दाङ, २४ मंसिर । घोराही उपमहानगरपालिका–१७ ओखरा निवासी सुशीला चौधरीकी दिदी रामकलीलाई तत्कालीन राज्य पक्षले अपहरण ग¥योे । दिदी रामकलीको अवस्था अहिलेसम्म अज्ञात छ । अनि दाजु अर्जुनलाई तत्कालीन सेनाले गोली हानी हत्या ग¥यो । सुशीलाले द्वन्द्वकाबेला भएका यी दुई घटनाको न्याय खोज्न थालेको बर्षौँ भयो , तर अहिलेसम्म न्याय मिल्न सकेको छैन ।
‘राज्यले अहिलेसम्म हामी पीडितहरूलाई महसुस हुने गरी हाम्रो पक्षमा कुनैपनि काम गर्न सकेन,’ सुशीला भन्छिन् ‘शान्ति सम्झौताको १७ वर्ष पूरा भएर १८ वर्ष लागि सक्दा पनि हामी पीडितहरूले न्याय पाउन नसक्नु दुर्भाग्य हो ।’ प्रमुख राजनीतिक दलहरू द्वन्द्वकालीन मुद्दाहरूको न्यायिक निरुपण गरेर पीडितहरूलाई न्याय दिने बाचा भने गर्दै आएका छन् । तथापी व्यवहारतः न्याय दिने सवालमा भने दलहरू नै गम्भिर नदेखिने गरेको सुशीलाको भनाई छ । ‘पीडितहरूलाई न्याय दिलाउन कुनै कसर बाँकी राखिने छैन भनेर राजनीतिक दलहरूका धेरै प्रतिबद्वताहरू आए,’ उनले भनिन् ‘तर व्यवहारतः न्याय दिलाउने सवालमा दलहरूको गाम्भिर्यता देखिएन ।’
सुशीलाका दाजु अर्जुन महेन्द्र बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट स्ववियु सदस्य लडेका थिए । यसर्थ उनलाई माओवादीको ट्याग राज्य पक्षले लगाएको थियो । २०५८ मंसिर ८ गते माओवादीले घोराहीस्थित सेनाको व्यारेक आक्रमण ग¥यो ।
मंसिर १३ गते बर्गद्दीस्थित खल्यानमा काम गरिरहेका ११ जना किसानलाई सेनाले गोली हानी हत्या ग¥यो । खल्यानमा धान दाउँदै गरेका किसानहरूको सामूहिक हत्या गरेको तत्कालीन सेनाले अर्जुनलाई तारो बनाउन थाल्यो । ‘मंसिर २३ गतेदेखि मेरो दाइ अर्जुनलाई खोज्न दिनहुँ सेनाहरू आउन थाले’,सुशीला भन्छिन् ‘दिनहुँ सेना आउन थालेपछि दाइ भाग्न थाल्नुभयो ।’
तत्कालीन सेनादेखि डराएर भागिरहेका दाजुको एउटा चिन्ता । दिदी झनै सेनाको कब्जामा परेपछि सुशीलाको परिवारमा अर्को चिन्ता थपियो । सुशीलाकाअनुसार घोराहीस्थित तत्कालीन महेन्द्र अस्पतालमा स्वास्थ्य शिविर चलेको थियो । २०५९ बैशाख ३ गते बिरामी दिदी रामकली उपचारका लागि भन्दै अस्पतालमा पुगिन् । ‘
्
गाईनाको डाक्टर आउने लागेको र शिविर चलेको भन्ने खबर पाएपछि बिरामी दिदी उपचारका लागि अस्पताल पुग्नुभयो,’ सुशीला भन्छिन् ‘यो खबर सेनाले पाएको रहेछ, अनि अस्पतालको प्रांगनबाटै दिदीलाई नियन्त्रणमा लिएर गयो ।’ सुशीलाका अनुसार माओवादीको तारोमा रहेका अर्जुनको दिदी भएका कारण सेनाले उनलाई नियन्त्रणमा लियो । त्यसयता रामकलीको अत्तोपत्तो छैन । ‘उपचार गर्न २०५९ मा अस्पताल गएकी दिदी उतैबाट वेपत्ता हुनुभयो, अहिलेसम्म दिदीको अवस्थाका बारेमा एकिन जानकारी छैन’,सुशीला भन्छिन्,‘राज्यले हाम्रो परिवारको सदस्यका बारेमा एकिन जानकारी दिनुपर्ने दायित्व हो नि ।’
वेपत्ता दिदीको खोजीमा परिवार लागिर¥यो, तर कतैबाट पनि थाहा हुन सकेन । त्यसमाथि यो परिवारमा अर्को बज्रपात प¥यो । सुशीलाका दाजु अर्जुनलाई सेनाले २०६१ मा घर नजिकै फेला पा¥यो । उनलाई तत्कालीन सेनाले गोली हानी हत्या ग¥यो । ‘
वेपत्ता दिदीको अवस्था सार्वजनिकका लागि र दाजुको हत्याको छानबिनका लागि हारगुहार गर्न थालेको धेरै वर्ष भयो’,सुशीला भन्छिन् ‘तर राज्यले हामीहरूलाई अहिलेसम्म न्याय दिन सकेन ।’
उनकाअनुसार अहिले पनि न्याय प्राप्तिका लागि ‘आश गर्नु, तर भर नपर्नु’ जस्तै छ । न्यायका लागि आश गरिरहेको भएपनि राज्यपक्षले अनुभूत हुने गरी कुनै पनि काम गर्न नसकेको उनको भनाइ छ । द्वन्द्वकालीन मुद्दाहरूको न्यायिक निरुपणका लागि राजनीतिक आस्थाका आधारमाभन्दा पनि विज्ञताका आधारमा आयोग निर्माण गरिए मात्रै न्याय निरुपणको आस गर्ने ठाउँ रहने उनको भनाइ छ । द्वन्द्व पीडितहरूको साझा चौतारी नामक संस्थामार्फत लामो समयसम्म न्यायका लागि राज्य पक्षसँग भिडेकी सुशीला राज्य र राजनीतिक दलहरू पीडितहरूलाई न्याय दिने सवालमा गम्भिर नबनेको तर्क गर्छिन् ।