दाङ, २३ मंसिर । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले अहिले गाउँ केन्द्रीत अभियान चलाइरहेको छ । माओवादी रुपान्तरणका लागि भन्दै गत भदौ १५ गतेदेखि थालिएको यो अभियानअन्तर्गत माओवादी गाउँ केन्द्रीत छ । ‘जनतासँग माओवादी, विशेष रुपान्तरण’ नामक अभियानअन्तर्गत आगामी पुस १५ गतेसम्म माओवादी गाउँ केन्द्रीत हुनेछ । यो अभियानअन्तर्गत माओवादीका केन्द्रीय तहका नेताहरू जिल्ला जिल्लामा खटिएका छन् ।
यो अभियानले पार्टीको सांगठनिक मजवुतिमा मद्दत पुग्ने अभियानमा खटिएका नेताहरू बताउँछन् । मूलतः संविधानले निर्दिष्ट गरेका जनताका आधारभूत आवश्यक्ता पूूर्तिका लागि दलहरू गम्भिर बन्नुपर्ने सुझाव कार्यकर्तापंक्तीबाट व्यापक रूपमा उठेको छ । ‘संविधानले उल्लेख गरेका जनताका आधारभूत अधिकार प्राप्तिका विषयमा दलहरू गम्भिर बनेर लाग्नुपर्छ भन्ने सुझाव कार्यकर्ताहरूबाट आएको छ,’ यो अभियान अन्तर्गत प्यूठानमा खटिएका केन्द्रीय सदस्य निर्मल आचार्यले भने ‘र यो अधिकार प्राप्तिका लागि माओवादीले नेतृत्व लिनु पर्छ भन्ने चाहना नागरिकको छ ।’
मुख्यतया जनजीविकाका सवालहरू माओवादीको अभियानका क्रममा कार्यकर्ताहरूले उठाएका छन् । नागरिकको गास बास कपासको सुविधाका लागि राजनीतिक दलहरू बढी चिन्तित बनेर लाग्नुपर्ने आवश्यक्ता रहेको भन्दै कार्यकर्ताहरूले माओवादीले नै यसको नेतृत्व लिनुपर्ने सुझाव दिने गरेको नेताहरू बताउँछन् । ‘आमनागरिकको जनजीवीकाका सवालहरू गास बास कपासको सुविधा पाउने अधिकार कार्यान्वयन हुनुपर्छ भन्ने सुझाव आएको छ,’ यो अभियानअन्तर्गत पाल्पामा खटिएका अर्का केन्द्रीय सदस्य ईन्द्रजीत चौधरीले भने ‘यसका लागि माओवादीले नै नेतृत्व लिनुपर्छ भन्ने चिन्तन कार्यकर्ता पंक्तीमा छ ।’
यसैगरी माओवादीमा रुपान्तरण आवश्यक भएको भन्दै नेताहरू व्यक्तिवादी चिन्तनबाट माथि उठ्नुपर्ने सुझाव कार्यकर्ताहरूको छ । केन्द्रीय सदस्य चौधरीकाअनुसार माओवादीमा अहिले व्यक्तिवादी चिन्तन हावी भएको र यसलाई सुधार गरिनुपर्ने सुझाव प्राप्त भएको छ । ‘पार्टी रुपान्तरणका लागि पार्टी भित्रको चिन्तनमा सुधार आउनु प¥यो भन्ने सुझाव छ,’ चौधरीले भने ‘पार्टीभित्र कार्यकर्तामुखी भन्दा बनि व्यक्तिवादी चिन्तन हावी भएको भन्दै कार्यकर्ताहरूले गहन सुझाव दिनु भएको छ ।’
पार्टी रुपान्तरणका लागि विशेष अभियान लिएर चार महिना सम्म गाउँ केन्द्रीत हुने माओवादीले यो अभियानलाई पार्टी संगठन सुदृढिकरणका लागि बलियो अभियान भनेको छ । वर्तमान सरकारको नेतृत्व गरिरहेका बेला सुशासन कायम गर्न भ्रष्टाचारका ठूला फाईलहरू खोलिएकाले माओवादी प्रतिको आमनागरिकको दृष्टिकोण धेरै सकारात्मक रहेको अभियानमा खटिएका नेताहरूले बताएका छन् । ‘माओवादीले सरकारको नेतृत्व गरिरहेका बेला अहिले भ्रष्टाचारका ठूला फाईलहरू खोलिएका छन्,’ केन्द्रीय सदस्य आचार्यले भने ‘सुशासन कायम गर्नका लागि खेलिएको यो भूमिकाका कारण माओवादीलाई आम नागरिकले हेर्ने दृष्टिकोण अहिले धेरै सकारात्मक छ ।’
यससँगै पार्टीका नेताहरूलाई कार्यकर्तासँग जोड्ने काम अभियानले गरेको भन्दै नेताहरूले यो सम्बन्धले पार्टी प्रतिको आकर्षण बढ्ने बताए । ‘माओवादीलाई जनतासँग प्रत्यक्ष जोड्ने काम यो अभियानले गरेको छ,’ केन्द्रीय सदस्य चौधरीले भने ‘यसले कार्यकर्ता र नेताकाबिचमा सम्बन्ध थप मजवुत बनाउने काम गरेको छ ।’