नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले चुनावका बेला गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको छ । चुनावमा कांग्रेस आफ्नै सिद्धान्त लिएर मतदाता समक्ष पुग्नु पर्ने भन्दै गठबन्धनको विपक्षमा रहेको लुम्बिनी कांग्रेसले गठबन्धन कांग्रेसका लागि आवश्यक नभएको निष्कर्ष निकालेको हो । तर केन्द्रीय तहबाट हुने गठबन्धनलाई प्रदेशको प्रस्तावले कसरी रोक्न सक्ला त ? गठबन्धन किन गर्न नहुने ? केन्द्र तहबाट हुने गठबन्धन रोक्न प्रदेश सम्मेलनको प्रस्ताव पारितले निर्णायक भूमिका खेल्न सक्ला त ? यसै विषयमा केन्द्रित रहेर लुम्बिी प्रदेश कांग्रेस सभापति अमरसिंह पुनस“ग गरिएको कुराकानी ।
चुनावका बेला गठबन्धन गरिनु हुन्न भनेर प्रदेश सम्मेलनले प्रस्ताव पास गरेको छ, गठबन्धन किन आवश्यक नभएको हो ?
पहिलो कुरा पार्टीको आफ्नै विचार छ, सिद्धान्त छ । त्यसैले चुनावका बेला पार्टीले आफ्नो विचार र सिद्धान्तका आधारमा एजेण्डा लिएर जाने हो । यसर्थ अन्य दलसँग गठबन्धन गरेर चुनावमा जाँदा पार्टीले आफ्नो विचार र सिद्धान्तलाई बिर्सनु हुँदैन । हाम्रो पार्टीको विचार र सिद्धान्त आम मतदाताले स्वीकार्लान् नस्वीकार्लान् त्यो फरक कुरा भयो तर जनता माझ हाम्रो सिद्धान्तलाई लगेर जानु त प¥यो नि ! फेरि विगतको निर्वाचनमा भएको चुनावी गठबन्धनलाई हे¥यौँ भने पनि गठबन्धन कांग्रेसको कोणबाट हेर्दा सफल भएको मान्न सकिन्न । फरक पार्टीको चुनाव चिह्नमा मत हाल्नका लागि अहिले कांग्रेसी साथीहरूलाई असहज भएको परिस्थति पनि बन्यो ।
यसर्थ पनि कांग्रेसका साथीहरूलाई पारिएको यो अप्ठेरोबारे पनि पार्टीले सोच्नु पर्छ । अर्को कुरा के हो भने नेपाली कांग्रेस आफैमा शक्तिपूर्ण राजनीतिक दल हो । आम निर्वाचनमा भिड्न कसैसँग तालमेल वा गठबन्धन गर्नु जरुरी छैन । कसैको सहारा लिनु पर्ने आश्यकता छैन । फलतः आगामी निर्वाचनमा फरक राजनीतिक दलसँग गठबन्धन गरिनु हुन्न भन्ने प्रस्ताव सम्मेलनले पारित गरेको हो तर गठबन्धन गर्ने पर्ने स्थान वा निर्वाचन क्षेत्रमा भने केही फरक ढङ्गबाट सोच्न सकिन्छ । देशैभरि गठबन्धन गरेर जानु भनेको त पार्टीको एजेण्डालाई समाप्त पार्नु जस्तै हो ।
केन्द्रीय तहबाट हुने गठबन्धनलाई प्रदेशको प्रस्तावले रोक्न सक्ला त ?
गठबन्धनको आवश्यकता र अपरिहार्यता कति ? भन्ने सन्दर्भमा प्रदेश तहमा मात्रै होइन, पार्टीको तल्लो इकाइले पनि सहजै बुझेको कुरा हो । पार्टीका तल्लो पङ्क्तिका सम्मेलनमा पनि मूलभूत रूपमा उठेको विषय भनेको गठबन्धन गरिनु हुन्न भन्ने हो । पार्टीका तल्लो तहका इकाइले उठाएको यो विषयमा पार्टी केन्द्रीय नेतृत्व गम्भीर बन्नु पर्छ र अहिले नेतृत्व तहका नेता पनि चुनावका बेला गठबन्धन गरिनु हुन्न भन्ने पक्षमा सहमत बन्दै गएको अवस्था छ । फेरि आम कांग्रेसीको जनभावनाविपरीतको निर्णय गरेर पार्टीलाई घाटा हुने काम नेतृत्वले गर्नु हुँदैन ।
पार्टीका कार्यकर्ताले नरुचाएको विषयमा निर्णय गरेर नेतृत्व तह जाने परिस्थति कदापि बन्ने छैन । फेरि प्रदेश सम्मेलनबाट पारित भएको यो प्रस्ताव मेरो व्यक्तिगत प्रस्ताव त हैन नि ! प्रदेश सम्मेलननमा उपस्थित सयौँ प्रतिनिधिको साझा दस्तावेज हो । यसर्थ पनि प्रदेश सम्मेलनको प्रस्तावलाई नेतृत्व तहले अस्वीकार गर्नु हुँदैन । लुम्बिनी प्रदेशबाट मात्रै होइन, हामी सातवटै प्रदेशका समितिमार्फत गठबन्धनको आवश्यकता छ कि छैन भनेर पार्टी नेतृत्वलाई बोध गराउने छौँ । अर्को कुरा हामीले पार्टीको नीति अधिवेशनमा हाम्रो सम्मेलनले पास गरेको प्रस्ताव पेस गर्ने छौँ । यो प्रस्तावलाई केन्द्रीय नीति अधिवेशनले स्वीकार्ने छ भन्ने हाम्रो विश्वास छ ।
यहाँले अघि भन्नुभयो कि कुनै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सकिएला भनेर, लुम्बिी प्रदेशको हकमा गठबन्धन गर्नु पर्ने कुनै निर्वाचन क्षेत्र वा जिल्ला देख्नु हुन्छ ?
छैन । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका कुनै पनि निर्वाचन क्षेत्रमा गठबन्धन गरेर जानु पर्ने अवस्था छैन । १२ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा कांग्रेस एकल रूपमा बलियो शक्तिका रूपमा उभिएको छ । कांग्रेस एक्लैले जनमत आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छ तर यसो भनिरहँदा कुनै शीर्ष नेता यहाँको कुनै पनि निर्वाचन क्षेत्रमा लड्नु पर्ने परिस्थिति बनेको खण्डमा सहज जितका लागि गठबन्धन गर्न सकिएला, यो फरक कुरा भयो । समग्रमा प्रदेशको कुनै पनि निर्वाचन क्षेत्रमा गठबन्धनको आवश्यकता छैन । मैले अघि पनि भनेँ मिलाउनै पर्ने अवस्था देखिएका निर्वाचन क्षेत्रमा गठबन्धन बनाएर संयुक्त रूपमा चुनावमा जान सकिएला तर देशव्यापी रूपमै गठबन्धन गरेर चुनावमा जानु हुँदैन । यो कांग्रेसीको अभिमतको खिलाफ हो ।
अहिले कायम गठबन्धन पनि गलत हो त ?
अहिले सरकार सञ्चालनका लागि गरिएको गठबन्धनलाई मैले गलत मान्दैन । मेरो भनाइ चुनावका बेला मात्रै गरिनु हुन्न भन्ने हो । अहिले कायम गठबन्धन राष्ट्रिय आवश्यकता हो । अहिले केही शक्ति अहिलेको व्यवस्थाको खिलाफमा सल्बलाउन खोजिरहेका छन् । मुलुकले प्राप्त गरेको यो व्यवस्थालाई निस्तेज पार्ने जसरी षड्यन्त्र भइरहेको छ, यसका लागि त सबै दल एक ठाउँमा उभिनु जरुरी छ र गठबन्धनको अपरिहार्यता अझ बढी छ । वैचारिक रूपमा दलका भिन्नता जे भए पनि राष्ट्रियताका सवालमा सबै एकै ठाउँमा उभिनै पर्छ तर चुनावका बेला भने आफ्नो सिद्धान्त बोकेर हामी मैदानमा उत्रनु पर्छ भन्ने मेरो भनाइ हो ।