Goraksha

National Daily

भूकम्प प्रभावित क्षेत्रमा परिवार नियोजन संघ स्वास्थ्य सिविर

दाङ, ११ मंसिर । नेपाल परिवार नियोजन संघ दाङले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल परिवार नियोजन दाङ शाखाको आयोजनामा आईपिपिएफएसपी आरइएनटी परियोजनाको सहयोग र भेरि नगरपालिका जाजरकोटको ब्यबस्थापन सहयोगमा भेरी नगरपालिका–४ बोहोरा गाउँमा १ दिने बृहत प्रजनन स्वास्थ्य शिबिर गरेको हो ।

शिविरमा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भूकम्पले प्रभाबितहरुको घाउमा मल्हम लगाउनको लागि परिवार नियोजन संघले निभाएको भूमिकाप्रति आभार प्रकट गरेका थिए । नगर प्रमुख घर्तीले शिविर पालिकाका अति प्रभाबित वडा १, २ र ३ मा पनि सञ्चालन हुन गैरहेकोले सम्बन्धित वडावासीलाई सेवा लिन आग्रह गरेका थिए ।

नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनाल बिपद्को समयमा प्रजनन स्वास्थ्य सेवा को महत्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए । शिबिरमा लैङ्गिक हिंसा , गर्भबती महिला, सुत्केरी महिला ,किशोरकिशोरीलार्इ प्रजनन स्वास्थ्य सम्बन्धि सेवा र परामर्श, यौन रोग तथा एचआइभि एडस सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा, पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवालगायतका सेवाहरु प्रदान गरिएको थियो ।

भूकम्पबाट अति प्रभाबित क्षेत्रहरु जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँ पालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानी भेरी नगरपालिकामा सञ्चालन गरिन लागेको नेपाल परिवार नियोजन दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन । शिबिरमा नेपाल परिवार नियोजन संघबाट स्त्री रोग बिशेषज्ञ डा हेमा छन्त्यालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरिरहेको छ । कार्यक्रमको सञ्चालन भेरी नगर पालिकाका स्वास्थ्य संयोजक खेम पुनले गरेका थिए ।