युरोपमा कोरोनाको प्रकोप र नेपालीहरुको अवस्था

ओम शर्मा

विश्वका २ दुई सय दश भन्दा बढी देशहरुमा कोरोनाको महामारी फैलिएको छ । चीनको बुहान शहरबाट सुरु भएको कोरोना भाईरसले पछिल्लो समय युरोप र अमेरिकालाई बढी प्रबाबित बनाएको छ । युरोपका प्राय देशहरुमा आपतकाल लागु गरिएको छ । कोरोनाबाट सन्क्रमित हुने र मृत्यु हुनेहरुको प्रत्यक दिनको विवरण हेर्दा युरोप साँच्चैको आपतकालिन अवस्थाबाट गुज्री रहेको छ ।

संसारलाई सभ्यता, राजनीती सिकाउने युरोपका शक्तिशाली राष्ट्रका प्रमुखहरु नै आफ्नो स्वास्थ्य नीतिमा कमजोरी भएको भन्दै निरिहता प्रकट गरी रहेका छन् । गत हप्ताको प्रेससंगको बार्तामा बेल्जियमकी स्वास्थ्य मन्त्री म्यागी द ब्लकले इतिहासमा पहिलो पटक बेल्जियमको स्वास्थ्य अवस्था यति निरीह देखिएको अनुभब भएको बताएकी थिइन । त्यस्तै इटली, स्पेन, फ्रान्सका अधिकारीहरु पनि कोरोनाबाट आफ्ना जनतालाई बचाउन् नसकिएको भन्दै आत्माआलोचना गरी रहेका छन र जनतालाई सरकारलाई सहयोग गर्न अनुरोध गरिरहेका छन् ।

कोरोना संक्रमण रोकिए पनि आर्थिक संक्रमणले युरोपलाई लामो समय असर गर्ने भन्दै अर्थशाश्त्रीहरुले चेतावनी दिइसकेको अवस्थामा आप्रबासी नेपालीहरुको रोजगारी गुम्ने र ब्यवसायमा पनि असर पर्ने सम्भाबना रहेको छ ।

युरोपियन युनियन भित्र सुरुमा केही मतभिन्नता देखिए पनि पछिल्लो समय एकले अर्कोलाई सहयोग गर्ने र अनुभबको आदानप्रदान गर्न थालेका छन् । युरोपियन युनियनले सदस्य राष्ट्रहरुलाई आर्थीक सहायताको प्याकेज पनि घोषणा गरेको छ । इटली, स्पेन, फ्रान्सका बिरामीहरुलाई जर्मनी, अस्ट्रियालगायतका देशहरुले आफ्ना अस्पतालमा ल्याएर उपचार् गरी रहेकाछन् । युरोपमा सबभन्दा बढी क्षति इटली र स्पेनले ब्यहोरेका छन् । स्पेनमा हालसम्म एक लाख एकानब्बे हजार संक्रमित भएका छन् भने बीस हजार बढीको मृत्‍यु भैसकेको छ । इटलीमा एक लाख बहत्तर हजारमा कोरोना देखिएको छ भने तेइस हजार बढीको मृत्‍यु भएको छ । फ्रान्समा डेढ लाखमा कोरोना देखिएको छ, उन्निस हजारको मृत्‍यु भएको छ । पोर्चुगल, जर्मनी, नेदरल्यान्डलगायत स्केन्डिभियन देशहरु पनि कोरोनाबाट आच्छु, आच्छु परेका छन् ।

बेलायत पनि कोरोनाबाट पीडित हुने देशको माथिल्लो पंक्तिमा छ । त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सन युबारज चार्ल्सलगायतका बिशिष्ठ ब्यक्तिहरु पनि कोरोना संक्रमित भएर अस्पतालको उपचारपछि ठीक भएका छन् । त्यहाँ पन्ध्र हजार बढीको ज्यान गएको छ भने एक लाख दस हजार व्यक्ती संक्रमित भैसकेका छन् । जम्मा एक करोड एघार लाख जनसंख्या भएको बेल्जियमको स्थिति पनि भयाबह छ । बेल्जियममा ३७ हजार बढी सन्क्रमित र साँढे पाँच हजारको मृत्‍यु भएको छ ।

मध्य युरोप र स्केन्डिभियन देशहरुमा बस्ने नेपालीहरुलाई दैनिकी गुजारा गर्न यहाँको सरकारले घोषणा गरेको राहत प्याकेजले केही मद्दत् गरे पनि माल्टा, साइप्रस, पोर्चुगल जस्ता न्युन आय भएका देशहरुमा बस्ने नेपालीहरु र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको अवस्था दयनीय छ । होटल रेस्टुरेन्टलगायत धेरै नेपालीहरुले काम गर्ने सरसफाई कम्पनी बन्द छन् । दुःख परेका नेपालीहरुलाई गैर आबासीय नेपाली संघलगायतका सामाजिक संघ संस्थाहरुले केही राहत दिए पनि सबैलाई पुग्न सकेको छैन । लकडाउनको कारण सबै एकान्तबासमा बस्नु परेकोले चाहेर पनि सहयोग गर्न सक्ने अवस्था छैन । समग्रमा नेपाली संघ संस्था र ब्यक्तिगत रुपमा गरेका सहयोगको चाँही सबैले प्रशंसा गरेका छन् । बेल्जियममा रेडक्रसलगायतका परोपकारी संस्थाहरुले घरबास नभएका र सडकबास भएका तथा सरकारी अभिलेखमा नभएका अबैधानिक बसोबास गरेका मानिसहरुलाई खाने बस्ने ब्यबस्था गरेका छन् । कोरोना संक्रमित भएमा निःशुल्क उपचारको ब्यबस्था पनि सरकारले गरेको छ ।

बेल्जियममा कारीब नौ हजार नेपालीहरु भएको अनुमान छ । धेरै नेपालीहरुले व्यापारिक, व्यावसायीक प्रतिष्ठानहरुमा काम गर्छन् भने पाँच सय हाराहारी नेपालीहरुको आफ्नै ब्यवसाय छ । केही सय नेपाली विद्यार्थीहरु पनि बेल्जियमका विश्वाबिद्यालयहरुमा अध्ययनरत छन् । गैर आबासीय नेपाली संघ बेल्जियमले समस्यामा परेका करीब पचास जना नेपालीहरुलाई राहत बितरण गरेको संस्थाका अध्यक्ष चित्र सुबेदीले जानकारी गराएका छन् ।

युरोपमा धेरै नेपालीहरुको बसोबास रहेको बेलायतमा संक्रमित हुने र मृत्‍यु हुने पनि धेरै छन् । नेपाली दूतावास लण्डनका अनुसार शनिबार विहानसम्ममा १६ जना नेपालीको कोरोना कारणका मृत्यु पुष्टि भएको छ ।

लकडाउनको कारण ब्यापार ब्यवसाय बन्द गरेका ब्यबसायीहरुलाई सरकारले चार हजार युरो वा कम्पनीको स्तर हेरेर त्यो भन्दा माथिको आर्थिक सहयोग र कामदारलाई सत्तरी प्रतिशतसम्म तलब दिने गरेको छ । अती आबस्यक बाहेकका पसल र ब्यवसायहरु एक महिनादेखि बन्द छन् र कहिलेदेखि खोल्न दिने भन्ने बारे निर्णय नभए पनि मे महिनाको दोश्रो हप्ताबाट अवस्था हेरेर खोल्न दिने निर्णय हुन सक्छ ।

साना बाबु नानीहरु घरमै बस्दा उनीहरुलाई रेखदेख गर्न अबिभाबकहरु पनि बस्नु पर्ने भएकोले प्राइमरी स्कुलहरु छिट्टै खोल्ने बारेमा सरकारले तयारी गरी रहेको शिक्षा अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमण रोकिए पनि आर्थिक संक्रमणले युरोपलाई लामो समय असर गर्ने भन्दै अर्थशाश्त्रीहरुले चेतावनी दिइसकेको अवस्थामा आप्रबासी नेपालीहरुको रोजगारी गुम्ने र ब्यवसायमा पनि असर पर्ने सम्भाबना रहेको छ ।

हाल बेल्जियम