गोरक्ष समाचारदाता
दाङ, २६ मंसिर । दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला खेलाडी छनोटका लागि टरु–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय महिला समूह निर्माणका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता सोमवारदेखि सुरु भएको हो ।
घोराही उपमहानगरपालिका–१७ गुलरिया स्थित घोराही क्रिकेट मैदानमा सुरु भएको छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशका ६ जिल्लाका महिला खेलाडीको सहभागिता रहेको छ । प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङसहित बाँके, रूपन्देही, बर्दिया, नवलपरासी र पाल्पा जिल्लाका महिला खेलाडीको सहभागिता रहेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताका खेल मंसिर २९ गतेसम्म चल्ने भएका छन् । छनोट प्रतियोगितामा खेलाडीले गरेको क्षमता प्रदर्शनका आधारमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरी समूह निर्माण गरिने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिएका छन् । क्रिकेट संघका लुम्बिनी प्रदेश सचिव रोकाले भने, ‘प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशस्तरीय समूह निर्माणका लागि छनोट प्रतियोगिता हो । यो प्रतियोगिताले महिला खेलाडीको क्षमता विकासमा समेत सहयोग गर्नेछ ।’
प्रतियोगिताको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले व्यक्तिगतसँगै देशको प्रतिष्ठासँग जोडिएको क्रिकेट खेल खेल्न महिला खेलाडी अघि बढ्नु पर्ने बताए । राम्रो क्षमता प्रदर्शन गर्ने खेलाडीले खेलकुद क्षेत्रमा मानसम्मान सँगै आम्दानी समेत गर्ने भन्दै नगर प्रमुख चौधरीले छोरी मान्छे शाहस र हिम्मतका साथ खेल्नका लागि अघि बढ्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले भने, ‘पछिल्लो समय क्रिकेट खेलको महत्व देशसँगै विदेशसम्म रहेको छ । यस्तो महत्वपूर्ण खेल खेल्न पाउनु महिला खेलाडीका लागि राम्रो अवसर हो, त्यसैले राम्रो क्षमता प्रदर्शन गरेर अघि बढ्न आग्रह गर्दछु ।’ साथै नगर प्रमुख चौधरीले खेलकुद विकास समिति गठन गरेपछि घोराहीमा खेलकुदका प्रतियोगिता नियमित रूपमा हुन थालेको भन्दै उनले खेलाडीको क्षमता विकाससँगै पूर्वाधार निर्माण गरिएको बताए ।
दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई सल्लाहकार सविन प्रियासनले धन्यवाद ज्ञापन गरेका थिए । लुम्बिनी क्रिकेट संघका सचिव कैलाश रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सञ्जु केसीले गरेका थिए ।
दाङ र नवलपरासी विजयी
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङ र नवलपरासीले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बर्दियालाई हराउँदै दाङ जिल्लाको समूह विजयी भएको हो । पहिले टस जितेर ब्याटिङ गरेको दाङले दुई सय ६१ रन बनाएको थियो ।उक्त रन पच्छ्याउने क्रममा बर्दियाले एक सय ३१ रन बनाउँदै पराजित हुन पुगेको थियो । यसैगरी दोस्रो खेलमा पाल्पा जिल्लाको महिला समूहलाई हराउँदै नवलपरासी जिल्लाको समूह विजयी भएको छ ।