रुस–युक्रेन युद्धमा घाइते दाङका रामचन्द्र भन्छन्,‘२४सै घण्टा लड्नुपर्छ’

देवेन्द्र बस्नेत
दाङ, २७ मंसिर । घरको आर्थिक व्ययभारले थिच्दै लग्यो, न त घरव्यवहार चलाउन आर्थिक जोहोको कुनै उपाय लाग्यो । वैदेशिक यात्रा निर्विकल्प बन्यो, तुलसीपुरका रामचन्द्र खड्काको लागि । पूर्व माओवादी सेना बनेर काम गरेका उनलाई युद्ध अनुभव थियो नै अनि आर्थिक आम्दानीका लागि रोजे रुस–युक्रेनको युद्ध ।

रुसी सेना बनेर फेरि बन्दुकसँग खेल्दै आर्थिक लाभको बाटो रोजेका रामचन्द्र गत भदौ २९ गते हानिए युद्धग्रस्त राष्ट्र, रुस । रुसको सैन्यजीवन राम्रै चलिरहेको थियो । युक्रेनले प्रहार गर्ने बमबारीले सैन्य यात्राको झण्डै एक महिना बिथोलिएनन् । युक्रेनको भू–भाग कब्जा गर्न युक्रेनी सेनालाई दबाएर रुसको ‘किल्ला’ कायम गर्ने अनवरत युद्धयात्रामा थिए, दाङका रामचन्द्र । रुसी सेना बनेर युक्रेनलाई हराउने मिसनसहित युद्ध सङ्ग्राममा होमिएका रामचन्द्र गत कार्तिक १३ गते युक्रेनी सेनासँग आमनेसामने बने । दुई पक्षको युद्धमा चलेको बमबारीका क्रममा तीनवटा छर्राले रामचन्द्रलाई ताके । एउटा कम्मरमा, एउटा खुट्टामा र अर्को छर्राले तिघ्रा छेँडे ।

युक्रेनी सेनालाई भगाउन युक्रेनको बाग्मुथ भन्ने स्थानमा घुसेका रामचन्द्र घाइते अवस्थामै त्यहाँबाट उम्किन पाए । अहिले रुसको राजधानी मस्कोको सरकारी अस्पतालमा घाइते अवस्थामा थलिएका छन्, रामचन्द्र । ‘म अहिले मस्कोको अस्पतालमा उपचाररत छु, मेरो स्वास्थ्य सुधार भइरहेको छ’, उनले ह्वाट्स्–एपमार्फत् गोरक्षसँग भएको कुराकानीमा भने, ‘अस्पतालले राम्रो स्वास्थ्य सेवा प्रदान गरिरहेको छ, यहाँ मेरो उपचारमा कुनै समस्या छैन ।’

रुसी सेना बन्न घरबाट हिँडेका रामचन्द्र भदौ २९ गते रुस पुगेका थिए । भारतको दिल्ली हुँदै रुस पुगेका रामचन्द्र असोज १० मा रुसी सेनामा भर्ना भएका थिए । त्यसको एक महिनासम्म उनले सैन्य तालिम लिएका थिए । ‘असोज १० गते रुस सेनामा भर्ना भएको थिएँ, एक महिना तालिम लिएँ’, उनले भने, ‘त्यसपछि रेड–जोन (युद्धक्षेत्र) मा खटिएको थिएँ ।’ पूर्व माओवादी सेनामा रहेर काम गरेका उनी घरको कमजोर आर्थिक अवस्था सुधार्न भन्दै रुसी सेना बन्ने निर्णयमा पुगेका थिए । ‘घरको आर्थिक अवस्था सुधार गर्नु पर्ने भयो, छोराछोरीको पढाइ, लेखाइ सोच्नु प¥यो’, उनले भने, ‘नेपालमा बसेर कमाइ नहुने भएपछि रुसको सेना बन्न भनेर हिँडे ।’

गत कार्तिक १३ गते युक्रेनको बाग्मुथ भन्ने भू–भागमा प्रवेश गरेको थियो, रामचन्द्र सहितको रुसी सेना समूह । उनका अनुसार केही नेपाली सहित अन्य राष्ट्रबाट भर्ना भएका सेना सँगसँगै युक्रेनको भू–भाग कब्जा गर्ने मिसनमा थिए, उनीहरू । ‘नेपाली अगाडि र रुसका सेना पछाडि रहेर लडाइँमा भिड्छन् भन्ने हल्ला नेपालमा चलेको रहेछ तर त्यस्तो होइन’, उनले भने, ‘सबै देशका नागरिक सामूहिक सेनाको टोली बनाएर सँगसँगै वारमा निस्कनु पर्छ, नेपालीलाई मात्रै अगाडि लगाउँछन् भन्ने कुरा सत्य होइन ।’ उनले त्यहाँ रुसी सरकारले नेपाली सेनालाई कुनै नराम्रो व्यवहार नगरेको समेत बताए । ‘राम्रोसँग लड्नु, सुरक्षित भएर घर फर्कनु पर्छ भनेर हामीलाई सम्झाउँछन्’, रामचन्द्रले भने, ‘यहाँ हामी नेपालीलाई कुनै नराम्रो व्यवहार गरिएको छैन ।’

उनका अनुसार त्यहाँ २४सै घण्टा युद्धमै खटिनु पर्छ । रुसले युक्रेनको भू–भाग कब्जा गर्ने गरी बनाएको युद्धनीति अनुरूप सेनामा भर्ती भएका सबै नेपाली युक्रेनको भूमि कब्जाका लागि २४सै घण्टा लडाइँमै सहभागी हुनु पर्छ । ‘नेपालको जस्तो युद्ध रोकिने, कुनै–कुनै बेला मात्रै हुने भन्ने होइन, यहाँ २४सै घण्टा लडाइँमै सहभागी हुनु पर्छ’, रामचन्द्र भन्छन्, ‘युक्रेनी सेनालाई भगाएर युक्रेनको भू–भाग कब्जा गर्नलाई लड्ने हो, यसर्थ लडाइँ रोकिने भन्ने कुरै हुँदैन ।’

रुसको सीमाक्षेत्रदेखि झन्डै डेढकिलोमिटरको दुरीमा रहेको युक्रेनको बाग्मुथ कब्जा गर्न युक्रेनी भू–भागमा घुसेका रामचन्द्र सहित तीन नेपाली थिए, एकजना सुर्खेत र एकजना पोखराका युवा । युक्रेनी सेनाले त्यो बेला गरेको आक्रमणमा परी ८ रुसी सेना घाइते भएका थिए । तीमध्ये रामचन्द्र, पोखरा र सुर्खेतका दुई नेपाली पनि घाइते भएका थिए । ‘म, सुर्खेतको भाइ र पोखराका भाइ घाइते भयौँ’, रामचन्द्रले भने, ‘हामी टोटल ८ जना रुसी सेना घाइते भयौँ ।’ उनका अनुसार युक्रेनी सेना र रुसी सेनाबिच लगातार युद्ध भइरहेको हुन्छ । टाढाबाट बम प्रहारदेखि कहिले युक्रेनी सेनासँग आमनेसामने भएर भिड्नु पर्छ । ‘म घाइते हुँदा युक्रेनी सेनाले नजिकैबाट बम हानेका थिए, त्यही बमको छर्रा लागेर म घाइते भएँ’, उनले भने, ‘टाढा–टाढाबाट पनि सेनालाई ताकेर प्रहार भइरहेका हुन्छन् ।’

बमको छर्रा लागेका रामचन्द्र रणभूमिमै थलिए । मध्यरातमा उनलाई युक्रेनको भू–भागबाट रुसको क्षेत्रमा पु¥याइयो । त्यहाँ उनको प्राथमिक उपचार भयो । ‘घाइते भएपछि मलाई युक्रेनको त्यो भूमिबाट रुसको सुरक्षित क्षेत्रमा पु¥याइयो’, रामचन्द्र भन्छन्, ‘त्यहाँ मेरो शरीरमा रहेका छर्रा निकालियो ।’ अर्को दिन बिहान उनलाई हेलिकोप्टरमार्फत् राजधानी मस्को स्थित अस्पतालमा उपचारका लागि ल्याइएको थियो । ‘हेलिकोप्टर पनि सीमा क्षेत्रमा जानासाथ युक्रेनी सेनाले बम हानेर खसालिहाल्छन्’, उनले भने, ‘सीमा क्षेत्रदेखि धेरै टाढा सुरक्षित स्थानमा हेलिकोप्टर आयो, मलाई त्यहाँसम्म गाडीमा हालेर लगियो, त्यसपछि हेलिकोप्टरबाट म अस्पतालसम्म आइपुगेँ ।’

रामचन्द्रसँगै काभ्र्रेपलाञ्चोकका एक घाइते नेपालीको उपचार अहिले सँगै भइरहेको छ । काभ्रेपलान्चोकका ती युवकको पेटमा गोली लागेको छ । ‘काभ्रेका भाइ हुनुहुन्छ, उहाँको पेटमा गोली लागेको छ, उहाँको मेरो छेउकै बेडमा राखेर उपचार भइरहेको छ’, रामचन्द्रले भने, ‘उहाँ फरक स्थानको भिडन्तमा पर्नु भएको रहेछ, धेरै नेपाली अहिले घाइते भएर विभिन्न अस्पतालमा उपचार गराइरहेको भन्ने सुनिएको छ ।’

उनका अनुसार रुसी सेनामा भर्ना भएका नेपालीको सङ्ख्या त्यहाँ थुप्रै छ । चार सयभन्दा बढी नेपाली रुसी सेनामा भर्ना भएको हुन सक्ने आँकलन उनले गरे । ‘चार–पाँच सय जति नेपाली रुसी सेनामा भर्ना भएका छन्’, रामचन्द्रले भने, ‘कुनै कता कुनै कताको सीमा क्षेत्रबाट लडिरहेका छन् ।’ सीमा क्षेत्रबाट युक्रेनको भू–भाग ताक्ने नेपाली युद्ध लड्दै अगाडि बढ्नु पर्ने उनले बताए । यस क्रममा कतै युक्रेनी सेनाले बस्नका लागि प्रयोग गरेका भवनहरू बसोबासका लागि प्रयोग गर्नु पर्छ भने कतै आफै सेल्टर तथा बङ्कर बनाएर लुकेर बस्नु पर्ने रामचन्द्रले बताए । ‘कतै युक्रेनी सेना भागेर छोडेका भवनमा बस्नु पर्छ, कतै आफै सेल्टर तथा बङ्कर बनाएर बस्नु पर्छ’, रामचन्द्रले भने, ‘आफू सुरक्षित भएर युक्रेनी सेनासँग वार गर्नु पर्छ ।’

उनका अनुसार तालिम सक्काएर युद्धमा खटिँदा मोबाइल प्रयोग गर्न मिल्दैन । युक्रेनीले फोन नेटवर्क ट्रयाप गरेर आक्रमण गर्ने खतरा रहने भएकाले मोबाइल प्रयोगमा प्रतिबन्ध हुन्छ । फलतः धेरै नेपाली सम्पर्कभन्दा बाहिर हुने गरेको उनले बताए । ‘युद्धमा जाँदा फोन प्रयोग गरेपछि युक्रेनीले फोन ट्रयाप गरेर आक्रमण गर्ने धेरै खतरा हुन्छ’, उनले भने, ‘यसर्थ सबै स्थानमा फोन लगेर युद्धमा जान मिल्दैन ।’
डेढमहिनादेखि मस्कोको अस्पतालमा उपचाररत रामचन्द्रको उपचार कहिलेसम्म हुन्छ भन्ने यकिन छैन । फलतः अहिले नेपाल फर्कनेबारे केही सोचेका छैनन्, उनले । ‘अहिले उपचार भइरहेको छ, पूर्णरूपमा निको नभएर घर फर्कने कुरा भएन’, उनले भने, ‘पहिला उपचार गरौँ, त्यसपछि घर आउनेबारे सोच्नु पर्ला ।’