकारात्मक विचारहरू,कहिले अशुद्ध चेष्टा भएका विचारहरूले मनलाई उद्वेलित र हैरान गरिरहेका हुन्छन् । ईष्र्या, द्वेष, घृणा, वैरभाव,बदलाको भाव तथा अनेक सांसारिक इच्छाले मनलाई पिरोलिरहेको हुन्छ । समग्रमा जब मन यस्ता आन्तरिक अस्थिर तरङ्गहरूमा तरङ्गीत हुन्छ मनको शान्ति भंग भएर जान्छ । यसरी अशान्त, असन्तुलित र तनावग्रस्थ मन आफैंमा एक समस्या बन्न पुग्दछ । जसबाट उसमा अनेक प्रकारका उल्झन र दुविधाहरू मानसिक तनाव र दबावका कारण बन्दछन् । जीवनलाई सुखमय, आनन्दमय, सकुशल र सौहाद्र्रमय बनाउन प्रथमतः मनलाई नै शान्त,सन्तुष्ट,शालीन र स्वच्छ बनाउनु जरुरी छ । आध्यात्मिक विज्ञानले मानिसको चेतन, अर्धचेतन र अचेतन मनलाई सही अर्थमा जानी बुझी तिनीहरूको उचित व्यवस्थापन गर्न आवश्यक सूत्रहरू वा मार्ग निर्देशन प्रदान गर्दछ । वास्तवमा मनको खुशी, मनको प्रशन्नता र मनको सन्तुष्टी बाह्य वस्तु, वैभव र व्यक्तिभन्दा पनि सत्य ज्ञान,आत्मिक चिन्तन,मनको शुद्धि आफ्नो अनादि अस्तित्व तथा स्वधर्म र शाश्वत मूल्यहरूको बोध एवं उपलब्धीमा दिगो रहन्छ । साथ–साथै सबै आध्यात्मिक उच्च मूल्य, गुण र शक्तिको परम स्रोत परमात्म शक्तिसंगको निकटतम सम्बन्ध, सान्निध्य र याद गर्ने विधि विधानको निरन्तर अभ्यासबाट नै मनमा अथाह शान्ति सन्तुष्टी र तृप्तिको प्राप्ति हुने गर्दछ । ईश्वरसंगको आत्मिक सम्बन्धमा नै मानव आत्मालाई सही सुख अर्थात् अतीन्द्रिय सुख प्राप्त हुन्छ । अन्ततः मन आध्यात्मिक चेतनाले आलोकित मन बन्न पुग्दछ । भौतिक उन्नतिको दौडका साथै अग्रगति लिने क्रममा मानिसको मन भौतिक साधन र सामग्रीको प्रचुरता र जोड जोखनको व्यवस्थापनमा नै बढी केन्द्रित हुन पुग्यो । सर–साधन र वस्तु–वैभवको उपलब्धीको पछिल्तिर मानिसको आसय यही थियो— यावत भौतिक आवश्यकताको परिपूर्ति गर्न सकेमा मात्र मानव जीवन सुखमय र आनन्दमय हुनेछ । तर परिणाम भने सोचेजस्तो वा अपेक्षा गरेजस्तो हुन सकेन । मानवको जीवनबाट चिन्ता, भय, शोक, अशान्ति, अनेक प्रकारका अन्तर पीडा समाप्त हुन सकेनन् ।
कतिपय अवस्थामा भौतिक सर साधनको चकाचौधका बीच मानिस आफ्नो भोक र निद्रालाई समेत गुमाउन पुगेको छ । स्वाभाविक रूपमा लाग्ने भोक र निन्द्रा समेत उसको जीवनबाट छिनिएको छ । स्वाभाविक रूपमा निद्रा न लाग्दा कृत्रिम औषधिको सहाराबाट सुत्नुपर्ने अवस्थाको सिर्जित हुन गएको छ । निःसन्देह विज्ञान प्रदत्त साधनहरूले मानिसलाई सुख सुविधा प्रदान गरेको छ । कार्य क्षमतामा वृद्धि गरेको छ । सबै क्षेत्रलाई सुगम र सहज पारिदिएको छ । तर साथ–साथै मानिसको मनमा खैलाबैला, अशान्ति पनि थपिदिएको छ । मानिस भोगवाद र मुनाफावादको शिकार बनेको छ । उसलाई इन्द्रिय लोलुपतातिर धकेलिदिएको छ । उसको मनभित्र छटपटी र चञ्चलता पैदा गरिदिएको छ । जीवनबाट संयमशीलता, स्वअनुशासन र सदाचार खोसिएको छ । परिणाम स्वरूप व्यक्ति सर, साधन र सम्पत्तिको स्वयं मालिक नभएर तिनै क्षणभंगुर कुराको वशीभूत हुन पुगेको छ । वर्तमान मानव जीवनको अनौठो विडम्बना बाहिरबाट भरपुर र सम्पन्न भित्रबाट खाली, अभावग्रस्त र कंगाल रहेको देखिन्छ । यस्तो मानसिक अवस्थामा न मन शान्तमय हुन्छ न त आनन्दमय र सुखमय जीवनको नै परिकल्पना गर्न सकिन्छ । उल्लिखित अवस्थालाई सन्तुलित र सुव्यवस्थित गर्न अन्ततः आध्यात्मिक विज्ञानको ढोकामै फर्किनु पर्दछ । आध्यात्मिक विज्ञानले मानिसलाई भौतिक वस्तु, वैभव विहीन बनेर मगन्ते बन्ने पक्षमा प्रेरित गर्दैन बरु यस विद्याले मानिसलाई आत्मसंयमका साथ अनाशक्त भावले वस्तु वैभवलाई उपयोग र प्रयोग गर्ने तौर तरिका बोध गराईदिन्छ । आध्यात्मिकताले आत्मवल एवं दृढ संकल्पको मजवुद लहरबाट श्रंद्धा स्नेह समपर्णको जागृत हुन्छ । तव जीवनमा सुख शान्ति र आनन्दको मधुर फल फलित हुन्छ । विश्वासको आधार हो आध्यात्मिकता । आध्यात्मिकताको अर्थ हो अनादी एवं शाश्वतमा आस्था आत्मा एवं परमात्माप्रति विश्वास,चैतन्य चिन्तन आत्मकदम अनि परमात्मा दर्शन हो । तर आध्यात्मिकतालाई घार्मिकतासँग जोडनुको परिणामस्वरुप विश्वासमा अन्धविश्वासले प्रश्रय पाएको हो । विश्वासको आकाशमा आशाको घरातलमा जगतको इतिहास रच्न सकिन्छ । अविश्वासको परिणाम आत्म हत्या,सम्वन्ध विच्छेद, एकल परिवार,मानसिक रोगीहरुको वुद्धि असमानता,शोषण अस्त्र शस्त्रको होडवाजीको फलस्वरुप समाज उन्नतिको सिढी भन्दा पतनको खाडलमा डुव्दै गईरहेको छ । आध्यात्मिकता आफ्नो जिम्मेवारीहरुलाई सन्तुलन बनाइराख्ने कला हो । स्वयंप्रति, परिवारप्रति तथा सारा विश्वप्रतिको जिम्मेवारी तब पूरा हुन सक्दछ, जब स्वयं,परमात्मा तथा कर्मको गहन गति÷नियमको गहिरो समझ प्राप्त हुन्छ । आत्म ज्ञानबाट भौतिक तत्व एवं त्यसका सीमाहरुबाट अनाशक्त रहने शक्ति प्राप्त हुन्छ । भौतिक रूपमा सम्पन्न हुनु नराम्रो होइन तर त्यसको मातले मात्तिने पनि होइन । सम्पत्तिले सम्पन्न हँुदा–हुँदै पनि सबैको हीत र कल्याणको भावनाका साथ जीवनलाई सात्विक, सदाचारी र राजयोगी बनाउँदै मानव सेवाका लागि जीवनमा प्राप्त भएको तन, मन र धन, संकल्प र सामथ्र्यलाई अरूको सुख सुविधाको कार्यमा समर्पित गर्नु–गराउनु नै आध्यात्मिक विद्याको मूल ध्येय र उद्देश्य हो । हामी सबै मानव आत्मा मिलेर कुनै पनि कार्य गर्छौं अवश्य मनुष्यले एकता, शान्ति, पवित्रता, समृद्धिको अनुभव गर्दछ । देहभानदेखि अलग रहेर आत्मा अभिमानी बन्दै भाइचाराको सम्बन्ध राखेमा हामीमा शान्ति, सुख, प्रेम र आनन्द जागृत हुन सक्छ ।“जहाँ यी सम्पूर्ण कुराहरु छन्, त्यही वास्तविक स्वर्ग हो ।” त्यसकारण विश्व, देश तथा समाजमा परिवर्तनको आधार स्व–परिवर्तनको आवश्यकता छ ।
ज्योति–बिन्दु शिव परमात्माले परम शान्तिको प्राप्तिको लागि अन्यन्तै सरल उपाय बताउनु भएको छ । उहाँ ‘मन्मना भव’ हुने आज्ञा दिनुहुन्छ । भगवान् भन्नुहुन्छ “प्यारा बच्चाहरू मनलाई कतैतिर भट्किन नदेऊ बरू म एकलाई याद गर । यदि तिमीले मनलाई म एउटामा टिकायौं भने ‘मध्याजी भव’ अर्थात् तिमी पापबाट मुक्त भएर परमशान्ति तथा परम सुख प्राप्त गर्नेछौ” । यो महामन्त्र कुनै घोक्नको लागि वा बारम्बार जप गर्नको लागि होइन । शान्ति भन्नाले शान्ति प्राप्त हुँदैन शान्तिमा स्थित हुनाले मिल्दछ । भगवानको याद गर्नको लागि मुखबाट केही बोल्नु आवश्यक छैन । बरू मनमनै उहाँका गुणको याद आउँदै रहोस् । यसको मात्र अभ्यास गर्नुपर्छ । बाँकी कुम्भ मेला आदिमा स्नान गर्नको लागि भीड–भाडमा गएर धक्का खानु अथवा साज–सङ्गीत बजाएर शोर मच्चाउनु तथा कर्मकाण्डहरूलाई‘मन्मना भव’भनिदैन । बाह्यमुखताबाट शान्तिको स्थानमा अशान्ति नै मिल्दछ । पवित्रता नै सुख शान्तिकी जननी मानिन्छ । मनको शान्ति प्राप्त गर्नको लागि आत्मालाई आफ्नो स्वधर्मको जानकारी र त्यसै जानकारीको आधारमा मनन– चिन्तन गर्नु आवश्यक पर्छ । परमपिता परमात्मा शिव बताउनु हुन्छ–आत्माको निवासस्थान यस साकार सृष्टिका पाँच तत्वहरू अर्थात जल, वायु, अग्नि, आकाश र पृथ्वी तथा सूर्य, चन्द्रमा र तारागण भन्दा पर स्थित अखण्ड–ज्योति महत्तत्वमा छ । यस स्थानलाई परमधाम वा परलोक पनि भनिन्छ । यो परमधाम त हो नै शान्तिधाम । यस शान्तिधाममा निवास गर्ने आत्माहरूको वास्तविक स्वधर्म पनि शान्ति नै हो । जुन बेला आत्माहरू आफ्नो परमपिता परमात्मासँग आफ्नो शान्तिधाममा हुन्छन त्यस बेला आत्माहरू बिल्कुलै पवित्र तथा निविकारी ह हुन्छन । तर पाँच विकारहरू अर्थात काम,क्रोध,लोभ,मोह र अहंकारमा फस्नाले सबै आत्माहरू अशान्त भइसकेका छन् । जहाँ विकार छ त्यहाँ नै नरक छ, त्यहाँ दुःख छ अनि अशान्ति छ ।
जहाँ निर्विकारिता वा पवित्रता छ त्यहाँ नै स्वर्ग छ सुख र शान्ति छ । किनकि जहाँ दुःख हुन्छ त्यहाँ अशान्ति अवश्य हुन्छ र जहाँ सुख छ त्यहाँ शान्ति दौडेर आउँछ । त्यसैले वास्तविक मनको शान्तिका लागि यस स्मृतिमा रहनुपर्छ– म आत्मा सुख–शान्तिका दाता परमात्मा शिवको सन्तान सुख–स्वरूप हुँ, म स्वयं सुखदायी बन्नु पर्छ र अरूको लागि पनि सुख–स्वरूप रहनुपर्छ । भनिन्छ पनि –आत्मा स्वयं नै आफ्नो मित्र हो र स्वयं नै शत्रु हो । पहिले यो देख्नु पर्छ – म स्वयं आफ्नो शत्रु त होइन,म स्वयं आफ्नो मित्र त हुँ ? पतित र विकारी आत्मा स्वयं आफ्नो शत्रु बन्दछ । आफ्नो स्वयंको मित्र त्यही हो जो यी दुःख दिने विकारहरूलाई टाढा भगाउँछ । नरक बनाउने काम, क्रोध, लोभ,मोह र अहंकारलाई भगाउनको लागि आफ्नो स्वधर्म,आफ्नो र आफ्नो परमपिताको स्मृतिमा रहनु आवश्यक छ । निराकार,निर्विकार परमात्मा शिवको याद गर्नाले नै जीवात्माहरू आफ्ना जन्म–जन्मान्तरका विकर्महरूबाट छुटकारा पाएर परम शान्ति प्राप्त गर्न सक्छन् ।
युगौं तथा शताब्दीयौंदेखि जरो गाडेर बसेका सामाजिक, वैचारिक र मान्यतामा रहेका विकृति र कुकृत्यको अन्त्यका लागि मानव सोच र चेतनामा आध्यात्मिक ज्ञानको सही ढंगले बीजारोपण गर्नु पर्दछ त्यस अवस्थामा मात्र सामाजिक तथा अन्य विविध कमजोरीको अन्त्य हुनेछ । अनि मात्रै मानव जीवन सुख, शान्ति, समृद्धि र खुशीले भरपुर र मालामाल बन्नेछ । मानिस न केवल बाÞह्रूपमा देखिने कमी कमजोरीलाई रूपान्तरण गर्न सफल हुनेछ साथै संस्कारजन्य रूपमा देखा परेका सूक्ष्म तर साह्रै कडा स्वभाव–संस्कारलाई समेत परिवर्तन गरी मूल्य र गुणको प्रतिमूर्ति बन्नेछ । उसका जीवनमा शान्ति, प्रेम, सद्भाव, परोपकार तथा सेवाभावका स्थायी आभूषणहरू सुसज्जित र व्यावहारिक हुनेछन् । यस्तो व्यक्तिबाट सबैलाई मनसा, वाचा, कर्मणा, सुख मिल्ने छ । यस प्रकारको संस्कृति र जीवनशैलीबाट सबै प्रकारका मानवीय कमजोरीको अन्त्य हुन गई मानव देव आत्मा बन्नेछ । वस्तुतः समाजलाई सबल र कमजोर बनाउने दुवै पक्षमा मानवको सोच, बोल र कर्मको नै अहम् भूमिका हुने हुँदा यसको सुधारका लागि प्रत्येक व्यक्तिले गम्भीरतापूर्वक तत्परता र सक्रियता देखाउनु पर्दछ । जानेर वा नजानेर हाम्रै क्रियाकलाप र व्यवहारका कारण समाजमा यावत् कमिकमजोरीहरू देखा परेका छन् । यस यथार्थलाई स्वीकार गर्दै कसैले कसैलाई दोष दिइरहनु वा अरूसंग परिवर्तन र सुधारको अपेक्षा गर्नुको सट्टा प्रत्येकले स्वयम्लाई सच्च्याउनु र सुधार्नु पर्दछ तबमात्रै मौजुदा अप्ठ्यारा परिवेशहरू समाप्त हुनेछन् र समाज चिरकालका लागि आदर्श, सभ्य र सुसंस्कृत समाजका रूपमा रूपान्तरण हुनेछ । आध्यात्मिक जागृतीमा मानिस निहीत स्वार्थ, संकुचित मान्यता तथा नानाथरिका भेद्भावबाट मुक्त रहेर स्वयम् शान्ति, प्रेम, स्नेह, सम्मान र सहयोग जस्ता गुणहरू धारण गर्दछ तथा तदनुसार नै उसको व्यवहार कर्म हुने गर्दछ । जसले प्रत्येक कर्म र व्यवहारलाई त्रिकालदर्शी बनेर जीवनमा प्रयोग गर्दछ उसको मन नै वास्तवमा शान्त शीतल र निर्मल हुन्छ । हरेक मानव आत्मा अर्थात् धर्मका अनुयायीहरुले आफूलाई चिन्न सकेमा हामी को हौं, कहाँदेखि आयौं शान्तिको इच्छा राख्ने वाला वास्तवमा को हो, यसको अनुभव गर्न सकेमा आपसमा र समाजमा अति नै प्यार स्नेह साथ सम्मानसँग रहन सक्छौं । परस्पर सहयोगी बनेर स्वतन्त्रताको अनुभव गर्न र गराउन सक्छौं । अनि उसको जीवन नै यथार्थमा सुखमय, आनन्दमय र अमनचयनले सम्पन्न हुन्छ । अतः आनन्दमय र सुखमय जीवनको परिकल्पनालाई मूर्तरूप दिन आन्तरिक मनस्थिति हर प्रकारले स्थिर, धैर्य, शान्त र शीतल बनाआंै तथा जीवनको गन्तव्यलाई प्राप्त गरौं ।
लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र घोराही,दाङका प्रवक्ता हुन् ।