कोरोना भाइरस र मानसिक तनाव

लक्ष्मी ढकाल

डिसेम्वर, 2019 मा चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक देखिएको तथा जनवरी, 2020 मा विश्व स्वास्थ्य संगठनले घोषणा गरेको कोरना भाइरस covid -19 आजको दिनसम्ममा आइपुग्दा विश्वभर महामारिको रुपमा देखापरिसकेको छ । यो भाइरसले विश्वका अल्पविकसित देशहरु सहित विकसित देशहरु पनि अछुतो रहन सकेका छैनन् ।

नेपाल समेत यस माहामारीको उच्च जोखिमयूक्त देशको रुपमा रहेको छ । नेपालमा कोभिड–१९ को पहिलो केस पहिचान भएपछि मानिसहरूमा डर चिन्ता,अनिश्चितता र असहजता महसुस हँुदै गयो । साथै मानसिक स्वास्थ्यमा प्रभाव पर्दै गयो । नेपाल सरकारले जोखिमबाट बच्न र सुरक्षित बनाउनको लागि लक डाउनको घोषणा ग¥यो । लक डाउन सुरु भएपछि मानिसहरूको दिनचर्यामा एक्कासि परिवर्तन भयो । सधैँ आफ्नो कार्यालय जाने वा जीवन निर्वाहका कार्य गर्ने, बाहिर घुमघाम गर्ने, साथीभाइसँग भेट्ने व्यतित हुने समय एक्कासि घरमै बस्नुपर्ने परिस्थितिले गर्दा मनमा फरक प्रकारका भावना र विचारहरू आउनु स्वाभाविक हो । यसलाई कोभिड–१९ को मनोसामाजिक पक्षमा परेको प्रभाव मान्नसक्छौँ ।

परिवर्तित परिस्थितिमा विचार र भावनामा परिवर्तन आई सामान्य डर, चिन्ता, द्विविधा, दिक्दारी, अनिश्चितता रिसजस्ता अनुभूति हुनु स्वाभाविक हो । यिनीहरू असामान्य परिस्थितिमा व्यक्तिले देखाउने स्वाभाविक मनोवैज्ञानिक प्रतिक्रियाहरू हुन् । साधारण तया मानिसहरू यस्ता अनुभूतिहरूको व्यवस्थापन आफ्नै सीप र क्षमताले गरिरहेका हुन्छन् । तर, केही व्यक्तिहरूमा यस्ता अनुभवहरूको उचित व्यवस्थापन गर्न नसक्दा मानसिक स्वास्थ्यमा नकारात्मक असर देखिन्छ । जसले गर्दा व्यक्तिहरूमा बढी तनावपूर्ण अवस्था सिर्जना हुन्छ । यसले उनीहरूको शरीर, संवेग तथा भावना, व्यवहार र सम्बन्धमा असर पर्न जान्छ ।

अहिलेको परिप्रेक्ष्यमा सामान्य रुघा लाग्दा पनि कोरोनाको डर र चिन्ता जोडिन हुनसक्छ । बाहिर निस्कन नपाउँदा बढी रिस उठ्ने, झर्को लाग्ने, अरुलाई दोष दिनेजस्ता व्यवहार उत्पन्न हुनसक्छ । काम र आर्थिक क्रियाकलाप रोकिँदा आधारभूत आवश्यकता तथा आगामी दिनहरूको बारेमा चिन्ता र अनिश्चितताको महसुस हुने गर्छ । ज्याला मजदुरी तथा साना व्यवसाय गरी दैनिक गुजारा चलाउनेहरूको लागि यो समय झनै चुनौतीपूर्ण छ र मानसिकरूपमा धेरै नै प्रभावित हुन्छन् । यस्तो अवस्थामा नकारात्मक सोचहरूको विकास हुनसक्छ । जसलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न जरुरी हुन्छ । तनावले गर्दा शरीरमा देखिने असरहरूमा श्वासप्रस्वासमा परिवर्तन आउने, मुटुको चालमा परिवर्तन आउने, टाउको दुख्ने, रिङ्गता लाग्ने, झुम्म हुने, पेट तथा पाचन प्रणालीमा गडबडी हुने, जोस जाँगर र कार्य गर्ने ऊर्जामा ह्रास आउनेजस्ता लक्षणहरू देखिनसक्छन् ।

तनावले गर्दा संवेग तथा भावनामा देखिने असरहरूमा रिस, चिन्ता, द्विविधा, दिक्दारीपन, शङ्का, डर, अनिश्चितताको महसुस, अत्यास लाग्ने आदि पर्छन् । छटपटाउने, चिढ्चिढाउने, आक्रामक, कोही धेरै खाने र कोही खाँदै नखाने, कोही धेरै सुत्ने कसैलाई निन्द्रा नलाग्ने, दिउँसो सुत्ने, इन्टरनेट र इलेक्ट्रोनिक सामग्रीहरूको (मोबाइल र ल्यापटप) लत बस्ने, मद्यपान तथा धूमपानको अधिक प्रयोग गर्नेजस्ता लक्षणहरू व्यवहारमा देखिनसक्छन् । परिवारका सदस्यहरूसँगको सम्बन्धमा मनमुटाव, झगडा, हिंसा आदि समस्याहरू देखिनसक्छन् । यी लक्षणहरू सबैमा एकै किसिमका हुँदैनन्, व्यक्ति र उसको वातावरणअनुसार फरक–फरक हुनसक्छ ।

जीवनमा आइपरेका संकट तथा तनावपूर्ण अवस्थाबाट टाढा भाग्न वा पन्छिन खोज्नुभन्दा त्यसलाई सही तरिकाले व्यवस्थापन गर्ने प्रयास गर्नुपर्छ । यसले जस्तोसुकै असामान्य र असहज परिस्थितिसँग जुध्नसक्ने क्षमताको विकास हुँदै जान्छ ।

यस संकट तथा लक डाउनको परिस्थितिमा उत्पन्न भएको तनावलाई व्यवस्थापन गर्न निम्न उपायहरू अपनाउन सकिन्छ :
लक डाउनको अवस्थामा आफ्नो महत्वपूर्ण कामहरू गर्न नपाउँदा र घरमा मात्र सीमित हुनुपर्दा दिक्क लाग्नु, छटपटी लाग्नु स्वाभाविक प्रतिक्रिया हो भनी स्वीकार गर्नुहोस् ।

–आफूमा डर, चिन्ता, अनिश्चितता आदि भावनाहरू तथा अनुभवहरू के–के आइरहेका छन् तिनीहरूलाई ध्यान दिनुहोस् ।

– भावना तथा संवेगहरू सँगसँगै आफ्नो शरीरमा कस्तो अनुभूति भइरहेको छ त्यसप्रति पनि सजग हुनुहोस् । मनमा आएका भावनाहरूलाई पन्छाउनु भन्दा पनि त्यसलाई कृतज्ञता ज्ञापन गरी बुझ्ने प्रयास गरेमा आफूलाई सहज महसुस हुनेछ ।

– मनमा धेरै नै डर र चिन्ता भइरहेको छ र आफू एक्लै हुनुहुन्छ भने सजिलोसँग बस्नुहोस् र आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस् । यो अवस्थामा गहिरो श्वासप्रश्वास प्रक्रियाको अभ्यास गर्नसक्नुहुनेछ ।

– एक अर्काका मनमा लागेका विचार, भावना, अनुभवलाई परिवारका सदस्यहरूसँग साटासाट गर्ने वातावरण मिलाउनुहोस् । यसको साथै इन्टरनेट वा मोबाइलमार्फत तपाईँले विश्वास गर्नुभएका साथीहरूसँग कुराकानी गर्नसक्नुहुनेछ । यसले तपाईँको भावनात्मक र संवेगात्मक अवस्था शान्त बनाउन मद्दत पुयाउँछ । तनावपूर्ण अवस्थाको सामना गर्न सहयोग पुयाउँछ र आउँदा दिनहरूमा पनि सम्बन्धलाई सुमधुर कायम राख्न मद्दत गर्दछ ।

–यो समयमा दैनिक कार्य योजना बनाई आफूलाई उपलब्धिमूलक तथा सिर्जनात्मक कार्यमा व्यस्त राख्नुहोस् । स्रोत, साधन, अवस्था र रुचिअनुसार आफूले गर्नसकिने कार्यहरूको सूची र समय निर्धारण गर्दा प्रभावकारी हुनेछ ।

–बालबालिकासँग घरभित्रै खेलिने खेलहरूमा सहभागी हुने, चित्र बनाउने, नाच्ने, ––गीत गाउने, कविता तथा साहित्य लेखन र अध्ययनमा समय दिने, जसले रमाइलो अनुभव दिन्छ ।

–आफ्नो सीप र क्षमताअनुसार फूलबारी, करेसाबारी, कौसी खेतीमा व्यस्त हुने, सिलाइ, बुनाइजस्ता घरैमा गर्न सकिने कामहरूमा समय दिने गर्नुहोस् ।

–भ्रामक र अफवाह फैलाउने प्रकृतिका समाचारहरूको पछि नलाग्नुहोस् । आधिकारिक स्रोतहरूमार्फत सत्यतथ्य समाचारहरूको जानकारी प्राप्त गर्नुहोस् । जस्तै, विश्व स्वास्थ्य सगठन, सरकारी तथा स्थानीय निकायहरूका वेबसाइटहरू, समाचार हेर्ने र पढ्ने कुनै निश्चित समय रोज्नुहोस् र निर्धा्रित समय अवधिमा मात्र समाचार हेर्ने र पढ्ने गर्नुहोस् । आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस् ।

–सामाजिक सञ्जालमा तनाव बढाउने प्रकारका सामग्री रहेमा यसमा ध्यान नदिनुहोस्, टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस् ।

– शारीरिकका साथै मानसिक स्वास्थ्यकोे स्वःहेरचाहमा ध्यान दिनुहोस् ।

– पोषणयुक्त खानेकुरा खानुहोस् । यसले रोगसँग लड्न प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ ।

– पर्याप्त मात्रामा सुत्नुहोस् । निदाउन गाह्रो हुँदा र निन्द्रा नपुग्दा यसले व्यक्तिको मानसिक तथा शारीरिक क्षमतामा असर पार्दछ ।

– योगा तथा शारीरिक व्यायाम गर्नुहोस् । मानसिक तनावलाई कम गर्न र शान्त बनाउन योग तथा शारीरिक व्यायामले महत्वपूर्ण भूमिका खेल्छ । यस्ता क्रियाकलापले व्यक्तिमा सकारात्मक ऊर्जा ल्याउनुको साथै मन र शरीरलाई आनन्ददायी र स्वस्थ बनाउँछ ।

– आफू अन्य अवस्थामा तनावमा हुँदा प्रयोग गर्ने गरेको प्रभावकारी सामना गर्ने रणनीतिहरू पहिचान गरी पुनःप्रयोग गर्नुहोस् र निरन्तरता दिनुहोस् ।

– चुरोट, सुर्ती र जाडरक्सीलाई टाढा राख्नुहोस् । यसको प्रयोगले समस्यालाई कम गर्नेभन्दा पनि व्यक्तिको शारीरिक, मानसिक र पारिवारिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने सम्भावना बढी रहन्छ ।

(ढकाल नेपाल महिला सामुदायिक सेवा केन्द्रको मनोविमर्शकर्ता हुन)