प्रिया स्मृति गजमेर÷प्रमोद आचार्य
दाङ, १९ मंसिर । लमही नगरपालिका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले समाजमा स्वास्थ्य सचेतना फैलाउन महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका महत्वपूर्ण भएको बताएकी छन् । २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा मंगलवार आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख योगीले गाउँघरमा प्राथमिक उपचारसँगै परिवारनियोजन, मातृशिशु तथा बाल मृत्युदर रोक्न महिला स्वास्थ्य स्वयम्सेविकाको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् ।
समुदायमा अहोरात्र खटिने, समुदायका विश्वासिला पात्र भएको भन्दै योगीले महिला स्वयम्सेविकाको योगदानको प्रशंसा गरेकी थिइन् । उनले महिलासँग प्रत्यक्ष जोडिएका महिला स्वयम्सेविकाहरूको सेवासुविधाको लागि राज्यले केही गर्न नसक्नु दुःखद् भएको भन्दै स्थानीय सरकारको तर्फबाट सक्ने सहयोग गर्ने बताइन् ।
कार्यक्रममा सहभागी भएका महिला सामुदायिक स्वयम्सेविकाले आफूहरूलाई राज्यले अन्याय गरेको बताएका थिए । समुदायको सेवाका लागि आफूहरू रातदिन नभनेर सेवा गरे तापनि एउटा श्रमिकले पाउने पारिश्रमिक बराबरको ज्याला पनि नपाइने भन्दै गुनासो पोखेका थिए । गत आर्थिक वर्षमा उत्कृष्ट काम गरेका तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको छ । समानित हुनेमा लमही नगरपालिका ५ की हुमा पन्त, लमही नगरपालिका १ की पुजन्या चौधरी र लमही नगरपालिका २ की रमेस्वरी चौधरी रहेका छन् । लमही नगरपालिकाबाट विभिन्न सन्देशमूलक प्लेकार्ड सहित निस्केको ¥यालीले लमही बजार परिक्रमा गरी पुनः नगरपालिका पुगेर कोणसभामा परिणत भएको थियो । लमही नगरपालिका कावा नगर प्रमुख योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ निरीक्षक मिना शर्माले गरेकी थिइन् ।
स्वास्थ्य सचेतनामा ठुलो भूमिका
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गाउँमा स्वास्थ्य सचेतनासँगै मातृ शिशुदर घटाउन महिला स्वास्थ्य स्वयम्सेविकाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसमा दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले स्वास्थ्यकर्मी नपुग्ने ठाउँमा पुगेर महिला स्वास्थ्यकर्मीले उपचारमा सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।
उनले निःशुल्क रूपमा सेवामा खटिने महिला स्वास्थ्य स्वयम्सेविकाको सेवाका लागि सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको संयुक्त प्रयास’ भन्ने मूल नारासहित दंगीशरणका स्वयम्सेविकाले प्लेकार्डसहित हेकुली बजार पक्रिममा गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले समाजमा जनचेतना फैलाउने र दूरदराजका जनतामा स्वास्थ्यको प्रारम्भिक जग बसाल्न स्वयम्सेविकाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएकी थिइन् । उनले बाल मृत्युदर र मातृ मृत्युदरमा कमी ल्याउन स्वयम्सेविकाको उल्लेखनीय भूमिका रहेको समेत बताएकी थिइन् ।
कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेचतना फैलाउन महिला स्वास्थ्य स्वयम्सेविकाहरूको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । स्वयम्सेवी संघ दंगीशरणकी अध्यक्ष गोमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका वडा नं. ३ का अध्यक्ष सुकलाल चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वयम्सेविका दिवसको उद्देश्यमाथि गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप योगीले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण स्वयमम्सेविका नर्मदा अधिकारीले गरेकी थिइन् ।
४२ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई
यसैबिच २०औँ राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा घोराहीमा ४२ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई बिदाई गरिएको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मानसहित बिदाई गरिएको हो । घोराही उपमहानगरपालिकास्तरीय महिला स्वास्थ्य स्वयम्सेविका समिति अध्यक्ष बिना खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवम् स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बरबहादुर कुँवरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा समुदायको स्वास्थ्यमा योगदान पु¥याउँदै आएका स्वयम्सेविकाको योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताले बाल मृत्युदर, मातृशिशु मृत्युदर कम गर्न तथा नागरिक स्वास्थ्यमा पहुँच पु¥याउन २०४६ सालदेखि नेपाल सरकारले अघि सारेका स्वास्थ्यका क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको हुँदा चुनौतीका रूपमा रहेको पोलियो उन्मुलनदेखि पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियान सफल बनाउन स्वास्थ्य स्वयम्सेविकाले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा नगर उपप्रमुख डिसीले स्वास्थ्य स्वयम्सेविकाबाट नगरबासीलाई समुदायस्तरमा पुगेर सेवामा साथ दिएकै कारण स्वस्थ नागरिक बनाउन सहयोग मिलेको बताइन् । नागरिक स्वस्थ भए मात्रै समाज स्वस्थ हुने र यसले राष्ट्रलाई समृद्धिको यात्रामा सहज हुने भन्दै स्वास्थ्य स्वयम्सेविकाको मिहिनेत प्रशंसनीय रहेको उनले बताइन् ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख कुँवरले सरकारले अघि सारेको स्वास्थ्य सूचकलाई पूरा गर्ने कार्यमा समुदायस्तरमा पुगेर नागरिकको स्वस्थतामा भूमिका खेल्दै आएका स्वयम्सेविकाको काम महत्वपूर्ण रहेको बताए । त्यस अवसरमा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले पालिका भित्रको स्वास्थ्यको अवस्था सुधारमा महिला स्वास्थ्य स्वयम्सेविकाले खेलेको भूमिकाले ठुलो सहयोग भएको बताएका थिए । दिवसको अवसरमा स्वयम्सेविकाले आफूहरूको योगदानको उचित मूल्याङ्कन गर्दै सामाजिक सुरक्षाको दायरा बढाउन, विभिन्न शीर्षकमा वित्तीय सेवा उपलब्ध गराउनु पर्नेलगायत १० बुँदे माग राखेका छन् । उनीहरूले स्वास्थ्य स्वयम्सेविकालाई सामाजिक सुरक्षाको दायरामा ल्याउन, चाडपर्वको भत्ता १० हजार रुपैयाँका दरले उपलब्ध गराउन, जीवन बिमाको व्यवस्था लागु गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गरेका छन् ।
यसैगरी अभियान भत्ता, राष्ट्रिय कार्यक्रमवापत दिँदै आएको रकम चार सयबाट बढाएर एक हजार रुपैयाँ पु¥याउन, सेवा अवकाश हुँदा निजामती कर्मचारी सरह न्यूनतम एकमुष्ठ रकम उपलब्ध गराउन, स्वास्थ्य बिमाको व्यवस्था आजीवन गराउन, समयसापेक्ष स्वास्थ्यसम्बन्धी तालिम दिन र उपकरणको व्यवस्था गर्न माग गरेका छन् । दिवसको अवसरमा पालिकाले उमेर हदका कारण अनिवार्य अवकाश भएका ४२ जना स्वास्थ्य स्वयम्सेविकालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सेवा निवृत्त हुनुभएकाहरुलाई पालिकाले नगद २० हजार समेत उपलब्ध गराएको छ । अब उनीहरूलाई प्रदेश सरकारबाट ५० हजार र संघ सरकारबाट २० हजार रुपैयाँ उपलब्ध हुने बताइएको छ । घोराही उपमहानगरपालिकामा २ सय ३२ जना महिला स्वास्थ्य स्वयम्सेविका कार्यरत रहेका छन् । स्वास्थ्य स्वयम्सेविका नगर समिति उपाध्यक्ष माया चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवा आचार्यले गरेकी थिइन ।