रुसी सेनामा २०० नेपाली, नेपाल फर्काउन के गर्दैछ सरकार ?

देवेन्द्र बस्नेत
दाङ, २६ मंसिर । सरकारले युद्धग्रस्त रुसमा सेना बन्न गएका नेपालीको यकिन सङ्ख्या पत्ता लगाएर उनीहरूलाई नेपाल ल्याउन कुटनीतिक पहल थालेको जनाएको छ । रुसी सेनामा २ सय बढी नेपाली रहेको सरकारलाई जानकारी आएको भए पनि यसको यकिन गर्न मन्त्रालय लागिरहेको छ ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार रुसी सेनामा भर्ती भएका नेपालीको यकिन सङ्ख्या पहिचानमा मन्त्रालय लागेको छ । ‘रुसमा के–कति सङ्ख्यामा नेपाली त्यहाँको सेनामा भर्ना भएका छन्, यकिन जानकारी छैन’, मन्त्रालयका ती अधिकारीले भने, ‘हामी विभिन्न स्रोतबाट त्यहाँ सेनामा भर्ना भएका नेपालीबारे जानकारी लिने काम गरिरहेका छौँ ।’ सेनामा भर्ना भएकाको सङ्ख्या, निधन भएका तथा अहिले सम्पर्कविहीन भएकाको यकिन सङ्ख्या पत्ता लगाउने काममा मन्त्रालय लागेको छ ।

‘रुसी सेनामा भर्ना भएका नेपाली अहिले कुन अवस्थामा छन् भन्नेबारे मन्त्रालयले पत्ता लगाउने काम गरिरहेको छ’, ती अधिकारीले भने, ‘त्यहाँ रहेका नेपालीलाई नेपाल फर्काउन कुटनीतिक पहल पनि मन्त्रालयले गरिरहेको छ ।’ सेनामा रहेका नेपालीलाई नेपाल फर्काउन रुस सरकारलाई मन्त्रालयले पत्राचार गरिसकेको पनि मन्त्रालयले जनाएको छ । साथै सम्पर्कमा नरहेका नेपालीको विवरण उपलब्ध गराइदिन सरकारले रुसलाई पत्राचार गरेर माग गरेको छ । ‘रुसी सेनामा रहेका नेपालीलाई नेपाल फिर्ता ल्याउन रुस सरकारलाई पत्राचार गरिएको छ’, मन्त्रालयका ती अधिकारीले भने, ‘त्यहाँ सम्पर्कविहीन नेपालीको यकिन सङ्ख्या कति हो ? सङ्ख्या उपलब्ध गराउन रुस सरकारसँग अनुरोध गरिएको छ ।’

रुसी सेना बनेका थुप्रै नेपालीमध्ये केहीको युक्रेनसँगको युद्धका क्रममा निधन भएको छ । केही अहिले पनि सम्पर्कविहीन छन् भने केहीलाई युक्रेन सरकारले नियन्त्रणमा लिएर राखेको छ । दाङबाटै रुसी सेना बन्न गएका एकजना अहिले सम्पर्कविहीन छन् भने एकजना युक्रेन सेनाको नियन्त्रणमा रहेको खुलेको छ । विद्यार्थी भिसामार्फत् युक्रेन पुगेका दाङसहित रोल्पाका थुप्रै युवा रुसी सेनामा भर्ती भएको बताइएको छ ।

नेपाल सरकारको नीति अनुसार मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य राष्ट्रको विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति सरकारले दिँदैन । फलतः कुनै पनि नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेकालाई नेपाल फर्काउन सरकारले रुसी सरकारलाई आग्रह गरेको छ । ‘नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरिएको छ’, परराष्ट्र मन्त्रालयले केही दिन अघि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसर्थ उनीहरू सरकारी नीतिभन्दा विपरीत रुसी सेनामा भर्ना भएको सरकारले जनाएको छ । रुसी सेनामा भर्ना भएका नेपालीमध्ये अहिलेसम्म ६ जनाको निधन भएको परराष्ट्र मन्त्रालयको तथ्याङ्क छ तर अहिलेसम्म कति जना सम्पर्कविहीन छन् भन्ने यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने रुसी सेनामा भर्ना भएका नेपालीको सङ्ख्या २ सय रहेको जानकारी आएको बताएका छन् । भिजिट भिसा र विद्यार्थी भिसामा गएकामध्य २ सय जना रुसी सेनामा भर्ना भएको जानकारी आएको प्रधानमन्त्री दाहलले जनाए । प्रेस सेन्टर नेपालका पदाधिकारीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले केही नेपाली युक्रेनी सेनामा समेत भर्ना भएको पनि बताएका छन् । ‘प्रेस सेन्टर सँगको छलफलका क्रममा प्रधानमन्त्रीज्यूले २ सय बढी नेपाली रुसी सेनामा भर्ना भएको जानकारी आएको बताउनु भयो’, उक्त छलफलमा सहभागी भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले भने, ‘उहाँ (नेपाली)लाई नेपाल फर्काउन सरकारले कुटनीतिक पहल थाल्ने पनि प्रधामन्त्रीज्यूले बताउनु भएको छ ।’