हिंसा अन्त्य गर्नका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने

गोरक्ष समाचारदाता
तुलसीपुर,२० मंसिर । लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नु पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलवार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा तुलसीपुर वडा नं. ४ को समन्वय र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरको साझेदारीमा तुलसीपुर–४ स्थित घोरानेटीमा भएको लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रममा बोल्ने वक्ताले हिंसा न्यूनिकरण गर्न सबै निकायका व्यक्ति जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिएका हुन् ।

एनएबिपी नर्वेको आर्थिक हयोगमा भएको कार्यक्रममा लैङ्गिक हिंसाका घटना बढदै गएकाले जनचेतनामूलक कार्यक्रमसँगै व्यवहार परिवर्तन हुनसके मात्र लैङ्गिक हिंसा न्यूनिकरण गर्न सकिने उनीहरूको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तुल्सी थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले हिंसारहित समाज निमार्णका लागि सबै छोरी शिक्षित हुनु पर्ने र हरेक घरबाट लैङ्गिक समानताको सुरुवात गर्नु पर्नेमा जोड दिएकी थिइन् । उनले जबसम्म सबै छोरी शिक्षित हुदैनन् तबसम्म समाजमा लैङ्गिक विभेद् कायमै रहने तर्क गरिन् । उनले स्थानीय सरकार लैङ्गिक हिंसा न्यूनिकरण गर्न प्रतिबद्ध रहेको बताइन् । हिंसालाई अन्त्य गरेर मात्र समतामूलक समाज निर्माण गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्यद्वय कुमारी विक, नारायणी पुनले लैङ्गिक हिंसा हटाउन घरबाटै महिला र पुरूष दुवैले भूमिका खेल्नु पर्ने धारणा राखेका थिए । राप्ती आँखा अस्पतालका निमित्त प्रसाशक शालिकराम गौतमले राप्ती आँखा अस्पतालले सन् २०१९ देखि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गदै विभिन्न हिंसामा पीडिललाई उपचार सेवा दिएको बताएका थिए ।

उनका अनुसार हालसम्म एक सय ३ जना हिंसा पीडित उपचार सेवा लिन आएको तथ्याङ्क पेश गरेका थिए । अस्पतालमा पहिलो वर्षको तुलनामा यस वर्ष हिंसा पीडितको सङ्ख्या घट्दो क्रममा छ । तथ्याङ्क अनुसार पहिलो वर्ष २७ जना हिंसा पीडित आएका थिए भने यस वर्ष घटेर १३ जनामा झरेको छ । अस्पतालका प्रशासक गौतमका अनुसार यी मध्ये श्रीमान्बाट पीडित भएका महिलाको सङ्ख्या सबैभन्दा धेरै छ भने सासु–बुहारी र छिमेकी महिलाबाट पीडित भएका महिला रहेका छन् ।

कार्यक्रममा गोठीखोला प्रहरी चौकीका इञ्चार्ज भरतनाथ योगीले हिंसा पीडित महिला हिंसा लुकाएर बस्दा यसले विकराल रूप लिएको बताएका थिए । उनले जबसम्म हिंसा पीडित व्यक्ति बाहिर आउन सक्दैन तबसम्म हिंसा न्यूनिकरण गर्न नसकिने बताए । उनले सभ्य समाज निर्माण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत टोल–टोलमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । नेपाल नेत्र ज्योति संघ दाङका सदस्य प्रणवकुमार खड्का, दीप ज्योति आधारभूत विद्यालयका अध्यक्ष खडका डाँगी, प्रध्यानाध्यापक मानबहादुर वलीले लैगिङ्गकताको आधारमा कसैले कसैलाई भेदभाव गर्न नपाइने बताएका थिग ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत सहित हिंसाको प्रकार आफूहरूले प्रवाह गर्ने सेवाबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।