टेकबहादुर पुन
दाङ, २५ मंसिर । देउखुरीमा नदिजन्य पदार्थ चोरी निकासी रोक्दा हातपात भएको छ । लमही नगरपालिका वडा नम्बर ४ बुट्कहवा राप्ती घाटमा पालिकाका नगरप्रहरी र गाडी चालकमाथि हातपात भएको हो ।
घटना हो शुक्रबार २२ गतेको । बुट्कहवा घाटमा नदिजन्य पदार्थ चोरी भईरहेको स्थानीयले खबर दिए । त्यस लगत्तै नगरप्रहरीको टिम बेलुका ५ बजे घाटमा पुग्यो । लमही नगरपालिकाको सरकारी गाडी लु १ झ ६७४ नम्बरको गाडीमा उनीहरु सवार थिए । नगरप्रहरीको टिम चोरी निकासी रोक्न भनेर घाटमा गएका हुन ।
त्यहाँ पुग्दा रा १ त ४४३४ नम्बरको ट्रयाक्टरमा ढुँगा लोड अबस्थामा थियो । नगर प्रहरीको टिम ट्याक्टर नजिक पुग्दै गर्दा लेवर र चालक ट्याक्टर छोडी भागे । टिमले ट्याक्टर नियन्त्रणमा लियो । तर ड्राईभर बिना ट्याक्टर ल्याउन सकस भयो । लगत्तै लमही नगरपालिकाका अर्का ट्याक्टर चालक र जनप्रतिनिधीहरुलाई घाटमा आउन आग्रह गरियो । नगरप्रहरीको टिम ट्याक्टर कुरेर त्यही बस्यो ।
रात पर्दै थियो । मान्छे नचिनिने अबस्था थियो । केही समयपछी झुसमुसेमा ट्याक्टर चालकसहित ९÷१० जना लेबरको टिम घाटमा पुगे । दुईपक्षबिच भनाभन भयो । आबेसमा आएका लेबरहरुले नगरप्रहरीको टिमलाई लछारपछार गर्दै बेल्चाले प्रहार गरे ।
ट्याक्टर छोपिएको झोकमा लेबरहरु आबेसमा आएका हुन । स्थिती नियन्त्रण भन्दा बाहिर गएपछि नगर प्रहरीको टिम ज्यान जोगाउन भन्दै भाग्नुपय्रो । मुर्खदेखि दैब डराउँछ भने झै स्थिती आईलाग्यो । नगरपालिकाका गाडी चालक मेघराज गिरी, नगरप्रहरीहरु बिनोद शर्मा र छवि चौधरीलाई हातपात भएको प्रहरीले जनाएको छ । केही समयपछि वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलसहितको टिम घाटमा पुग्यो । त्यतीबेला रातको करिब ८ बजिसकेको थियो । उता लोड गर्ने लेबरहरु अझै आबेसका शब्दहरु बोल्दै थिए । अप्रिय घटना नघटोस भनी जनप्रतिनिधी र नगर प्रहरीको टिम लमही फर्कियो ।
अर्को दिन शनिबार हातपात भएको भन्दै पीडितले वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिए । उजुरीका आधारमा घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लियो । प्रहरीको अनुसन्धानपछि केहीलाई छोडियो भने ४ जनालाई अभद्र व्यवहार गरेको भनी मुद्वा दर्ता भयो । गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने बर्ष ३५ का मनिराम चौधरी, सोही ठाउँ निवासीहरु बर्ष १९ का निरज चौधरी, बर्ष २५ का सन्दिप चौधरी र बर्ष २३ का सञ्जिब चौधरीलाई हिरासतमा राखिएको छ ।
प्रहरीको हिरासतमा रहेका लेबर टिम आयस्रोतले निम्न भएको बुझिएको छ । छाक टार्नका निम्ति काम गर्नुपर्ने बाध्यता हो । स्थानीय सरकारले नीति निर्माणमा ध्यान दिएर बेलैमा टेण्डर आह्वान गर्न सके चोरी निकासी नियन्त्रण सँगै समग्रमा सरकार र जनतालाई फाईदा हुने देखिन्छ ।
त्यसो त लमही नगरपालिकाले केही महिना देखि चोरी निकासीमा ध्यान दिँदै आएको छ । चोरीमा सँलग्न गाडीहरुबाट राजस्व पनि सँकलन गर्न सफल भएको छ । लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीको सँयोजकत्वमा चोरी निकासी नियन्त्रण समिती नै गठन भएको छ ।
समितीले दिनैजसो राप्ती घाटहरुमा निरिक्षण गरिरहेको हुन्छ ।