लुम्बिनी प्रदेश मन्त्रिपरिषद् विस्तार, एउटा मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने

गोरक्ष समाचारदाता
दाङ, २७ मंसिर । दुई मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने योजना बनाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एउटा मन्त्रालय भने आफै राख्ने भएका छन् ।

मुख्यमन्त्री चौधरीले एउटा माओवादीलाई र एउटा कांग्रेसलाई मन्त्रालय दिएर सरकार विस्तार गर्ने अन्तिम तयारी थालेका छन् । अहिले तीन मन्त्रालय रिक्त छन् तर मुख्यमन्त्री चौधरीले भने दुई मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरेर बाँकी रहने एउटा मन्त्रालय आफै राख्ने सरकार स्रोतले जानकारी दियो । ‘अहिले कांग्रेसबाट एक र माओवादीबाट एक जना मन्त्री नियुक्त गर्ने फाइनल भएको छ’, उक्त स्रोतले भन्यो, ‘बाँकी रहने एउटा मन्त्रालय भने मुख्यमन्त्री आफैले राख्नुहुने छ ।’ त्यो मन्त्रालय पनि कांग्रेसको भागमा पर्ने मन्त्रालय हो ।

पछि पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउनका लागि मुख्यमन्त्री आफैले मन्त्रालय राख्ने योजना बनाएको बताइएको छ । ‘मुख्यमन्त्रीज्यूले अहिलेलाई मन्त्रालय आफै राख्ने र पछि आन्तरिक व्यवस्थापन मिलाउनु पर्ने अवस्थामा मन्त्रालयको भाग मिलाउनु पर्ने हुन सक्छ’, स्रोतले भन्यो, ‘फलतः एउटा मन्त्रालय आफैले राख्ने योजनामा उहाँ पुग्नुभएको हो ।’ एक÷एक मन्त्रालयको भाग पाएका कांग्रेस र माओवादीले मन्त्रीको नाम टुङ्गो भने लगाएका छैनन् ।

माओवादीबाट कृष्णा केसी मन्त्री बन्ने सम्भावना उच्च रहेको छ तर कांग्रेसबाट भने मन्त्री को हुने भन्नेबारे टुङ्गो नलागेको बताइएको छ । स्रोतका अनुसार कसलाई मन्त्री बनाउने भन्नेबारे नाम टुङ्गो लगाउन मुख्यमन्त्री काठमाडौं पुगेका छन् । ‘मुख्यमन्त्रीज्यू काठमाडौं जानुभएको छ, काठमाडौं पुगेर कांग्रेसबाट मन्त्री बन्नेको नाम टुङ्गो लगाउनुहुने छ’, स्रोतले भन्यो, ‘माओवादीबाट भने कृष्णा केसीको नाम पक्काजस्तै छ ।’ मुख्यमन्त्री काठमाडौंबाट नाम टुङ्ग्याएर फर्केपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने स्रोतको दाबी छ ।