भूकम्प प्रभावित क्षेत्रमा परिवार नियोजन संघको स्वास्थ्य शिविर

दाङ,२६ मंसिर । नेपाल परिवार नियोजन संघ दाङले भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट जिल्लामा बृहत प्रजनन् स्वास्थ्य शिविर चलाएको छ ।

दुई जिल्लाका विभिन्न १५ ठाउँमा बृहत प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरेर सोमबार पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको नेपाल परिवार नियोजन दाङ शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिएका छन् ।

उनका अनुसार शिविरबाट दुई हजार ६२ महिला र तीन सय ४० पुरुष गरी दुई हजार चार सय दुईजनाले सेवा लिएका छन । प्रबन्धक खनालका अनुसार ३६ स्थानमा सचेतनामुलक कार्यक्रम गरी भूकम्प प्रभावित समुदायका व्यक्ति तथा विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य र सरसफाइका विषयमा प्रशिक्षण दिइएको थियो ।

त्यसक्रममा एक हजार २५ जनाले सहभागिता जनाएका थिए । प्रभावित दुबै जिल्लाका अझै ३३ स्थानमा दोस्रो चरणको शिविर चलाउने कार्यक्रम छ । जाजरकोटमा नेपाल परिवार नियोजन संघको आयोजना र आइपिपिएफ एस पिआरआईएनटी परियोजनाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

त्यसक्रममा भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाले व्यवस्थापन सहयोग गरेका थिए । त्यसैगरी रुकुम पश्चिममा आठबीसकोट नगरपालिकाले शिविर सञ्चालनमा व्यवस्थापन सहयोग गरेको थियो । त्यस क्रममा जाजरकोट जिल्लाको भेरी नगरपालिकाकाको बोहोरा गाउँ, स्याला, बाहुनथाना, पिपेगाउँ, नलगाड नगरपालिकाको अनापानी, कैना, सिर्के, दल्ली, बारेकोट नगरपालिकाको सक्ला, सेपुखोला, लिम्सा र रामीडाँडामा शिविर सञ्चालन गरिएको थियो ।

यसैगरी रुकुम पश्चिमको आठवीसकोट नगरपलिकाको डाँडागाउँ, गउँबारी, बार्खु र घेत्मामा शिविर गरिएको प्रबन्धक खनालले बताएका छन । त्यसक्रममा लैंगिक हिंसा, गर्भवती महिला तथा सुत्केरी महिलाले अपनाउने सजगताका बारेमा प्रशिक्षण दिइएको संघका परियोजना प्रमुख डा. ओम महर्जनले बताए  । उनका अनुसार शिविरमा किशोर किशोरीलाई प्रजनन श्वास्थ्य सम्बन्धी परामर्श दिइएको थियो । यौन रोग तथा एचआइभी एड्स सम्बन्धी परामर्श र उपचार सेवाका बारेमा सचेत बनाइएको थियो । परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवालगायतका सुविधा शिविरबाट दिइएको डा. महर्जनले जानकारी दिए । शिबिरमा स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्याल नेतृत्वको चिकित्सकको टोलीले सेवा दिएको थियो ।