पाठ्यक्रम कार्यान्वयनमा चुनौती र शिक्षण शैलीमा परिवर्तनको आवश्यकता

यादव गिरी

पाठ्यक्रमको ढाँचा, निर्माण प्रक्रिया आदिका बारेमा विभिन्न सैद्धान्तिक आधार र मान्यताहरु छन् । तिनै सैद्धान्तिक मान्यताका आधारमा पाठ्यक्रम तयार गरेर लागु गर्ने र समय समयमा अद्यावधिक गरिन्छ ।

यसका सैद्धान्तिक विषयवस्तु एकातर्फ छन्, ति सैद्धान्तिक मान्यता र सिद्धान्तका आधारमा तयार भएको पाठ्यक्रमलाई कक्षाकोठाको व्यवहारिक प्रयोग अर्को महत्वपूर्ण पाटो हो । यसको कार्यान्वयन प्रभावकारी हुन सकेन भने पाठ्यक्रमले राखेको उद्देश्य असफल भई राज्यको जनशक्ति उत्पादन र विकासको ढाँचा नै प्रभावित बन्न पुग्न सक्छ ।

अझ बालबालिकालाई आधारभूत तहमा दिइने शिक्षाको व्यवहारिक व्यवस्थापन उपयुक्त हुन सकेन भने त्यसले पार्ने नकारात्मक प्रभाव ज्यादै भयानक हुन्छ । त्यसैले विद्यालय तहको जग मानिने आधारभूत तहको पाठ्यक्रम र त्यसले राखेको अपेक्षा पूरा गर्न त्यसको सही कार्यान्वयन महत्वपूर्ण छ । यसर्थ यस आलेखमा यस पक्षलाई खोतल्ने प्रयास गरेको छु । आधारभुत तह (कक्षा १–३) मा एकिकृत पाठ्यक्रम लागु भइसकेको छ ।

विभिन्न विषयगत ज्ञान र सिपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी तयार गरिएकोे पाठ्यक्रम एकिकृत पाठ्यक्रममा एकभन्दा बढी विषयहरुको संयोजन गरी एक–अर्को विषयबिचको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने सिकाउने अवसर प्रदान गर्नुका साथै विषयगत उद्देश्यहरुलाईसँगै मिलाएर सिकाउन सकिने अवधारणा रहेको छ । यसको अन्तबस्तु भनेकै एउटै विषय बस्तुबाट फरक–फरक विषयगत अवधारलाई जोड्नु हो ।

आधारभुततह(कक्षा १–३) मा एकिकृत पाठ्यक्रममा २९ वटा व्यवहार कुशल सिपहरु समावेश गरिएका छन् । विद्यार्थीका दैनिक जीवनका वास्तविक समस्या समाधानमा सहयोग पु¥याउने सिपलाई व्यवहार कुशल सिप भनिन्छ । जसलाई सोचाइ सिप, वैयक्तिक सिप, अन्तर वैयक्तिक सिप, सूचना प्रविधि र वहुसाक्षरता सिप र नागरिक सिप गरी पाँच भागमा विभाजन गरिएको छ । उक्त पाठ्यक्रमअनुसार शिक्षकले शिक्षण सिकाई क्रियाकलापमा आफूलाई पूर्णतः बालबालिकामा यिनै सिपहरुको प्राप्तिमा केन्द्रित गराउन आवश्यक छ ।

परम्परागत विषयगत पाठ्यक्रमको प्रतिस्थापनको रुपमा यो पाठ्यक्रमको विकास गरिएको हुनाले शिक्षण सिकाई क्रियाकलाप र मूल्याङ्कन प्रक्रियामा पनि सोही अनुरुप परिवर्तनको अपेक्षा गरिएको छ । विद्यालयका आधारभूत तहमा विषयगत शिक्षण, पूर्णाङ्क र उत्तीर्णाङ्कमा आधारित मूल्याङ्कनशैली र शिक्षक केन्द्रित पद्धति कायमै रही यसमा परिवर्तन हुन नसकेको अवस्थामा परम्परागतशैलीमा अभ्यस्त शिक्षकको शिक्षणशैलीमा परिवर्तन गर्नु एकिकृत पाठ्यक्रम कार्यान्वयनको सबैभन्दा ठुलो चुनौती हो ।

सामाजिक आर्थिक विकासको गतिसँग बालबालिकाको मनोविज्ञान, चाहना र उनीहरुको परिवतर्तित सन्दर्भमा समायोजन हुन सक्ने गरी यसको अध्ययन र अनुसन्धानका आधारमा पाठ्यक्रममा परिवर्तन त भयो तर शिक्षकको शिक्षण ढाँचा, मूल्याङ्कनका उपयुक्त साधनको प्रयोग र पाठ्यक्रमले निर्धारण गरेको ढाँचालाई कार्यान्वयन गर्ने गरी शिक्षकको कार्यशैलीमा परिवर्तन भयो कि भएन त्यो चाहीँ महत्वपूर्ण पक्ष हो ।
शिक्षकको शिक्षण कलामा रुपान्तरण नगरी पाठ्यक्रममामात्र भएको परिवर्तनले कुनै अर्थ राख्दैन । आधारभूत तहको एकिकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकले कम्तिमा पनि यस आलेखमा तल उल्लेखित विषय बस्तुबारे प्रष्ट हुन र सोहीअनुसार आफ्नो शिक्षण सिकाई प्रक्रियाको रुपान्तरणमा केन्द्रित हुन आवश्यक छ ।

प्रभावकारी शिक्षणसिकाईका लागिशिक्षक प्रष्ट हुनैपर्ने विषयहरु

थिमः

थिम भनेको विषय क्षेत्र हो । थिम सबै विषयमा एउटै छ तर विषयगत रुपमा अलग–अलग अवधारणा सिकाउन शिक्षकले योजना बनाउनुपर्दछ । शिक्षकले थिमअनुसार निर्धारित सिकाई उपलब्धी प्राप्त गर्ने गरी शैक्षणिक योजना बनाइ सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । यसो नगरी शिक्षक शिक्षण सिकाईका क्रियाकलापमा अभ्यस्त हुन खोजे पाठ्यक्रमको अभिष्ट पूरा हुनै सक्दैन ।

सिकाइउपलब्धीः

हरेक थिमअन्तर्गत निश्चित संख्यामा सिकाई उपलब्धीहरु छन् । यसले थिमको सिकाई पश्चात विद्यार्थीले प्राप्त गर्ने अपेक्षित उपलब्धी हो । शिक्षण क्रियाकलाप र मूल्याङ्कन मुख्य रुपमा यसमै केन्द्रित हुनुपर्दछ । थिमअन्तर्गत भएका सिकाई उपलब्धीको मूल्याङ्कन गर्दा विद्यार्थीले हासिल गरेको सिकाई उपलब्धीको मूल्याङ्कन गरी कुन स्तरको सिकाई हासिल गरेको छ भनेर थाहा पाउन सिकाई उपलब्धी प्रतिशत निकालेर समग्र सिकाइको स्तर मापन गर्नुपर्दछ ।

परीक्षाव्यवस्थापनः

कक्षा १–३ मा पूर्णाङ्क र उत्तीर्णाङ्कको व्यवस्था गरिएको छैन । त्यसैले पुरानो पाठ्यक्रमको जस्तो पूर्णाङ्क र उत्तीर्णाङ्क राखेर अंकन गर्न मिल्दैन । कक्षा सहभागिता, मौखिक तथा लिखित कार्य, परियोजना तथा प्रयोगात्मक कार्य, कार्य सम्पादन तथा प्रदर्शन, सहपाठी मूल्याङ्कन, स्व मूल्याङ्कन अभिभावकको प्रतिक्रिया, कुराकानी तथा छलफल जस्ता मूल्याङ्कनका तरिका अपनाउनुपर्ने हुन्छ भने अवलोकन, रुजुसूची, रुबिक्स र श्रेणी मापन, मौखिक प्रश्न, फाराम, घटना वर्णन, प्रश्न, चित्र, पठन सामग्री, श्रव्य दृष्य सामग्री, छोटा परीक्षा जस्ता मूल्याङ्कनका साधनहरु प्रयोग गरी उपलब्धी स्तरलाई कमजोर, सामान्य, राम्रो र उच्च गरी चारवटा मापन स्केलमा रेटिङ गर्नुपर्दछ ।

तह पहिचानका लागि रेटिङ स्केल ः

विद्यार्थीलाई हरेक सिकाई उपलब्धीको विभिन्न साधनहरुमार्फत मूल्याङ्कन गरी १, २, ३, ४ को स्तरमा मापन गर्नुपर्छ यसलाई रेटिङ स्केल भनिन्छ । जसमा रेटिङ स्केल १ भनेको कमजोर अर्थात मुख्य सिकाई उपलब्धी हासिल गर्न नसकेको, सबैजसो सिकाई उपलब्धीका लागि सुधारात्मक सिकाई आवश्यक भएको, रेटिङ स्केल २ भनेको सामान्य अर्थात मुख्य सिकाई उपलब्धी आंशिक रुपमा हासिल गरेको तर सुधारात्मक सिकाई आवश्यक भएको, रेटिङ स्केल ३ भनेको राम्रो मुख्य सिकाई उपलब्धी धेरैजसो हासिल गरेको तर सुधारात्मक सिकाई आवश्यक भएको र रेटिङ स्केल ४ भनेको उच्च अर्थात मुख्य सिकाई उपलब्धी हासिल गरेको साथै माथिल्लो स्तरको उपलब्धी हासिल गरेको बुझाउँछ ।

पोर्टफोलियो व्यवस्थापन

विद्यार्थीको नियमित गतिविधि र प्रगतिको व्यवस्थित अभिलेख तयार गर्नुलाई पोर्टफोलियो व्यवस्थापन भनिन्छ । कक्षाका हरेक विद्यार्थीका लागि व्यक्तिगत रुपमा पोर्टफोलियो फाइल तयार गर्नुपर्दछ । विद्यार्थीको व्यक्तिगत विवरणसहित उनीहरुले शिक्षण सिकाई कार्यक्रममा गरेका परियोजना कार्य, कक्षाकार्यलगायत उनीहरुको गतिविधिको नियमित अद्यावधिक गर्दै राख्नुपर्दछ । यसकै आधारमा बेला–बेलामा अभिभावकलाई विद्यार्थीको प्रगति अवस्था सम्बन्धमा जानकारी गराउने र त्यसैका आधारमा विद्यार्थीको विभिन्न पक्षको विकासको लागि अभिभावकसँग आवश्ययक सहकार्य र अन्र्तक्रिया गर्नुपर्दछ ।

सिकाइ सहायता

नियमित पढाइपछि विद्यार्थीको उपयुक्त साधनमार्फत विद्यार्थीको मूल्याङ्कन गर्नुपर्दछ र ३ रेटिङ ३ प्राप्त गरेमा ४ पु¥याउन मद्दत गर्नुपर्छ । यदि १ वा दुई मात्र रेटिङ प्राप्त गरेमा उपचारात्मक सिकाईमार्फत कम्तिमा ३ पु¥याउनै पर्दछ । विद्यार्थीलाई सब थिमअन्तर्गतका सबै सिकाई उपलब्धी हासिल गराउनु शिक्षकको जिम्मेवारी हो ।

जीपीएको गणनाः

सबै विषयमा प्राप्त गरेको ग्रेड पोइन्टको विषयको पाठ्यभार अनुसारको औसतलाई ग्रेड पोइन्ट एभरेजलाई (जीपीए) भनिन्छ । विषयगत रुपमामा जीपी र क्रेडिट आवरको गुणाङ्कलाई डब्लुजीपी अर्थात ग्रेड पोइन्ट भार भनिन्छ । सबै विषयको डब्लुजीपीको जोडलाई सबै विषयको जम्माक्रेडिट आवरले भाग गरेर जीपीए निकालिन्छ । फरक–फरक पाठ्यभार भएको विषयको डब्लुजीपी फरक हुने भएकोले विषयगत ग्रेडको औसतका आधारमा जीपीए निकाल्नु गलत हुन्छ । यस बारेमा शिक्षक पूर्ण जानकार हुनुपर्दछ ।

आवधिक परीक्षातथा मूल्याङ्कन

आवधिक रुपमा मासिक, त्रयमासिकवा चौमासिक रुपमा जे जति थिम र त्यस अन्तर्गतका सिकाई उपलब्धीमा आधारित भइ शिक्षण गरियो, सोही सिकाई उपलब्धी संख्याको आधारमा विद्यार्थीको कार्य प्रगति विवरण तयार गरेर अभिभावक समक्ष प्रदान गर्नुपर्ने हुन्छ । यसलाई शिक्षकले निर्माणात्मक मूल्याङ्कनको साधनको रुपमा उपयोग गर्नुपर्दछ । त्रयमासिक परीक्षालाई परम्परागत अंकन प्रणालीमा नभइ थिम गत सिकाई मूल्याङ्कनमा केन्द्रित भएर गर्नुपर्दछ ।

वार्षिक नतिजाः

सबै विषय क्षेत्रको सबै सिकाई उपलब्धीको विभिन्न साधनहरुमार्फत गरिएको मूल्याङ्कनका आधारमा वार्षिक नतिजा तयार गरिन्छ । यो निर्णयात्मक मूल्याङकनको साधन हो । कक्षा १–३ मा सैद्धान्तिक र प्रयोगात्मक भनेर अलग–अलग मूल्याङ्कन हुँदैन । थिमगत रुपमा सिकाई उपलब्धीहरुको मूल्याङ्कन गरिन्छ । परम्परागत अंकन प्रणालीलाई पूर्णतः उपलब्धी स्तरको आधारमा अक्षरांकन पद्दतिमा मूल्याङ्कन अभिलेख राख्नुका साथै विद्यार्थीलाई नतिजा उपलब्ध गराउनु पर्दछ ।

स्थानीय विषय र ऐच्छिक विषयको सिकाई तथा त्यसको मूल्यांकन

विद्यालय वा स्थानीय निकायमार्फत राखिएको मातृभाषा वा स्थानीय विषयको अन्य विषयमा जस्तै गरी निर्धारित सिकाई उपलब्धीका आधारमा मूल्याङ्कन गनुर््पर्छ तर ऐच्छिक विषयबारे पाठ्यक्रम विकास केन्द्रले कुनै व्यवस्था गरेको छैन । यद्यपि विद्यालयहरुले ऐच्छिक विषय पठन–पाठन गर्ने हो भने पाठ्यक्रमलाई थप सहयोग पुग्ने र विद्यार्थीलाई अनावश्यक बोझ नपर्ने गरी थप सिकाई उपलब्धीहरु निर्धारण गरी सोही आधारमा सिकाई मूल्याङ्कन गर्नुपर्दछ ।

अन्त्यमा

पाठ्यक्रमको कार्यान्वयन गर्ने भनेकै शिक्षकले हो । यसका लागि आवश्यक व्यवस्थापकीय कार्यसहितको सहजीकरणमा विद्यालयको भूमिका महत्वपूर्ण हुन्छ । तसर्थ पाठ्यक्रमको प्रवोधिकरण, शिक्षणशैलीमा रुपान्तरण, मूल्याङ्कनका विभिन्न साधनहरुको विकास, अभिभावकसँगको सहकार्य, पर्याप्त अनुगमन तथा पृष्ठपोषण जस्ता प्राविधिक तथा क्षमता विकासमा विद्यालय तथा आफू स्वयम् शिक्षक अभ्यस्त रहन आवश्यक छ ।