Goraksha

National Daily

सेवा नै धर्म हो

नारायणप्रसाद श्रेष्ठ
सेवा नै धर्म हो । धर्म नै सेवा हो । यसैभित्र मानव चरित्र मुखरित भइरहेको हुन्छ । प्रत्येक मानव आत्माले सेवालाई नै परम उद्देश्य मानी आफूलाई समर्पित गरिरहेको हुन्छ । सृष्टिको सुरुदेखि मध्य र अन्त्यसम्म यही सेवाभावबाट मानिस गुज्रीरहेको पाइन्छ । जीवन र जगतलाई चिनाउने यही सेवा भावप्रतिको मानव सोँच नै जीवको उत्कृष्ट रचना भनी मानव समुदायलाई मूल्याङ्कित गरिएको पाइन्छ । जीवनको आधार भनेकै सेवामा आधारित जीवन चरित्र हो । जहाँ तन छ त्यहाँ सेवा छ, जहाँ सेवा छ त्यहाँ धर्म छ । जहाँ धर्म छ त्यहाँ चरित्र छ, जहाँ चरित्र हुन्छ त्यहाँ जीवन हुन्छ र जहाँ जीवन छ त्यहाँ समाज छ ।
यसरी जीवनको प्रत्येक क्षण र अंग–अंगमा सेवाभाव जागृत भइरहेको हुन्छ । जति पनि धर्मशास्त्रहरु छन् ती सबै यही सेवाभावबाट अभिप्रेरित भएको पाइन्छ । ईश्वरप्रतिको आस्थावान बनाउन सिकाउने पहिलो मन्त्र नै सेवा हो । जहाँ सेवा हुन्छ त्यहाँ ईश्वर प्रशन्न हुन्छन् भनिन्छ । वास्तवमा ईश्वर भनेको जीवनको त्यो आत्मा हो जहाँ निराकर रुपी मनको पवित्रताले समस्त सृष्टिको इतिहासलाई संरक्षण गर्दै आएको छ । प्रत्येकको मन मन्दिरभित्र विराजमान भएर जुन तत्वले मानव चरित्र निर्वाह गर्न उत्प्रेरित गरिरहेको छ त्यहीँ ईश्वर हो । जुन ईश्वरलाई प्रत्येक आत्माले भिन्न–भिन्न तरिकाले पुजेका हुन्छन् र परम्परादेखि संस्कारगत सामान्यता कायम गरी धर्मपरिपालन गरेका हुन्छन् ।
सामाजिक सद्भाव र मान्यतालाई कायम राख्दै जीवनलाई उपयोगी मार्गमा लैजाने हाम्रो संस्कृति भनेकै सेवा हो । युगको परिवर्तनसँगै बढ्दै गएको मानव आकाङ्क्षाले निम्ताएको विकृति र विसंगति नै मानव जीवनको गलत आचरण भएको कारण नै मानव निर्मित बिलासिताले प्रकृतिमाथि धावा बोलेको पाइन्छ । प्रकृति आफैमा सुन्दर हुँदाहुँदै कृतिम र बनावटी सुन्दरतामा रमाउन चाहने केही गलत आचरणले मानव समुदाय आफैमा पीडित बन्न पुगेको इतिहास भर्खर देखा परेको अवस्थाले प्रष्ट्याएको छ ।
मौलिक संस्कृति र संस्कारलाई छोरी क्षणिक बासनामा  रमाउने मानव चरित्रबाट नै मानव संस्कृतिमा आँच आउन थालेको छ । सेवाको यो नाममा देखाइने अहंकारी सोच र विकृतिबाट नै मानव चेतनामा पर्दा लाख्न पुगेको कारण मानिस स्वार्थी बन्न थालेको इतिहासले बताउँछ । सेवा र सद्भाव दया र आनन्दको सिन्धु हो । यो आफैमा निर्गुण र निराकर भएर प्रत्येक मानव आत्मा विराजमान छ । जसबाट मानिस आत्मामा विराजमान छ । जसबाट मानिस परिचालित छ । उसको तन, मन एकैसाथ मुखरित भइरहेको छ ।
यस्तो अवस्था हुँदाहुँदै पनि हाम्रो संस्कृति र मर्यादालाई क्षणिक स्वार्थले लुटपुट्याएको छ । संस्कृति र संस्कारमाथि चुनौती दिँदै समाज विकृतितर्फ उन्मुख भएको छ । त भन्दा म के कम । मेरो हैसियत तेरोभन्दा उच्चको छ । म सृष्टिको उत्कृष्ट रचना हुँ भनी आफूले आफैमा विरोधापूर्ण व्यवहार गर्न मानिस उद्धत भइरहेको छ । तसर्थ जीवन कसको लगानी हो ? आफ्नो हो वा अरुको सेवाका लागि सृष्टिको रचना भएको हो ? यो कुरालाई मध्यनजर राखी तथा जीवनको उत्पत्तिको कारण बुझी सबैले आफूले आफैलाई र अरुलाई दिनुपर्ने सेवा र सद्भाव दिन जान्न सक्नुपर्दछ । तबमात्र जीवनले सार्थकताको बाटो पहिचान गरेको मान्निछ ।
 मानव सेवा नै माधव सेवा हो । यही सेवा जीवन हो भनी मानी हरेक पवित्र मनले आफूलाई समर्पण गर्नुपरेको छ । जसले जहाँ जुन परिस्थितिमा जेजस्तो सेवा प्रदर्शन गर्न सक्दछ त्यसरी नै सेवा नै परमोधर्म भनी जीवनलाई समर्पण गर्नुपरेको छ । श्रद्धाभक्ति र विनम्रतापूर्वक प्रत्येक जीवात्मालाई अर्को जीवात्माले पु¥याउनुपर्ने सेवा पु¥याउन सक्नु परेको छ । लगन र इमान्दारीपूर्वक जीवनलाई उसको चरित्र निर्वाह गर्ने पवित्र मार्गमा उत्प्रेरित हुन उत्साह जगाउनु परेको छ । यो धर्ती र यहाँ फुलेका प्रत्येक सोन्दर्य हाम्रा गहना हुन् । हामी यसैका उपज हौँ र हाम्रा भावी सन्तती पनि यही आदर्श बोकी आफ्नो मानवीय पहिचानलाई अघि बढाउन सकुन् भनी वर्तमान समयमा देखिएको दुःखद् परिस्थितिको सामना गर्न सेवा हाम्रो उद्देश्य हो भन्ने नाराका साथ होष्टेमा हैशे गर्न प्रत्येक आत्माले हामीलाई आह्वान गरिरहेको छ । हामी यस बखत् त्यसैमा इमान्दारिता देखाउन अघि बढ्नु परेको छ । चहराइरहेको घाउमा मल्हमपट्टी लगाउन आफूलाई समर्पण गर्नु परेको छ ।
हालै २०८० कार्तिक १७ गते ११ः ४७ बजे आएको विनाशकारी भूकम्पको कारण नेपालको पश्चीम क्षेत्र निकै पीडित बन्न पुग्यो । जनधनको क्षति भयो । त्यस्तो अवस्थामा प्रत्येक आत्माले दुःखमा परेको त्यो आत्मलाई सहयोग र सहकार्य गर्नु परेको छ । त्यो विपत्ति उसको होइन हाम्रो हो र यस्तो दुःखद् क्षण जो कोहीलाई पनि पर्न सक्छ भनी आफूले आफूलाई र आफ्नो परिवेशलाई तिनकै सेवामा समर्पित गर्नु परेको छ । मानव जीवनको त्यो पवित्रतालाई उद्घोष गर्दै मानवीय चरित्रको पहिचान दिन सक्नु परेको छ । क्षणिक शारीरिक परिश्रमलाई प्राथमिकता नदिई मानवीय चरित्रको आदर्शलाई सम्झी मन, बचन र कर्मले सेवाभावमा उत्रनुपरेको छ । मैले गरे सबै हुन्छ ।
मैले नगरे कसले गर्छ, अहिले नगरे कैले गर्ने ? भन्ने प्रत्येक आत्मामा चिन्तन जगाइ सिँगो मानव सागर मानवमा परेको कष्ट र व्यथालाई कम गर्न एकताबद्ध भएर अघि बढ्नु परेको छ । एकले सबैलाई र सबैले एकका लागि भनी विश्वासको वातावरणलाई बलियो बनाइ यो संकटको घडीमा सबै एक हुनु परेको छ । सेवामा बाच्न चाहेको मानव सचेतनालाई सेवाभावमा समर्पित गरी विश्वास र लगनका साथ कर्म क्षेत्रमा उत्रनु परेको छ । अहिलेको आवश्यकता भनेको चहराइरहेको घाउमा मलहमपट्टी लगाउनु रहेको छ । यसैमा सबै लागि परौँ । सेवा नै जीवन हो भनी आफूलाई समर्पण गरौँ । पाठकभित्र आजलाई यति ।