मेरो खुशी : आँखामा ज्योति आउँदा….

आर्थिक रूपमा विपन्न ५२ बर्षीय पृथीदेहया थारुको सम्पत्ति नाममा काठद्धारा निर्माण भएको फुसको छानाको भएको झुपडी मात्रै हो । विजयनगर गाउँपालिका वडा नं. १ न्याउलीगञ्ज कपिलबस्तु निवासी पृथीदेहया विगत दुई वर्षदेखि आँखाको ज्योति गुमेको थियो ।

पहिले घरमा काम काज र घास दाउरा मेलापात गर्ने गरेकी पृथीदेवहया विस्तारै दुवै आँखा देख्न छोड्न् िर अरुको सहारा लिने अवस्थामा पुगिन् । त्यसपछि उनका लागि बाहिरी दुनिया अन्धार बन्यो । विगतभन्दा फरक भएर पहिलोको कुरा सम्झदै पृथीदेहया भन्छिन,‘आँखाको दृष्टि गुमेपछि आफ्नै घरमा नारकिय जसरी जीवन व्यतित गर्नुप¥यो । जीवन जिउनलाई पनि अर्काको सहारा लिनुपर्ने अवस्था आइलाग्यो ।’ पहिलेका खुसीहरू केही वर्षमै हराएको बताउने पृथीदेहया बताउँछिन् ।

विकट क्षेत्रमा बस्दै आएकी थारुले आफुले २ वर्ष यसरी नै अन्धकारमा जीवन बिताएको बताउँछिन् । दैनिकी गुजार्न धौधौ परेको उनको परिवारमा आँखाको शल्यक्रिया गर्ने पैसा थिएन्, जसले गर्दा आँखाको शल्यक्रिया समेत गर्न सकेकी थिइनन् । जसले गर्दा उनलाई आँखाको शिविरको पखाईमा बस्नु परेको थियो । मोतियाविन्दुका कारण दुवै आँखाको दृष्टि न्यून भएर अरुको सहारामा हिडडुल गर्ने पृथीदेहयाको आखाँको शल्यक्रिया भएपछि दुवै आँखा देख्ने भएको बताउछिन् ।

उनले आफुले गुमेको दृष्टि शल्यक्रियापछि फर्किदाको क्षण आफ्नो जीवनको पहिलो खुसी प्राप्त गरेको क्षण भएको बताउँछिन् । ‘मोतिविन्दु छिप्यिएर आखाँको दृष्टि गुम्न पुग्यो, आर्थिक अभावका कारण उपचार गर्न पाइन’,उनले भनिन्,‘जसले गर्दा लामो समय अन्धकारमा बस्नु परेको थियो । त्यो मेरो कष्टकर जीवन थियो तर अहिले शल्यक्रियापछि आखाँको दृष्टि पाएको छु, यो मेरो जीवनको ठुलो खुसीको क्षण हो ।’ आखाँको शल्यक्रियापछि देख्ने भएको र आफु एक्लै पनि घुम्न सक्ने भएको बताउँछिन् ।

नेपाल नेत्रज्योति संघ, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा दुवै आँखा एनएवीपी नर्वे आइकेयरको सहयोगबाट निःशुल्क हुँदा आफुले दृष्टि पाएको बताउँछिन् । शल्यक्रिया हुनका दिन उनको मनको भोलि के हुने हो भन्ने लागेको बताउँदै भनिन्,‘आखाँको शल्यक्रिया हुने भन्ना दिनमा मनमा अनेकै कुराहरू खेलिरहेका थिए, आखाँले नयाँ दृष्टि पाउला कि नपाउला भन्ने लागेको थियो तर शल्यक्रियापछि दोस्रो दिन बिहानी पख आँखाको पट्टी निकाल्दा उज्यालो दिन देख्न पाउँदाको क्षण वर्णन गर्न नसकिने उनी बताउँछिन् ।

खुसीले आफु प्रफुल्लित भएको र जीवनमा खुसी छाएको उनी बताउछिन् । ‘कोही नहुनेको भगवान् हुन्छ भने सुनेको थिए, तर विश्वास लागेको थिएन’,उनले भनिन्,‘मेरा लागि नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज भगवान् जस्तै सावित बनिदियो ।’ कार्यक्रमअन्तर्गत उनको अस्पतालमा निःशुल्क शल्यक्रिया भएको थियो । तिन छोरा र दुई छोरीकी आमा पृथीदेहया थारुलाई हिडडुल गर्नका लागि अरुको सहारा आवश्यक पर्ने नभएपछि अहिले परिवारमा समेत खुसी आएको छ ।

सधै आमाका लागि एकजना घरमा बस्नुपर्ने बाध्यता हटेपछि श्रीमान्सँगै छोराबुहारी खुसीले गधगध छन् । उनको अहिले जीवनशैली नै फेरिएको छ । अहिले घरमा मालुका पातबाट दुना टपरी बुनेर दैनिकी चलाउन सक्ने भएको उनी बताउँछिन् । त्यति मात्र होइन उनी पछिल्लो समय गाउँघरमा डुलघुमसँगै बनजंगलमा पुगेर घास दाउरादेखि पातहरू टिपेर ल्याउन सक्ने समेत भएकी छिन् ।

जीवनमा यति धेरै परिवर्तन होला भनेर नसोचेको बताउँने पृथीदेहया आफै सबै काम गर्न सक्ने हुँदाको क्षण पनि जीवनको अर्काे खुसी भएको बताउँछिन् । ‘अहिले पहिले जस्तो छैन मैले दैनिक आफ्नो जिविकोपार्जनका लागि थोरै भए पनि आर्थिक रकम दुना टपरी बुनेर कमाउने गरेको छु’,उनले भनिन्,‘ यो भन्दा ठुलो खुसी मेरो लागि के हुन्छ र ?’

थारुको मुहारमा अहिले हर्ष छ, खुसी छ । उनी मात्र होइन उनका श्रीमान् छोरा बुहारीहरू पनि खुसी छन् । पहिले एक जना उनीलाई हेर्ने मानिस आवश्यक हुने गरेको थियो तर अहिले उनी आफै आफ्नो काम धन्दादेखि घरको कामसम्म पनि गर्ने गरेकी छिन् । ‘उनले आफुले दुना टपरी बुनेर अन्य कामहरू पनि गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले आफ्नो सिप देखाउँदै आँखा देख्ने भएपछि यसरी दैनिक काम गर्ने गरेको बताइन् ।

थारुले आफुले बुनेका दुना टपरीहरू घरबाटै बिक्री वितरण गरी थौरै भएपनि आयआर्जन गर्न पाएकोमा खुसी व्यक्ति गरिन् । ‘अस्पतालको प्राविधिक टोली मेरो घरसम्म आएर मलाई लगेर आँखा देख्ने गराइ दिनुभयो, यो भन्दा मेरो अरु खुसी के हुन्छ र’,उनी भन्छिन्,‘मलाई आखाँको दृष्टि फर्काउन सहयोग गर्ने र अस्पताल र डक्टर नर्स मेरो भगवान् हुन् ।’ थारुले आफ्नो गुमेको दृष्टि फर्कदा र बाहिरी संसार २ वर्षपछि झलमल देख्दा निकै खुसीका साथ जीवन बिताएको बताउछिन् ।

प्रस्तुती : बालाराम खड्का