विपिनका लागि नभएको ‘युद्धबिराम’
इजरायल हमास युद्ध
देवेन्द्र बस्नेत
दाङ, १७ मंसिर । कञ्चनपुरका किशोर जोशीलाई इजरायल हमास बिचको ६ दिने युद्धबिराम अवधिका प्रत्येक पलले नयाँ आशा जगाइरहे । यति मात्रै होइन, युद्धविरामको पहिलो दिनदेखि नै मनमा ठुलो शान्ति पैदा गरिरह्यो । हमासको पञ्जाबाट मुक्ति खोजिरहेका भाइ विपिनको रिहाइका लागि पुकार गरेका किशोर आफ्नो भाइको घर आगमन हुनेमा ढुक्क जस्तै थिए ।
६ दिने युद्धविरामका बेला हमासको नियन्त्रणमा रहेका इजरायलका नागरिक रिहा भए । प्रत्येक पल बिते, ६ दिन सकियो तर युद्धविरामका यी कुनै पनि दिन विपिन र उनको परिवारको अनुकूल भइदिएनन् । एक सय १० इजरायली बन्धक रिहाइ गरेको हमासले नेपालका विपिनलाई भने छोडेन । ६ दिने युद्धविरामका बेला समेत विपिन रिहा नभएपछि जोशी परिवारमा विपिनको आगमनको आश फेरि मत्थर बनिदिएको छ । ‘६ दिने युद्धविराम भयो, त्यो बेला भाइ रिहाइ भएर घर आउँछ भन्ने ठुलो आशा थियो’, किशोरले गोरक्षसँग टेलिफोनमा भने, ‘दशदिने युद्धविराम सकियो तर भाइलाई हमासले छोडेन, अब के हुने हो केही थाहा छैन ।’
हमास इजरायलबिचको युद्ध बिराम विपिन र उनको परिवारका लागि भइदिएन । युद्धविराम सकिएलगत्तै हमासले फेरि युद्ध थालेको समाचारले परिवारको मनमा चिसो पसेको छ । ‘फेरि वार सुरु भएको भनेर समाचार आइरहेका छन्’, विपिनका दाजु किशोर भन्छन्, ‘फेरि केही हुने हो कि भन्ने चिन्ताले सताइरहेको छ ।’ विपिन कुन अवस्थामा छन् ? परिवारलाई अत्तोपत्तो छैन । न त कुनै माध्यमबाट सम्पर्क नै हुन्छ न त कतैबाट यकिन जानकारी नै आउँछ । केही दिन अघि अस्पतालको एक भिडियोमा विपिन देखिएका थिए । यही भिडियोले परिवारलाई विपिन जीवितै रहेको भनेर ढुक्क हुने परिस्थति बनाइदियो । ‘हामीलाई त जिउँदो छ कि मृत्यु भइसक्यो भन्ने केही थाहा थिएन’, किशोर भन्छन्, ‘केही दिन अघि एउटा अस्पतालमा खिचिएको भिडियोमा भाइ देखियो र हामी ढुक्क भयौँ ।’
इजरायलको किवुज भन्ने स्थानमा तरकारी फार्ममा काम गर्ने र कृषि अध्ययनका लागि पुगेका थिए, विपिन । सुदूरपश्चिम कृषि विश्वविद्यालयमा अध्ययनरत उनी ‘सिक्दै र कमाउँदै’ कार्यक्रम अन्तर्गत विश्वविद्यालयमार्फत इजरायलको किवुज भन्ने स्थानमा पुगेका थिए । यो स्थान हमासले आक्रमणको तारो बनाएको थलोका रूपमा विपिनले बुझेनन्, न त परिवारलाई थाहा नै थियो । ‘किवुज भन्ने स्थान हमासले आक्रमण गर्न सक्ने जोखिमको ठाउँ होला भन्ने पहिले थाहै भएन’, विपिनका दाजु किशोर भन्छन्, ‘नत्र त्यो ठाउँ असुरक्षित भन्ने थाहा भएको भए त्यहाँ नबस्न भन्थ्यौँ ।’
१९ असोजमा विपिन बसेको किवुजमा एक्कासी बमबारी भयो । बिहान ९ बजेतिर भएको हमासको पहिलो आक्रमणबाट विपिन जोगिए । यता हमासले किवुजमा आक्रमण गरेको भन्ने समाचार परिवारले थाहा पायो । मध्याह्न १२ बजेतिर दाजु किशोरले विपिनलाई भिडियो कल गरे । विपिनले खाना खाँदै थिए । ‘उसले खाना खाँदै थियो, आफू बसेको स्थानमा आक्रमण भएको र आफू सुरक्षित छु भनेको थियो’, किशोरले भने, ‘छोटो कुराकानी गरेर उसले फोन काटेको थियो ।’ परिवारका अनुसार दोस्रो आक्रमणको मारमा विपिन परेछन् । विपिन बसेको स्थानमै छिरेका हमास समूहका लडाकुले विपिन सहित धेरैलाई त्यहाँबाट बन्धक बनाएर लगे । ‘दोस्रो पटक फेरि आक्रमण भएछ, भाइ बसेको स्थानमा हमासका लडाकु पसेर भाइलाई नियन्त्रणमा लिएका रहेछन्’, किशोरले भने, ‘जति फोन सम्पर्क गर्दा पनि फोन लाग्दै लागेन, त्यो बेला पक्कै केही भएकै हुनुपर्छ भन्ने लाग्यो ।’
युद्धविराम सकिएपछि विपिनको रिहाइको अनिश्चितता लम्बिएको छ । परिवारले सरकारसँग हारगुहार गरिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउद समक्ष विपिनको रिहाइका लागि अनुरोध गरिरहेको छ । सरकारले भने विपिनको रिहाइका लागि पहल गरिरहेको बताइरहेको छ । ‘रिहाइका लागि पहल भइरहेको मात्र भन्छ, सरकारले’, विपिनका दाजु किशोरले भने ‘कुटनीतिक पहल गरेर चाँडो भाइको रिहाइको व्यवस्था मिलाइदिए हुन्थ्यो ।’ सूदरपश्चिम विश्वविद्यालयमा कृषि विषयमा अध्ययनरत विद्यार्थीहरूको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत विपिन सहित विद्यार्थीहरूको समूहगत भदौ २६ मा इजरायल पुगेको थियो ।