घोराही,२५ मंसिर । घोराही उपमहानगरपालिका–१० नारायणपुर बजारमा सडक मिचेर बनाईएका ७ वटा घरटहरा हटाईएको छ । उपमहानगरपालिकाको न्यायीक समितिले सडक मिचेर बनाईएका संरचना हटाउनुपर्ने फैसला गरेपछि टहर बनाएकाहरुले उच्च अदालतमा मुद्धा हालेका थिए ।
उच्च अदालतले पनि सडक मिचेर बनाईएका संरचनाहरु हटाउनुपर्ने न्यायीक समितिको निर्णयलाई सदर गरेपछि उपमहानगरपालिकाले आज ७ वटा घर टहराहरुमा डोजर चलाएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको हो । नगर प्रमुख चौधरीका अनुसार घोराही उपमहानगरपालिका–१० का कुलबहादुर भण्डारी, प्रेमबहादुर वली, कलाधर पौडेल, बीरेन्द्र मगरलगायतले कैलाश लहरे, थम्मन महरा, गोपाल देवकोटा, निशा, असगर अली मुसलमान, स्याउली चौधरी, रामशरण चौधरीले सार्वजनिक बाटोमा अबैध घरटहरा बनाउनुभएको थियो ।
उक्त संरचनाहरु हटाई पाउ भनि दिएको निवेदनमा न्यायीक समितिले २०७४ साल फागुन १५ गते अबैध संरचना ठहर गर्दै हटाउने निर्णय गरेको थियो । तर असगर अलिको पत्नी जयन्ता अलीले न्यायीक समितिलाई बिपक्षी बनाई उच्च अदालतमा पुनराबेदन गर्नुभएको थियो । टहर बनाएर बसेकाहरुलाई पटक पटक सार्वजनिक सूचनामार्फत हट्न आग्रह गरेपनि नहटेपछि फैसला कार्यान्वयका लागि उपमहानगरपालिकाले डोजर चलाएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरी आफै पुगेर अदालतको फैसला भएकाले यसको सम्मान र कार्यान्वयन सबैले गर्नुपर्ने भन्दै सामानहरु निकाल्न अनुरोध गर्नुभएको थियो । उपमहानगपालिकाको डोजर, नगर प्रहरी, कर्मचारी तथा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले टहराहरु हटाएको हो ।