कथा : सडक डन

आदिम के.सी.
बजार व्यस्त छ, मानिसको चहलपहलले भरिभराउ बजार मान्छेको घुइँचोको त कुरै नगरौँ । कसैलाई कसैको वास्ता छैन सबै आ–आफ्ना सुरमा छन् । समयले मानिसलाई कति व्यस्त बनाउँदै लगेको छ, कसैलाई कसैको बारेमा सोच्ने समय नै छैन ।

दिन प्रतिदिन बढ्दै गएको महङ्गीले सर्वसाधारणको दिनचर्या कठिन बन्दै गएको छ । त्यसकारण पनि मान्छे कसैको बारेमा सोच्दैन, आफ्नो जीवन सहज बनाउनका लागि उसको दौडधूप जारी छ । मलाई लाग्यो यो बजारको व्यस्तता पनि त्यसैको उपज हो । मान्छेलाई आफ्नो उद्देश्य प्राप्तिका लागि भ्यानभ्याई छ ।

म यस्तै व्यस्त सडकमा गन्तव्यहीन यात्री सरह भौतारिरहेको थिएँ । आज खै कुन्नी किन हो सडकका चोकचोक गल्लीगल्ली चहार्न मन लागेको थियो । त्यही इच्छाबमोजिम म बजारमा एक्लै भौतारिएको थिएँ । बजारको अलि कम भीडभाड सडकमा थिएँ म यतिबेला । त्यहाँ केही केटाहरुको जमघट थियो । खासै उमेरका पनि थिएनन् झण्डै १२–१४ वर्षका जस्ता देखिन्थे् उनीहरु ।

मैले केहीबेर उनीहरुलाई नियालेँ, उनीहरुको बोलीचाली र उनीहरुले प्रयोग गरेका शब्दबाट उनीहरुको पहिचान गर्न मलाई कत्ति गाह्रो भएन । कोही नसाको तालमा थिए भने कोही भोकले आकुलव्याकुल भएकाझैं देखिन्थे । मलाई लाग्यो तिनीहरु धेरै दिनदेखिका भोका थिएँ ।

पढ्ने लेख्ने उमेरका उनीहरुको यस्तो अवस्था देख्दा मेरो मनमा विभिन्न तर्कनाहरु तछाडमछाड गर्दै आए । उनीहरुको यस्तो मजवुरीप्रति मेरो चिन्तन बढ्यो । विवशता पछाडिको जीवनका बाध्यतालाई केलाउन मन लाग्यो । म नजिकैको पसलबाट केही चाउचाउ किनेर उनीहरु भएकै ठाउँमा पुगेँ । चाउचाउसहित मलाई देखेपछि उनीहरु माहुरी महमा झुमिएझैं मेरासामु विना निमण्त्रणा ओइरिए ।

मैले सोधेँ केटा हो भोकाएका छौ ?

मेरो प्रश्न भुइँमा खस्न नपाउँदै असभ्य पाराले उनीहरु चिच्चाए । तर मैले उनीहरुको त्यस्तो क्रियाकलापलाई आर्तनाद पीडापछिको हर्षसँग तुलना गरेँ । अनि सबैलाई बस्न आग्रह गरेँ । सबैका हातहातमा चाउचाउका पोका थमाइदिएँ । भोकले थलिएका, आहारा पाउँदा निकै हर्षित देखिन्थेँ । उनीहरुको हर्षले मलाई पनि आनन्द दिइरहेको थियो । आफूसँग भएको सानो रकमले उनीहरुको भोक टार्न पाउँदा मलाई महाकवि देवकोटाका यी पङ्तिहरुको याद आइरहेको थियो–

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ
आफू मिटाई अरुलाई दिनु जहाँ छ

उनीहरुको भोक टार्ने प्रयास गर्नु मात्र मेरो उद्देश्य थिएन । म उनीहरुको बाध्यतासँग परिचित हुन चाहन्थे । बरवादीतर्फ हानिएको उनीहरुको जीवनलाई म नजिकबाट बुझ्न चाहन्थेँ । आफ्नो उद्देश्य प्राप्तिका लागि म उनीहरुसँग भलाकुसारी गर्ने दाउमा थिएँ ।
केटा हो निकै भोक लागेको थियो है ?

तिनीहरु मध्ये एउटाले जवाफ दियो हो, दाइ भोक त अति नै लागेको थियो ।
अनि किन भोकै बसेको त ? मैले उनीहरुको भोकप्रति अनविज्ञता प्रकट गरेँ ।
ऊ बोल्यो खान पाए पो खाने दाइ ।

किन घरमा आमाले खान दिनुहुँदैन र ? मैले सवाल गरेँ । घर भए पो, उसले सहजै जवाफ दियो । किन तिम्रो घर छैन र अनि कहाँ बस्दछौ त ? मैले जिज्ञासा प्रकट गरेँ ।
कहाँ हुनु दाइ, हाम्रो त जे पनि यही सडक हो, अत्यन्त भावुक बन्दै उसले भन्यो ।
जे भने पनि सडक ? मैले प्रश्न गरेँ ।

हाम्रो लागि सबै सडक हो दाइ, दिन, रात, वर्षा, घाम, पानी ……………. सारा हामी यही सडकमा नै बिताई दिन्छौँ । उसले आफ्नो बाध्यताको गाँठो खोल्दै गयो । म उसको बाध्यतामा आफ्नो उद्देश्य पूर्ति गर्न खोज्दै थिएँ । मैले फेरि सोधेँ तिमी किन सडकमै जीवन बिताउँछौ त ? के यसको कुनै विकल्प छैन र ?

खोई, के विकल्प हुनु र दाइ, हामी त सडकमै जन्म्यौँ, सडकमै हुक्यौं अनि सडकमै जीवन बिताइरहेका छौँ, हाम्रो लागि अरु विकल्प के हुन सक्छ र ? पढ्न पाइएन पढ्न पाएको भए पो विकल्प हुन्थ्यो, ऊ निरास हुँदै बोल्यो ।

अरु केही काम गर्न पनि त सकिन्छ नि ? म विकल्प खोज्ने पक्षमा थिएँ । पहिलेदेखि नै सडकमै भइयो, जीवन जिउनका लागि जे पनि गरियो काम गर्ने त बानी नै भएन, फेरि हामीलाई कसैले विश्वासै पनि त गर्दैनन् नि, ऊ वास्तविकता खोल्दै थियो ।

मैले भने कस्तो विश्वास ?
हामी काम गर्छौँ, हामीलाई काम गर्न दिनुहोस् भनेर जति भने पनि कसैले दिदैनन्, त्यसैले पनि हामी त सडकमै भौतारिरह्यौँ, यो बाहेक अर्को बाटो नै हामीले देखेका छैनौँ, ऊ ङिच्च हाँस्यो, उसका पहेँला दाँत देखिए, मैलो शरीर, अलि परैबाट गन्हाउँथ्यो शरीर नै, नाकबाट बेलाबेला सिगान निस्किएर माथिल्लो ओठसम्म आउँथ्यो, ऊ श्वासको बलले आफ्नो बग्न थालेको सिगानलाई बडो जतनकासाथ सम्हाल्थ्यो फाल्नुको साटो, मानौ कुनै बहुमूल्य वस्तु हो त्यो । यसका दाँतले कहिल्यै सफा हुने मौका पाएका छैनन्, दाँतमा जमेको फोहोरको लेउको कुरै नगरौँ पायरियाको जस्तो गन्ध टाढैबाट आउँथ्यो ।

उनको जीवनलाई आज म किन यति धेरै जान्न खोज्दैछु , हेर्दै घिनलाग्दो मानिसको जीवनको विज्ञताबाट मलाई के फाइदा छ र ? तैपनि किन हो किन उसको जीवनका हरेक पाटो पहिल्याउन मन लागेको छ मलाई । रहस्यले भरिएको कुनै फिल्म जस्तो छ उसको जीवन, जति खोतल्दै गयो उति नवीन रहस्यको उद्घाटन हुन्छ । यसरी बातैपिच्छे उसको बारेमा नयाँनयाँ कुरा थाहा लाग्नुले पनि उसको वास्तविकताले मलाई खिचिरहेको थियो, मानौं चुम्बकले फलामलाई खिचेझै ।

मान्छेहरु उसलाई छिछि र दूरदूर गर्छन् तर मलाई उसको जीवन आज उत्सुकताको पाटो भएको छ । करुणाले भरिएको उसको जीवनको पाटो कसैका लागि उत्सुकता बनेको छ भने कतिका लागि घाँडो बनेको छ । मनमा विभिन्न तर्कनाहरुको आँधी चलिरह्यो, त्यही आँधीको वेगले मलाई उसको जीवनका मैले नबुझेका, उसले भोगेका मेरो लागि रहस्य, उसको लागि पीडासम्म उडाएर लग्यो ।

केहीबेरसम्म परैबाट गन्हाउने उसको मलिन अनुहारलाई पढेँ । ह्वास्स गन्हाउँछ उसको श्वास । अझ ऊ बोल्दा त गन्धको चर्चा नै नगरौं । मैले माथि नै चर्चा गरिसकेँ यो गन्धको बारेमा, पायरियाको गन्ध । उसको बारेका मलाई अझैं धेरै जान्ने इच्छा मरेको थिएन, उसको इतिवृत्तान्तले मलाई घच्घचाइरहेको थियो । फेरि उसलाई कति करुणाको नदीमा बगाउने हो र भन्ने पनि नलागेको कहाँ हो र ? तर आफ्नो इच्छाको सामु उसको करुणाको गला निमोठे मैले, मलाई मेरो इच्छा ठूलो भयो, उसको करुणालाई मैले बेवास्ता गर्दै मैले आफ्नो इच्छालाई उचाइ दिने निर्णयमा पुगेँ ।

मैले सोधेँ तिम्रा आमा बाबु के गर्नुहुन्छ ?
मेरो प्रश्नले ऊ स्तब्ध भयो, केही बेर टोलायो अनि निन्याउरो अनुहारको मलिनता फिका हाँसोले पखाल्दै ऊ बोल्यो आमासँग त कहिलेकाहीँ भेट हुन्छ तर बाबुलाई त चिनेकै छैन ।
उसको उत्तरले मेरो उत्सुकतालाई झनै बढायो , उत्सुकताको उचाइ हलक्कै बढ्यो, मानौं सगरमाथालेझैं विश्वकीर्तिमान राखेको छ । उत्सुकताको वेगलाई रोक्न सकेन, फेरि सोधेँ किन तिम्रो बाबुसँग भेट भएको छैन ।
उसले सहजै जवाफ दियो बाबु भए पो चिनजान हुने । म झनै रहस्यको खाडलमा भासिएँ, बाबुविना पनि मान्छे जन्मन्छ र ? उसले आफ्ना सबै साथीलाई देखाउँदै भन्यो जन्मदारहेछन् नि हामी सबै त्यस्तै त हौँ । कसरी ? म प्रष्ट हुन खोजेँ ।

उसले भन्दै गयो हाम्रा आमाहरु गरिबीसँग लड्दालड्दै हामी जन्मेका हौँ रे……………। मैले उसलाई बीचैमा रोकेँ कसले भनेको । पोहोर साल एकजना पत्रकारले हाम्रो बारेमा समाचार बनाउँदा भन्नुभएको थियो । उसको जवाफमा म अझैं प्रष्ट हुन चाहन्थेँ त्यसैले उसलाई प्रश्न थपेँ–अनि तिमीले कसरी भनेर सोधेनौ त ?

किन नसोध्नु, मैले सोधे नि त , उहाँले भन्नुभयो हाम्रो आमाले गरिबीलाई टार्न यौनको व्यापार गर्नुभयो, त्यही क्रममा हामी जन्म्यौँ, त्यसैले पनि हाम्रो बाबुको पहिचान छैन । ऊ बोल्दै गयो मैले उसलाई केहीबेर एकोहोरो बोलिरहन दिएँ ।

ऊ बरबराउँदै थियो –साँच्चै भन्ने हो भने आजसम्म मैले बाबा भन्न पाएको छैन, सायद आज बाबु भएको भए हामी यसरी सडक छाप हुनुपर्ने थिएन, सबैको छिछि र दूरदूर सहनुपर्ने थिएन, हाम्रो पनि सानो आफ्नै घर हुन्थ्यो होला, बाबाआमा काम गर्नुहुन्थ्यो होला, हामी विद्यालय जान्थ्यौँ होला, बचेको समयमा हामी बाबाआमालाई काममा सघाउँथ्यौँ होला, कति रमाइलो हुन्थ्यो होला हाम्रो त्यो जीवन, यसरी भोकभोकै मर्नुपर्ने थिएन, यहाँ त जाडोमा कठ्याङग्रिने, घाममा तातिने हाम्रो विवशतालाई कसले बुझ्छ र ?

करुणाको पोको खोल्दा खोल्दै ऊ भावविह्वल भयो, उसका आँखामा श्रावण छायो, आँखाबाट खसेका आँसुका धारा र नाकबाट बगेको सिंगानलाई सम्हाल्न उसलाई हम्मेहम्मे प¥यो । अघि धेरै पटक बडो जतनले सम्हालेको सिंगान अहिले उसले बलजफ्तै दाहिने हातको दुई औंलाको सहायताले फ्याँकिदियो, मानौ त्यो कुनै मूल्यहीन बस्तु हो । उसका अन्य साथीहरु पनि मलिन थिए, ऊ सबैको पीडा बोलिरहेको थियो, ऊ सबैको प्रतिनिधि थियो, उसको रुवाइमा उनीहरुको जीवन प्रतिविम्वित थियो, जहाँ बाध्यता, विवशताका अग्ला अग्ला पहाड थिए उनीहरुकासामु ।

मैले उसलाई आफूलाई सम्हाल्न आग्रह गरेँ । मेरो अनुरोधलाई उसले स्वीका¥यो । आजसम्म तिमीले कहीँ कतैबाट सहयोग पाएका छैनौँ ? मैले सोधेँ । सहयोगको नाममा गाली, लातभन्दा बेसी पाएका छैनौँ, उसले तुरुन्तै जवाफ फर्कायो । विभिन्न संघसंस्थाहरु तिमीहरुजस्ता बालबालिकाको क्षेत्रमा काम गर्छन त, मैले जानकारी दिने प्रयास गरेँ । हाम्रो टाउका गनेर आफ्नो पेट भर्छन् , सायद ऊसँग रेडिमेट उत्तर भएझैं ऊ फटाफट बोल्थ्यो ।
मलाई उसको तीक्ष्ण दिमागले लोभ्यायो, ऊ कति चलाख छ, कति तीब्र छ उसको दिमाग, आहा! शिक्षा पायो भने यो देशको होनहार गहना हो । तर राज्यले यिनीहरुलाई वास्ता गर्दैन, यिनीहरुको सीप, श्रम, विवेकलाई सदुपयोग गर्न सकेको छैन । यिनीहरुको क्षेत्रमा काम गर्ने संस्थाहरु नै यिनीहरुलाई चिन्दैनन् , मुलाहिजा रिर्पोट बनाएर डलरले आफ्नो जीवनमा कलर भरिरहेका छन् ।

यो कस्तो लाजमर्दो कुरा, राज्य पनि कति निरिह छ यसमा, मानौं उनीहरुको मिलेमतो नै हो कि । म यसैमा गमिरहेँ, यस्ता बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाको मूल्याङ्कन गरिरहेँ, सडक बालबालिकाप्रति राज्यको सक्रियता र उदासिनतालाई मूल्याङ्कनको तराजुमा तौलिरहेँ । यतिबेलासम्म सूर्य पश्चिम क्षितिजमा पुगिसकेको थियो, प्रचण्ड प्रज्ज्वलबाट लालमय बन्दै गएको थियो सूर्य, पश्चिम आकाशमा ठोक्किएका सूर्यका किरणले धर्तीलाई छुँदा धर्तीसमेत सौन्दर्यको खानीसरह भएको थियो ।

चराचुरुङ्गीहरु खुला आकाशमा उडिरहेका थिए, वातावरण रमाइलो थियो । तर उनीहरु खुशी थिएनन् न त म नै आज त्यति खुशी थिएँ । उनीहरु प्रसन्न हुने सम्भावना पनि न्यून थियो, उनीहरुको जीवनमा यस्तै खुशीको बहार कहिले आउला, उनीहरुको श्वासबाट पायरियाको गन्ध कहिले हराउला, यसमा राज्यको उदासिनता कहिलेसम्म भन्ने तर्कनामा डुब्दै उनीहरुसँग छुट्टिएँ ।