राप्ती नदीमा ‘तस्कर राज’

लीलाधर वली
दाङ, २६ मंसिर । देउखुरीको राप्ती नदीमा तस्करले राज चलाउँदै आएका छन् । स्थानीय तहहरूको आँखा छली रातिमा नदीजन्य पदार्थको चोरीमा तस्करको गिरोह सक्रिय रहँदै आएको छ । स्थानीय तहहरूको आँखा छलेर नदीमा राज गर्दै आएका यस्ता गिरोहले प्राकृतिक स्रोत साधनको उपभोग र संरक्षणको अधिकार प्राप्त स्थानीय तहलाई नै धावा बोलिरहेका हुन्छन् ।

यहाँसम्म कि नियामक निकाय स्थानीय तहका प्रतिनिधिलाई आक्रमण गर्नसम्म पछि पर्दैनन् । लमही नगरपालिकाको क्षेत्रमा पर्ने राप्ती नदीमा उत्खनन् गरिरहेको एउटा गिरोहले चोरी नियन्त्रणका लागि नदीमा पुगेको नगरको टोलीमाथि आक्रमण ग¥यो ।

आफ्नो क्षेत्रमा पर्ने राप्ती नदीमा हुने नदीजन्य पदार्थ चोरी निकासी रोक्न लमही नगरपालिकाले अनुगमन गर्दै आएको छ । स्थानीयले दिने गरेको सूचनाका आधारमा नदीजन्य पदार्थ चोरी नियन्त्रणका लागि नदीमै पस्दै आएको नगरपालिकालाई गत २२ गते बेलुका नगरपालिकाको वडा नम्बर ४ स्थित बुट्कहवा घाटमा नदीजन्य पदार्थ चोरी भइरहेको सूचना आयो । नगरपालिकाका गाडी चालकलाई आएको यो सूचना ती गाडी चालकले नगर उपप्रमुख लक्ष्मी योगीलाई दिए ।

‘रातीको समय भएकाले म जाँदैन, नगर प्रहरी लिएर जानुस् भनेर मैले उहाँहरूलाई जान भनेँ’, उपप्रमुख योगीले भनिन् । नगर प्रहरी, नेपाल प्रहरीका एकजना असई र एकजना वडाध्यक्ष सहित चोरी नियन्त्रणका लागि नदीमा पुगेको टोलीमाथि तस्करमा संलग्नले आक्रमण ग¥यो । ‘नगर प्रहरी र मेरो गाडीको चालकलाई उनीहरूले आक्रमण गरेछन्’, उपप्रमुख योगीले भनिन्, ‘घेरा हालेर आक्रमण गर्न थालेपछि हाम्रा नगर प्रहरी र चालक भागेका रहेछन् ।’

उनका अनुसार नगरपालिकाको टोली नदीमा पुग्दा नदीजन्य पदार्थ चोरी गर्दै गरेकाले टेक्टरमा नदीजन्य पदार्थ लोड गरिरहेका थिए । नगर प्रहरीको टोली टेक्टर नजिक पुग्दै गर्दा लेवर र चालक टेक्टर छोडेर भागे । टिमले टेक्टर नियन्त्रणमा लियो तर ड्राइभरबिना टेक्टर ल्याउन सकस भयो । लगत्तै लमही नगरपालिकाका अर्का टेक्टर चालक र जनप्रतिनिधिहरूलाई घाटमा आउन आग्रह गरियो ।

नगर प्रहरीहरू टेक्टर कुरेर त्यहीँ बसे । रात पर्दै थियो । मान्छे नचिनिने अवस्था थियो । केही समयपछि टेक्टर चालक सहित १२, १३ जनाको समूह घाटमा पुग्यो । दुई पक्षबिच भनाभन भयो । आवेशमा आएको तस्कर समूहले नगर प्रहरीको टोलीलाई लछारपछार गर्दै बेल्चाले प्रहार गरे । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि नगर प्रहरी ज्यान जोगाउन भागे ।

उपप्रमुख योगीले भनिन्, ‘त्यहाँ भनाभन भइरहेका बेला राप्ती नदीपारिबाट १२, १३ जनाको समूह आएर नगर प्रहरी र चालकमाथि आक्रमण गर्न थालेछन्, अलि केही पर रहेका वडाध्यक्ष र नेपाल प्रहरीका सई कहाँ भागेर नगरपालिकाको टोली पुगेछ ।’ लाठी प्रहार गरेको त्यो समूह केही बेरपछि भागेको र प्रहरीले थप बल प्रयोग गरेर उनीहरूको खोजी गरेको थियो । राती नै प्रहरीले टेक्टर चालकलाई सुरुमा नियन्त्रणमा लियो । उनले आक्रमणमा उत्रिएका सबैको नाम उल्लेख गरेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

‘सुरुमा प्रहरीको खोजी कार्य व्यापक भएपछि चालक र टेक्टरलाई नियन्त्रणमा लियो’, उपप्रमुख योगीले भनिन्, ‘पछि उनको बयानका आधारमा आक्रमणमा संलग्न भएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’ उनीहरूले नगरपालिकाका गाडी चालक मेघराज गिरी, नगर प्रहरीहरू विनोद शर्मा र छवि चौधरीलाई हातपात गरेका थिए ।

हातपात गर्नेहरू गढवा गाउँपालिका वडा नं। ५ चैनपुर बस्ने वर्ष ३५ का मनिराम चौधरी, सोही ठाउँ निवासी वर्ष १९ का निरज चौधरी, वर्ष २५ का सन्दीप चौधरी र वर्ष २३ का सञ्जीव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार उनीहरूलाई अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरिएको छ ।