समाजको कुरुप तस्विर

भुवन पोख्रेल
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो अभियान नेपाललगायत विश्वभरी नै मनाइँदै आएको छ । संयुक्त राष्ट्रसंघको आछानमा २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्मका १६ दिनलाई प्रत्येकवर्ष लैंगिक हिंसा विरुद्धका १६ दिने अभियानका रुपमा मनाइँदै आइएको छ । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्वदेखि मृत्यु नहुञ्जेलसम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरु र दूव्र्यवहारलाई बुझाउँछ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गरिन्छ । यसले समाज विकासको क्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभव पारिराखेको हुन्छ ।

खासगरी महिलाको जैविक बनावटलाई आधार बनाएर समाजले महिलालाई गर्ने व्यवहारले हरेक महिलाको प्रगतिको बाधक बनिरहेको अवस्था रहेको छ । परम्परागत मूल्यमान्यताका आधारमा गरिने हिंसाका कारण महिला बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिला संख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा सांस्कृतिकलगायत मानव अधिकारका आधारभूत अधिकारबाट महिला बञ्चित छन् ।

वर्षेनि मनाइने १६ दिने अभियानले महिला सशक्तिकरण र जागरणको स्तरमा वृद्धि गराउँदै महिला लैंगिक हिंसा विरुद्धको आवाजलाई बुलन्द बनाउन यसले सहयोग पु¥याउँछ । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । महिलामाथि हुने हिंसा लैंगिक समानता हासिल गर्ने बाटोको तगारो हो । महिला विरुद्ध हिंसा मानव अधिकारको उल्लंघन हो । समाजमा, विद्यालयमा कार्यस्थलमा र आफ्नै घरभित्र पनि महिला तथा बालबालिकाले विभिन्न प्रकारका हिंसा भोग्दै आइरहेका छन् । महिला भएकै कारण एउटा व्यक्तिले शारीरिक हिंसा जस्तै कुटपिट, अंगभंग, बलपूर्वक गर्भपतन, हेप्ने, गालीगलौज गर्ने, भेदभाव गर्ने, थुन्न्े, जलाउने, कार्य बोझ थोपर्ने आदि सहनुपर्दछ । त्यस्तै मानसिक हिंसा पनि महिला भएकै कारण खप्नुपर्छ, जस्तै ः होच्याउने, धम्की दिने, हेप्ने गाली गलौच, भावनात्मक चोट, झुटा, आरोप, बेइज्जती गर्ने जस्ता कुरा मानसिक हिंसाभित्र पर्दछन् ।

महिला भएकै कारण पनि महिलाको अनुमति बिना यौनजन्य हिंसा भइरहेका हुन्छन् । जस्तै योनजन्य दूव्र्यवहार, यौन यातना, यौन शोषण, बलात्कार, हाडनाताकरणी, जर्वजस्तीकरणी, वैवाहिक बलात्कार, मानव बेचविखन र ओसारपसार आदि यौनजन्य हिंसाभित्र पर्दछन् । त्यस्तै महिला भएकै कारण आर्थिक हिंसामा परेको देखिन्छ । महिलालाई आर्थिक स्रोत साधनबाट बञ्चित गर्नु, महिलाको स्वीकृति र सहमति बेगर सम्पत्तिको दुरुपयोग गर्नु, महिलालाई रोजगारी गर्न नदिनु, राज्यले विभेदपूर्ण कानुनको निर्माण गर्नु पनि महिला हिंसा नै हो ।

महिला विरुद्ध सामाजिक हिंसा पनि भएको देखिन्छ । छोरीलाई अर्काको घर जाने नोसोको रुपमा हेर्ने, बालविवाह, बहुविवाह, जर्वजस्ती विवाह, ढाटी विवाह, घरेलु हिंसा, दाइजो जनित हिंसा आदि सामाजिक हिंसाभित्र पर्दछन् । राजनीतिक रुपमा पनि महिला हिंसामा परेका हुन्छन् । परिवारबाट महिलालाई राजनीतिमा प्रवेश गर्न रोक लगाउने, राजनीतिमा महिलाको न्यून सहभागिता गराउने, पुरुष नै शासक हुनुपर्छ भन्ने पूरातन सोच, महिलालाई प्रमुख पद पुग्न पनि नदिने र पुगिहाले पनि टिक्न नदिने सर्कीण मानसिकता पनि महिला सशक्तिकरणका बाधकतत्व हुन् ।

महिला भएकै कारण भोग्नुपर्ने हिंसामध्ये प्रथा–परम्पराजनित(सांस्कृतिक) हिंसा पनि पर्दछ । बोक्सीको आरोपमा कुटपिट, गाउँ निकाला, सामाजिक बहिस्कार, मलमुत्र खुवाउने, मानसिक यातना दिई बेइज्जत गर्ने, महिनावारी हुँदा अछुतको व्यवहार गर्ने, छाउपडी प्रथा, सुत्केरी हुँदा पनि घरमा नराखी गोठमा राख्ने, रजस्वला नभई विवाह गर्दा पुण्य पाइन्छ भन्ने मान्यता, देउकी प्रथा, झुमा प्रथा, जारी आदि प्रथाका कारण पनि महिलामाथि हिंसा भएको छ । महिला भएकै कारण राज्य निर्मित कानुनमा महिलालाई भेदभाव गर्नु नागरिकता दिन र लिन कानुनी विभेद र व्यवहारमा कठिनाई पार्नु, छोरा सरह छोरीलाई शिक्षाको पहुँच नहुनु, महिलाको स्वास्थ्य उपचारमा लापरवाही आदि कारण पनि महिलाले हिंसा भोग्नु परेको छ ।

महिला हिंसा विरुद्ध कानुन बने पनि कार्यान्वयनको समस्या भोग्नु परेको छ । कानुन आइसकेपछि सरकारले नै सरल र उत्कृष्ट भाषामा उनीहरुको अधिकार र कर्तव्यका बारेमा पनि सपना सम्प्रेषण गर्नुपर्छ । कसरी नागरिकले सूचना सजिलै ग्रहण गर्न सक्छ त्यसरी नै प्रवाह गर्नुपर्छ । अधिकांश महिला शिक्षित छैनन् उनीहरुलाई कानुन, ऐन, संविधानमा महिलाका सवालमा कस्तो व्यवस्था छ जानकारी छैन । महिलाले जन्मेपछि मात्र नभई गर्भबाट नै हिंसा भोग्नुपरेको छ । कतिपय अवस्थामा महिलाको गर्भ जाँच गरी छोरी भएको पत्ता लागे जर्वजस्त गर्भपतन गरिन्छ । यसका लागि कानुनी व्यवस्था त ल्याइएको छ तर हिंसा न्यूनीकरण हुन सकेको छैन । यसका लागि बनेको कानुनबारे कतिपय नागरिकलाई जानकारी छैन । महिलालाई सम्मानजनक व्यवहार गर्नु भनेको उनको आत्मसम्मानको कदर गर्नु हो ।

महिला हिंसा समाजको त्यो कुरुप तस्विर हो जसले महिलालाई मान्छेका रुपमा सामान्य अधिकारको उपभोगबाट पनि बञ्चित बनाइरहेको हुन्छ । हामी अहिले विज्ञान र प्रविधिको युगमा छौ । जटिलभन्दा जटिल काम पनि प्रविधिको माध्यमबाट निकै सरल र सहज ढंगले फत्ते भइरहेका छन् तर यही प्रविधिको युगमा महिलामाथिको हिंसाको प्रकृति र प्रवृति भने झनझन चरम र निकृष्ट तरिकाबाट हुँदैछ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १ ले भन्छ, ‘सबै नागरिक जन्मजात र मर्यादा तथा अधिकारमा समान हुन्छन्’ तर विडम्बना नेपाल मात्रै हैन विश्वका कुनै पनि देश महिला हिंसा मुक्त हुन सकेका छैनन् । सबै महिला हिंसाको उच्च जोखिममा छन् ।

संसारभरका ३५ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित छन् । एक तथ्याङ्कअनुसार विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य वा पार्टनरबाट मारिन्छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोगेकै हुन्छ । पितृसत्तात्मक सामाजिक संरचना हानिकारक मूल्यमान्यता र गलत संस्कृतिका कारण महिलाले दोस्रो दर्जाको नागरिक भएर जिउन बाध्य छन् । लैंगिक हिंसाको कारण महिलाको मानसिक र प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्दछ । महिलालाई सामाजिक र आर्थिक रुपमा सशक्त नबनाउँदासम्म उनीहरुमाथि परिवार र समाजका सदस्यबाट हुने हिंसा अन्त्य गर्ने अवस्था सिर्जना हुन सक्दैन ।

चरित्र हत्या गरिएका कारण, दाइजो कम ल्याएको भन्दै दैनिक रुपमा यातना दिएका कारण, जर्वजस्ती विवाह गरी शारीरिक तथा मानसिक हिंसामा परेका कारण, बलात्कारको सिकार भएको कारण पनि महिलाले आत्महत्या गरेका छन् । घरभित्र होस् वा बाहिर आफ्नाबाट होस् वा पराइबाट, महिलामाथि जुनसुकै प्रकारको हिंसा भए पनि त्यसको असर महिलाको शरीरमा पर्ने अध्ययनको निष्कर्षले देखाएको छ । हिंसा प्रभावित महिलाको पीडकसँगको सम्बन्धलाई विश्लेषण गर्दा महिला सबैभन्दा बढी श्रीमानबाटै जोखिममा छन् । कुल प्रभावितमध्ये ५१ प्रतिशत महिला आफ्नै श्रीमान्बाट, १९ प्रतिशत आफ्नै परिवाका सदस्यबाट १८ प्रतिशत छिमेकबाट, ७ प्रतिशत आत्मीय व्यक्तिबाट हिंसामा परेका छन् ।

पितृसत्तात्मक सामाजिक संरचना, हानीकारक मूल्यमान्यता र गलत संस्कृतिका कारण महिलाले दोस्रो दर्जाको नागरिक भएर जिउन बाध्य छन् । सामाजिक रुपले मान्यता प्राप्त विवाह संस्थाभित्र आधाभन्दा बढी महिला आफ्नै जीवनसाथीबाट हिंसाको भारमा पर्नु पक्कै पनि चिताको विषय हो । जन्मिदै पुरुषवादी संरचनाको छत्रछायामा हुर्के बढेका श्रीमान् (पुरुष) ले महिलालाई विवाह संस्थाप्रतिको विश्वास र मर्यादामाथि नै प्रश्न उठेको छ । समाजमा जस्तोसुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकिएको छैन ।

महिलामाथि हुने हिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथि स्वामित्व स्थापित गरी कुरीति र कुसंस्कारको रुपमा रहेको विधुवा प्रथा, घुम्टो प्रथा, बाल तथा अनमेल विवाह, दाइजो प्रथाको अन्त्य गरिनुपर्छ । त्यसका लागि महिला हिंसा विरुद्ध बनेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिला हिंसा विरुद्धको कडा कानुन निर्माण, दाइजो दिने वा लिनेलाई कडा कारवाही गरी कुनै पनि खाले भेदभाव विरुद्ध दण्ड र सजायको व्यवस्था हुनसके मात्र महिलामाथि हुने हिंसा कम गर्न सकिन्छ ।

छोरा सरह छोरोलाई पनि शिक्षा र स्वास्थ्यमा पहुँच उपलब्ध गराउनु पर्दछ । हिंसा घरबाटै उत्पन्न हुने गरेको छ र यसको न्युनीकरण घरदैलोबाटै महिला र पुरुष मिलेर गर्नुपर्दछ । महिलाले पनि आफूलाई साँघुरो घेराभित्र राख्न खोज्नु हुँदैन । पितृसत्तात्मक सोचले गाँजेको समाजमा सकारात्मक सोचको सञ्चारका लागि महिला एकजुट हुनुपर्दछ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, कुटपिट, घर निकाला, अपहेलित, परिवारका सदस्य मिलेर हत्या गर्ने, यातनाको सिकार, सम्बन्ध विच्छेद, बहुविवाह जस्ता सामाजिक विकृतिको माध्यमले महिला हिंसा बढेको छ । सानो उमेरमा विवाह हुनु, अशिक्षित हुनु, आर्थिकस्थिति कमजोर हुनु, दण्डहीनता बढ्नु जस्ता कारणले महिला हिंसा बढेको छ ।

प्राचिन समयदेखि नै बलात्कार, यौन हिंसा तथा घरेलु हिंसा जस्ता अनेकौँ महिला विरुद्धका हिंसा हुँदै आएको पाइन्छन् । नेपाली समाज पुरुष प्रधान समाज हो । यहाँ परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाइजो नल्याएका कारण यातना सहनुपर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुविवाह, देहव्यापार, गरिबी, बेरोजगारी, मानसिक यातना गाली गलौज, जर्वजस्तीकरण, वैवाहिक बलात्कार बहुविवाह, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामाकरणी, वैदेशिक रोजगारीको नाममा ठगी, यौन शोषण, अत्यधिक काम, यौन दुरुत्साहन, यौन शोषणलगायतका हिंसाले नेपाली समाज अछुतो रहेको छैन । राज्यको संरचनाले नै महिलाको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरुष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउन नसकेको हो ।

रुढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्यमान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिनु, समान अवसरबाट बञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलता र शरीरमाथि अरुले नियन्त्रण गर्ने प्रवृतिका कारण पनि महिलामाथि हिंसा भएको अवस्था छ । महिला सशक्तिकरण भनेको महिलाका अधिकार र कर्तव्यको ग्यारेन्टि गर्दै उनीहरुलाई ती अधिकार र कर्तव्यहरुको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पु¥याउनु हो । देशको समग्र विकासका लागि आधा आकाश ओगटेका महिला र पुरुष दुवैको समान विकास हुनुपर्दछ । देशको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक स्रोतमा महिला जनशक्तिको पहुँच बढाउन सकेमा मात्र न्यायिक र सन्तुलित विकास सम्भव छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा महिला सशक्तिकरणको प्रयासहरु थालिएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा महिला आरक्षणका प्रयासहरु गरिएका छन् । त्यसैगरी कानुनमा भएका विभेदहरुलाई अन्त्य गर्ने प्रयासहरु पनि अघि बढेका छन् । महिलाका सवालमा थुप्रै प्रयासहरु गरिए पनि चुनौती पनि त्यतिकै छन् महिला सशक्तिकरणका अशिक्षा, परम्परागत सामाजिक मूल्यमान्यताले महिलालाई तल्लोस्तरमा राखेको छ । महिलको निर्णय प्रक्रियामा पहँुचमा कमी, महिला हिंसा, नीतिको कार्यान्वयन नहुनु महिला सशक्तिकरणका चुनौती हुन् ।

यद्यपि महिलालाई असमान ज्याला, काममा भिन्नता आरामदेखि, खानेकुरासम्मका उच, निच जस्तो व्यवहार पूर्ण त बन्द हुन सकेका छैन तर पछिल्ला परिवर्तनहरुले नेपालमा महिलालाई विशेष अधिकार प्रदान गरेको छ । यो प्राप्तिको कुरा हो तर सन्तुष्टि मान्ने ठाउँ होइन । विश्वव्यापिकरणको आजको युगमा महिलाका सर्वागिण पक्षको विकास गर्न महिला हिंसा हट्नुपर्छ । हरेक क्षेत्रमा महिला सहभागिता निसर्त हुनुपर्छ र महिलाको स्थितिमा परिवर्तन हुनुपर्छ ।