शिक्षा र कृषिमा सुधार गर्दै समृद्ध पालिका बनाउने लक्ष्यमा छौं : अध्यक्ष बुढाथोकी [अन्तर्वार्ता]

राजपुर गाउँपालिका भौगोलिक रुपमा जिल्लामा सबैभन्दा ठुलो र विकट पालिकाका रुपमा रहेको छ । भारतीय सीमा क्षेत्रसँग जोडिए पनि व्यापारिक केन्द्रका रुपमा स्थापित हुन नसकेको राजपुरलाई समृद्ध बनाउन कृषि र शिक्षाको विकास आवश्यक रहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि राजपुरको समृद्धिका लागि के कस्ता काम भएका छन् भनेर राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीसँग गोरक्षकर्मी लीलाधर वलीले गरेको गरेको कुराकानीको सार संक्षेप ।

 स्थानीय सरकारले गरेका प्रमुख उपलब्धिहरू के–के छन् ?

 मैले स्थानीय सरकारको नेतृत्वको जिम्मेवारी पूरा गरेको करिब डेढ वर्ष जति भयो । भौगोलिक रूपमा विकट क्षेत्रको नेतृत्व गरेकाले यो बिचमा धेरै उपलब्धी हासिल गरेका छौँ भन्ने अवस्थामा छैनौँ तर केही सकारात्मक कामको सुरुवात गरेका छाँै भन्न सक्ने अवस्थामा छाँै । त्यसको प्रमुख आधार हो, शिक्षामा सुधारका लागि गाउँपालिकाले गरेका कामहरू । गाउँपालिकाको समृद्धिका लागि जनताको चेतनास्तरमा परिवर्तन गर्न सकिएन भने जति भौतिक पूर्वाधार निर्माणका काम गरेपनि हुँदैन ।

त्यसैले विद्यालयमा गुणस्तरीय र जीवनउपयोगी शिक्षामा जोड दिएका छाँै । हरेक विद्यार्थीले जीवनको महत्वका बारेमा विद्यालय अध्ययन तहदेखि नै बुझ्न सकुन् भन्ने हो । त्यसैले पढ्दै कमाउँदै कार्यक्रम लागु गरेका छौँ । यसै शिक्षक सत्रदेखि कतिपय विद्यालयमा अध्ययनरत विद्यार्थीहरू कृषिको काममा लागि सकेका छन् । यसलाई व्यापक बनाउँदै अनिवार्य रूपमा पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने पक्षमा रहेका छौँ ।

त्यसैगरी परम्परागत रूपमा कृषिमा आधारित पेसालाई परिवर्तन गर्दै आधुनिक कृषिमा किसानलाई आकर्षित गर्दै आम्दानी बढाउनका लागि किसानलाई तालिम, बिउबिजनमा सहयोगसँगै यान्त्रीकीकरणमा समेत सहयोग गर्दै आएका छाँै । भैँसीपालन भकुरा सुधार, गोठ सुधारका लागि समेत काम गरिरहेका छौँ । यसले परम्परागत रूपमा कृषिमा लागेका किसानलाई आम्दानी बढाउन सहयोग पुग्ने छ भन्ने अपेक्षा गरेका छौँ । त्यससँगै विकास निर्माणका कार्यमा जनताको अनिवार्य सहभागीता बढाउनका लागि जुन ठाउँमा विकास निर्माणका काम हुन्छन् उक्त काममा अनिवार्य रूपमा स्थानीय जनताको सहभागिता हुने गरी विकास निर्माणका कामलाई अघि बढाएका छौँ ।

नाकाबासी जनतालाई राजपुर गाउँपाालिकासँग जोड्नका लागि पनि लागिरहेका छौँ तर सीमित बजेटका काम विकास निर्माणका ठुला योजनाहरूलाई अघि बढाउन सकेका छैनन् तर पनि जनताका समस्याहरू बुझ्न र त्यहाँ हुने विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि प्रत्येक महिनामा एक पटक नाका क्षेत्रमा पुग्ने गरेको छु ।

 राजपुर गाउँपालिकाको राजस्वको प्रमुख आधार के हो ?

 राजपुर गाउँपालिकाको राजस्वको प्रमुख आधार नदीजन्य पदार्थ नै हो । राप्ती नदीमा रहेको नदीजन्य पदार्थ बिक्री वितरणबाट आउने आम्दानी नै प्रमुख स्रोत हो । त्यसबाहेक अन्य स्रोतहरू नै छैनन् तर नदीजन्य पदार्थको निकासी ठुलो विवादको विषय बन्ने गरेको छ । यसले गर्दा पालिकालाई काम गर्न नै समस्या हुने गर्दछ । नदीजन्य पदार्थको उत्खन्नमा धेरै समस्या हुने गर्दछ । पालिकाले आफै उठाएर बिक्री गर्न सक्ने अवस्था छैन । त्यसैले ठेक्कामार्फत नदीजन्य पदार्थका उत्खन्न गर्न खोज्दा विवाद हुने गरेको छ ।

 राजपुर गाउँपालिका भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिका हो । सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीले भोग्नु परेका समस्याहरू के–कस्ता रहेका छन् ?

 दाङमा भारतीय सीमा क्षेत्रसँग जोडिएको सबैभन्दा ठुलो क्षेत्र राजपुर गाउँपालिकाको रहेको छ । १०÷१५ घरदेखि २०÷२५ घरहरू भएका नाका क्षेत्रमा धेरै बस्तीहरू रहेका छन् । ती बस्तीहरूमा बसोबास गर्ने नागरिकलाई विकाससँग जोड्ने प्रयास गरेपनि बजेट अभावका कारण जोड्न सकेका छैनौँ । सीमा क्षेत्रमा ठुलो समस्याका रूपमा सडक नै छ ।

हिउँदको समयमा डोजरलगाएर पालिकासँग जोड्ने बाटोहरू बनाए पनि बर्षादले भत्काउने हुँदा बर्षादको समयमा पूर्णरूपमा नै बन्द हुने गर्दछन् । त्यसैगरी नाकाबासीले भोग्नुपर्ने अरु समस्याका रूपमा शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, टेलिफोनको पनि समस्याहरू रहेका छन् । सडक बिग्रेको अवस्थामा पालिकाले बनाउने गरेको छ तर ठुलो बजेट हालेर राम्रो बाटो बनाउने सक्ने अवस्था छैन । पालिकाले हालेको बजेट नाका क्षेत्रमा कनिका छरे जस्तै हुने गरेको छ ।

त्यसैले नाकाबासीलाई पालिकासँग जोड्नका लागि भरपर्दाे सडक निर्माण हुन आवश्यक छ । त्यसका लागि स्थानीय सरकारको बजेटले नपुग्ने भएकाले प्रदेश वा संघीय सरकारबाट नै यसतर्फ ध्यानदिन आवश्यक रहेको छ । त्यसैगरी सीमा क्षेत्रमा स्थापना गरिएका टेलिफोनका टावरहरू पनि प्रभावकारी हुन सकेका छैनन् ।

आफ्नै देशमा स्थापना भएका टेलिफोन टावरले काम नगर्ने र भारतीय भूमिका काम गर्ने अवस्था रहेकाले टेलिफोनको सुविधाका लागि सरकारले ध्यान दिन आवश्यक रहेको छ । स्वास्थ्य सेवाका लागि भारतीय क्षेत्रमा जानु पर्ने अवस्था छ, त्यसको अन्त्यका लागि पनि गर्न आवश्यक रहेको छ । सीमा क्षेत्रको सुरक्षामा खटिएका नागरिकलाई राज्यले सुविधा दिएको आभाष गराउने गरी गाउँपालिका लागि रहेको छ ।

 विकास निर्माणका सवालमा संघ र प्रदेश सरकारसँग समन्वय हुन्छ कि हुँदैन ?

 देशमा तीन तहका सरकार रहेका छन् । जसमध्य स्थानीय सरकार स्वायत्त सरकारका रूपमा रहेको छ तर संघ र प्रदेश सरकारले स्थानीय तहलाई बेवास्था गर्ने गरेको महसुस हुन्छ । विकास निर्माणका कामहरू गर्दा स्थानीय सरकारसँग समन्वय हुने गरेको छैन ।

स्थानीय सरकारले माग गरेका योजनाभन्दा पनि नेताहरूको पहुँचका आधारमा टुक्रे योजनाहरू हालिदिँदा कार्यान्वयन गर्न समस्या हुने र त्यसको परिणाम देखिने अवस्था पनि छैन । यो नराम्रो पक्ष हो । विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने र जनतालाई सेवा सुविधा सहज रूपमा दिने तीनै तहका सरकारका उद्देश्य रहेपनि प्रभावकारी रूपमा समन्वय हुन सकेको छैन । यसमा समन्वय हुन आवश्यक छ ।

 स्थानीय सरकार सञ्चालनका क्रममा के–कस्ता चुनौतीहरू पाउनु भयो ?

 स्थानीय सरकार सञ्चालनका क्रममा धेरै नै चुनौतीहरू रहेका छन् । राजपुर गाउँपालिका भौगोलिक रूपमा विकट क्षेत्र भएकाले यहाँ धेरै विकास निर्माणका कामहरू गर्नुपर्ने देखिन्छ तर त्यसअनुसार हुन सकेका छैनन् । त्यसका लागि जनप्रतिनिधिहरूमा पनि इच्छा शक्ति हुनुपर्छ तर कतिपय जनप्रतिनिधिहरूमा त्यो जागर र जोस छैन ।

जनताको सेवाभन्दा पनि आफ्ना लागि सोच्ने प्रवृति छ, त्यो राम्रो होइन । जनताको सेवाका लागि आइसकेपछि जनताको जीवनस्तरमा परिवर्तन ल्याउनेगरी विकास निर्माणका कामहरूलाई अघि बढाउने जनप्रतिनिधिमा चासो हुनुपर्छ । राजपुर गाउँपालिकाले शिक्षामा सुधारका लागि पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ । त्यसका लागि भौतिक पूर्वाधारमा जोड दिएको छ । पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ ।

यो वर्ष खरदरियामा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले कृषि पेसा पनि गरेका छन् र यही वर्षौ नाका क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ुकुराहरू पनि दिने सोचमा छज्ञौ । राजपुर गाउँपालिकामा व्यापारिक केन्द्रहरू छैनन् । यहाँका अधिकांश नागरिक कृषि र पशुपालनमा जोडिएकाले उनीहरूको पेसालाई आधुनिकरणमा लैजानुपर्ने आवश्यक छ तर पालिकासँग बजेट हुँदैन र संघ र प्रदेशले प्रयाप्त बजेट नदिने भएकाले संघ र प्रदेश सरकारसँग समन्वय गरेर विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने छ । त्यससँगै भूमिहिन, सुकुम्वासीलगायतका समस्याहरू समाधान गर्नुपर्नेलगायतका समस्या समाधानका लागि पहल गर्न आवश्यक रहेको छ ।

 राजपुर गाउँपालिकाको समृद्धिका आधारहरू के–के हुन सक्छन् ?

 यहाँ कृषि र पशुपालनको राम्रो सम्भावना छ । अहिले अधिकांश किसानहरूले परम्परागत रूपमा कृषि व्यवसायअन्तर्गत भैँसी, गाई, बाख्रा र कुखुरापालन गर्दै आउनु भएको छ । कृषि पनि परम्परागत रूपमा नै हुने गरेको छ । दुधका लागि जिल्लामै प्रसिद्ध छ । त्यसैले हामीले पनि परम्परागत रूपमा कृषिमा आवद्ध भएका किसानलाई आधुनिकरणमा जोड दिन चाहेका छौँ ।

त्यसका लागि गुणस्तरीय शिक्षा आवश्यक छ भनेर विद्यालयदेखि नै शिक्षाको सुधारमा ध्यान दिएका छाँै । मलाई लाग्छ अहिले राजपुरका धेरै विद्यालयहरूको शिक्षामा सुधार भएको छ । यसले तत्काल परिणाम नदेखिए पनि केही समयपछि राम्रो प्रभाव पर्नेमा विश्वस्त रहेका छौँ ।

 पालिकाको समृद्धिका लागि आगामी योजनाहरू के–के रहेका छन् ?

 राजपुर गाउँपालिकाको समृद्धिका लागि मैले अघि नै भने जस्तै कृषिको आधुनिकरण गर्दै किसानहरूको जीवनस्तरमा परिवर्तन ल्याउने योजना रहेको छ । जिल्लाको भँैसी स्रोत केन्द्रका रूपमा रहेको तर परम्परागत रूपमा किसानले भैसी पाल्ने गरेकाले धेरै आम्दानी लिन सक्नुभएको छैन । किसानलाई धेरै भैँसी पाल्नेभन्दा पनि थोरै भैँसीबाट धेरै आम्दानी लिन सक्ने बनाउनु आवश्यक छ ।

त्यसैगरी बाख्रापालन र तरकारी खेतीको पनि राम्रो सम्भावना रहेकाले किसानलाई तालिमसँगै बजारीकरणका बारेमा किसाउने सोचेका छौँ । त्यसैगरी सडक निर्माण, खोलाहरूमा पुल, कल्भर्ट, शिक्षामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा, नाकाबासीका लागि भरपर्दाे सडक सञ्जालसँग जोड्न आवश्यक छ । त्यसतर्फ पालिकाले पनि ध्यान दिइरहेको छ । आगामी चार वर्षभित्र यी सबै काम गरेर समृद्ध राजपुरका रूपमा हामीले गाउँपालिकालाई स्थापित गर्ने लक्ष्य राखेका छाँै । यसका लागि निरन्तर रूपमा गाउँपालि का लागिरहेको छ ।