देवेन्द्र बस्नेत
दाङ, २३ मंसिर । बाबुको विभत्स हत्या भएको दुई दशक पुगिसक्यो । न्यायको झिनो आश कायमै छ लमजुङका सुमन अधिकारीलाई तर तत्कालीन द्वन्द्वकालमा भएका घटनाहरूलाई राजनीतिक रंग दिएर गोलमटोल गर्न खोजिएको सत्यतालाई नबुझेका हैनन् उनले । फलतः बाबु मुक्ति अधिकारीलाई हत्या गर्नेहरूले कारबाही भोग्लान् भन्ने दृढ विश्वासमा देखिन्नन् सुमन । ‘अनेकन राजनीतिक स्वार्थले न्यायमाथि लगाम लगाइरहेको छ’,सुमनले भने ‘न्यायका फगत रटान लगाएर पीडितहरूलाई गुम्राहमा पार्ने नियतलाई सहजै बुझ्न सकिन्छ ।’
लमजुङका मुक्ति अधिकारी । विद्यालयका प्रधानाध्यापक भएकै कारण तत्कालीन विद्रोही माओवादीले मृत्युको सजाय दियो । त्यो पनि विभत्स रूपमा बाबुको हत्या गर्नेहरू विरुद्व किटानी जाहेरी दिएको मुक्तिको परिवारले न्याय पाएन । न त द्वन्द्वका मुद्दाहरू निरूपणका लागि निवेदन माग गरेको सत्य निरूपण तथा मेलमिलाप आयोगले नै न्याय दिलाउन सक्यो । अनि त मुक्तिका छोरा सुमन भन्छन् ‘राजनीतिक भाग मिलाउन बनाइएका आयोगहरूले कसरी पीडितलाई न्याय दिन सक्छन् रु’
२०५८ मा पाणिनी संस्कृत माध्यामिक विद्यालयमा प्राध्यापन गर्थे मुक्ति अधिकारी । तत्कालीन माओवादीको जगजगीका कारण विद्यालयका प्रधानाध्यापक नवकुमार अधिकारीले प्रध्यापक पदबाट राजीनामा दिए । ‘माओवादीको थ्रेटका कारण प्रअले राजीनामा दिनुभएको थियो,’ सुमन भन्छन् । त्यसपछि विद्यालयको कार्यवाहक प्रधानाध्यापकको जिम्मेवारी मुक्तिले लिए ।
दशँैको मुखैमा माओवादीका कार्यकर्ताहरूले कार्यवाहक प्रधानाध्यापकसँग दशैँ पेश्कीको डिल गरे तर मुक्तिले विद्यालयका सबै शिक्षकहरूसँग सरसल्लाह गरेर मात्रै निर्णय सुनाउने जवाफ दिए । ‘प्रति शिक्षकबाट २५ प्रतिशत दशैँ पेश्की मागेका रहेछन्,’ सुमनले भने ‘बुवाले चाहिँ सबै शिक्षकहरूसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिनुभएको थियो ।’
दशँैको सप्तमीको दिन चन्दा माग गरेको माओवादी समूह घर पुग्यो । उनीहरूले सुरुमै चन्दाकै कुरा उठाए तर मुक्तिले शिक्षकहरूको सामूहिक निर्णय सुनाए ‘सबै शिक्षकहरूसँग सल्लाह भयो, चन्दा नदिने कुरा भएको छ ।’ तर जसरी पनि दिनुपर्ने भन्दै अडान लिएका माओवादीहरूलाई उनले पुनः जवाफ दिए ‘चन्दा जबरजस्ती हुँदैन नि ।’
चन्दा दिन अस्वीकार गरेको आक्रोशमा थिए माओवादी कार्यकर्ताहरू । सोही वर्षको माघ ३ गते फेरि उनलाई सजाय भोग्नुपर्छ भन्दै धम्क्याइयो । त्यो समूहको यो धम्कीका कारण परिवार डराइरहेको थियो । फलतः घर छोडेर बाहिरै बस्न परिवारका सदस्यहरूले सुझाव दिए तर मुक्तिले परिवारको प्रस्ताव अस्वीकार गर्दै भने ‘म कतै जान्न, विद्यालय बिग्रन्छ ।’
कार्यबाहक प्रधानाध्यापकको जिम्मेवारीमा रहेको मुक्तिलाई प्रधानाध्यापक बनाउने निर्णय बमोजिम सदरमुकाम बेसीसहरस्थित जिल्ला शिक्षा कार्यालयबाट फोन आयो । फागुन २ गते मुक्ति प्रधानाध्यापकको अनुमति पत्र लिन बेसीसहरतर्फ लागे । बेसीसहरबाट घर फर्कदा साँझ परिसकेको थियो ।
‘बेसीसहरबाट फर्कदा साँझ पर्न थालेपछि त्यहाँ रहनु भएकी दिदीले रातीमा नहिँड्न र आफ्नो घरमै बस्न सल्लाह दिनुभयो’,सुमन भन्छन् ‘तर बुवाले मान्नु भएन, रातारात घर फर्कनुभयो ।’ अर्को दिन मुक्ति प्रधानाध्यापकको रूपमा विद्यालयमा हाजिर भए तर जित्ता भन्ने स्थानबाट आएको माओवादीको हुलले मुक्तिलाई उनले पढाइरहेको कक्षा कोठामा हताहती पार्न खोजे । ‘बुवाले १० कक्षामा पढाइरहनु भएको रहेछ, उनीहरू एकाएक कक्षा कोठामा प्रवेश गरेर बुवाको हात बाँधेछन्’, सुमन भन्छन्,‘पछि विद्यार्थीहरू रुन थालेछन्, अनि कक्षा कोठा बाहिर बुवालाई निकाले छन् ।’
जुटको डोरीले हात बाँधिदिएका माओवादीहरूले विद्यालयबाट मुक्तिलाई हिँडाए । ‘बुवाले अन्य शिक्षकहरूलाई म फर्कन्छु कि फर्कन्न विद्यालय राम्रोसँग चलाउनु होला भन्नुभएको रहेछ,’ सुमनले भने । विद्यालयबाट गलहत्याउँदै मुक्तिलाई उनको घर नजिकै बाटोबाट डाँडा उकालियो । बाटोमै पर्ने चन्द्रपाटास्थित अर्को विद्यालय सर्वोदय उच्च मावि नजिकै मुक्तिलाई सजाय दिने योजना माओवादीले बनाए । तर संयोजक उक्त उच्च माविमा मध्यान्तरको समय भएको थियो, विद्यार्थीहरू बाहिरै थिए । माओवादीहरूले त्यहाँबाट स्थान परिवर्तन गरे । ‘उच्च माविमा मध्यान्तर भएको समय परेकाले उनीहरूले त्यहाँबाट सजाय दिने भनेको ठाउँ अन्तै तय गरेका रहेछन्’,सुमन भन्छन्,‘अनि त्यहाँबाट उसैगरी घिसार्दै माथि डाँडोमा पु¥याएका रहेछन् ।’
घर नभएको, पानी ट्यांकीको नजिकै रहेको उत्तिसको रुख । गलबन्दीले मुक्तिलाई त्यहीँ रुखमा बाँधिदिए । अनि गोली हानेर हत्या गरिदिए । ‘बुवालाई बाँधेर डाँडा उकाल्न थालेको धेरैले देखेका रहेछन्, तर कसैलाई पनि घरमा खबर नगर्न माओवादीहरूले धम्की दिएका रहेछन्,’ सुमन भन्छन् ‘फलतः बुवालाई माओवादीले लगेको भन्ने घरमा कसैलाई पनि थाहा भएन ।’ अपरान्ह ४ बज्यो, विद्यालय छुट्टी भयो तर मुक्ति घर फर्केनन् । गाउँले आफन्त कमलकान्त अधिकारी र बालकृष्ण न्यौपानेले घरमा खबर गरिदिए ‘मुक्तिलाई माओवादीले लिएर गएका छन् ।’
यो खबर सुनेपछि गाउँकै राजेन्द्र केसी भन्ने व्यक्तिसँग सुमन बाबुको खोजीमा निस्के । उनीहरू कामीचौर भन्ने स्थानमा पुगे, तर गाउँलेहरूले मुक्तिको हत्या भएको स्थानमा नजान सुझाव दिए । ‘माओवादीले वार्ता गरिराछन्, त्यता नजानुस् भनेर हामीहरूलाई गाउँलेहरूले रोके,’सुमनले भने ‘अनि हामीहरू घर फर्कियौँ ।’ अर्को दिन बिहानै घटनास्थलमा पुगे सुमन । बाबुको विभत्स हत्या भएको देखे ।
बाबुको हत्याको घटनामा न्याय खोज्यो अधिकारी परिवारले । बेसीसहरस्थित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो तर त्योबेला घटनाको छानबिन हुन सकेन । २०६३ मंसिर ५ गते भएको शान्ति सम्झौताको ड्राफ्ट तयार भयो । उक्त ड्राफ्टमा राज्यपक्षबाट भएका घटनालाई राज्यविरुद्व आक्रमण गरेका कारण माफि दिने र माओवादीबाट भएका घटनालाई राजनीतिक मुद्दा बनाएर माफि दिने आशय उल्लेख भयो । ‘यो द्वन्द्व पीडितहरूको न्यायको खिलाफमा थियो, यस विषयमा धेरै परामर्शहरू पनि भएका थिए,’ सुमनले भने ।
मुक्तिको हत्या लगत्तै जाहेरी दिएको अधिकारी परिवारले २०६७ चैत २४ गते किटानी जाहेरी दियो तर किटानी जाहेरी दिइएका व्यक्तिनै भोलिपल्ट शान्ति समितिको संयोजक बने । ‘हामीहरूले किटानी जाहेरी दियौँ, किटानी जाहेरीमा नाम उल्लेख गरिएकैमध्येका एक व्यक्ति भोलिपल्ट शान्ति समितिको संयोजक बने,’ सुमन भन्छन् ‘नेपालको न्याय प्रणालीको यो रूपलाई कसरी व्याख्या गर्ने रु’
किटानी जाहेरी दियो, तर अधिकारी परिवारले न्याय पाएन । द्वन्द्व पीडितहरूलाई न्याय दिलाउनका लागि भन्दै बनेका आयोगहरू पनि न्याय दिलाउने भर विश्वासका केन्द्र बन्न सकेनन् । राजनीतिक भागवण्डाका लागि यस्ता आयोगहरू बनाइएको भन्दै सुमनले विश्वसनीय आयोग नबन्दासम्म पीडितहरूले न्याय पाउने ठाउँ देखेका छैनन् ।
‘राज्यले बनाएका आयोगहरूमा भएको प्रतिनिधित्वलाई हेर्नुस्, राजनीतिक भागवण्डा गरिएको छ, राजनीतिक भागवण्डामा गरिएका आयोगहरूले कसरी न्याय निरूपणका लागि काम गर्न सक्छन् ’ सुमनले भने ‘यदि गर्न सक्ने भइदिएको भए अहिलेसम्म यी आयोगहरूमार्फत हामी पीडितहरूले न्याय पाइसकेका हुन्थ्यौँ, फलतः यस्ता आयोगहरू हैन, निश्पक्ष आयोग बनाइनुपर्छ, अन्यथा पीडितहरूले न्याय पाउने सम्भावना जहिल्यै शून्य नै हुनेछ ।’
‘