मेरो खुशी : अम्वापुरका च्याउखेती गर्ने महिला …

ती महिलाको मैले एउटा समाचार तयार गरेँ, जसले सामूहिक रूपमा च्याउखेती सुरु गरेका थिए, घोराहीको अम्बापुरमा । जुन समाचार दाङबाट प्रकाशित हुने राप्ती सन्देश साप्ताहिक पत्रिकामा छापिएको थियो । समाचारको शीर्षक थियो, ‘अम्बापुरका महिला सामूहिक च्याउखेतीमा’ पत्रिकाका प्रकाशक थिए, दाङ जिल्लाकै पुराना बरिष्ठ पत्रकार रामप्रसाद शर्मा । सम्पादकमण्डलमा मुरारी शर्मा र केपी घिमिरे हुनुहुन्थ्यो ।
त्यो समाचार विसं २०५४ सालको माघ महिना थियो । गते मलाई अहिले याद भएन, सोमवारको दिन थियो । जुन दिन नेपाल प्रेस युनियनको केन्द्रीय अधिवेशन पनि दाङको जिल्ला विकास समितिको प्राङ्गणमा उद्घाटन भएको थियो । प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । सयौँ पत्रकारको सहभागितामा मेरो राप्ती सन्देश साप्ताहिकमा छापिएको त्यो समाचार धेरै पत्रकार सामु छरपष्ट भयो । जुन समाचार मेरो पहिलो बाइलाइन समाचार थियो । जसले मलाई पत्रकारितामा अग्रसर बनाएको थियो । लेखिदिनु होला मेरो अविस्मरणीय खुसी अम्बापुरमा च्याउखेती गर्ने महिला ।
यो अविस्मरणीय खुसीको क्षण हो, पत्रकार महिला तथा सामाजिक अभियन्ता लीला शाहको । त्यहीँ कारण अहिले उनी दर्जन बढी सञ्चार संस्थामा आबद्ध हुँदै हाल रेडियो हाइवेबाट पत्रकारितालाई निरन्तरता राखेकी छिन् । घोराहीबाट सुरु भएको पत्रकारिता अहिले विभिन्न केन्द्रीय सञ्चार माध्यम हुँदै रेडियोमा जारी छ । जुनबेला महिलालाई पत्रकारितामा लाग्नु भनेको फलामको चिउरा जस्तै थियो ।
महिलाले पनि पत्रकारिता गर्न सक्छन् र भन्ने समाजमा धारणा बनिसकेको थियो । ‘निकै चुनौतीपूर्ण थियो महिलालाई पत्रकार बन्न तर मैले सबै खाले चुनौतीको सामना गर्दै आएँ र अहिले यो स्थानमा पुगेकी छु’, पत्रकार लिला शाह भन्छिन् । अहिले त सञ्चारको सहजताले निकै सहज भएको छ पत्रकारिता । हामीले पत्रकारिता सुरु गर्दा सार्वजनिक टेलिफोन र सार्वजनिक पिसिओमा फ्याक्स सेवा मात्रै थियो । मैले निमाहल नजिकैको राप्ती सञ्चार सेवामार्फत् समाचार समाचार पठाउथेँ ।
त्यसै पत्रकारिताको निरन्तरताले मैले वर्ष नेपाल टेलिभिजनबाट पुरस्कृत पनि भएकी थिएँ, जुनबेला मैले नेपाल टेलिभिजनको दाङ सम्वाददाताको रूपमा पनि काम गर्थे । पुरस्कार लिन काठममाडौं बोलाइएको थियो तर हामी जान नपाएकाले पुरस्कार यहीँ पठाइदिएका थिए । त्यो पुरस्कारले पनि मलाई पत्रकारितामा थप हौस्यायो र पत्रकारितालाई अझै पनि उत्साहित भएर अघि बढाउँदै छु’, लीला भन्छिन् । त्यसो त उनका खुसीका अविस्मरणीय क्षण विद्यालय शिक्षाको समयमा पनि नभएका होइनन् । उनी करिब ८ वर्षको उमेरकी थिइन् त्यो बेला ।
रामपुरको गंगा माध्यमिक विद्यालय रामपुरमा पढ्दै गर्दा हाफ छुट्टीको समयमा महिलाले घरबाट लगेको अम्चुर लुकेर खान्थे । अम्चुर खान स्कुल नजिकैको बासघारीमा लुक्थे उनीहरू । एक दिनको कुरा हो, उनीहरूले बासको घारीमा छेकिएर अम्चुर खाँदै गर्दा एक जना शिक्षक पनि उनीहरूलाई पछ्याउँदै त्यहीँ पुगे ।
‘उहाँले हामीलाई निकै हकार्नुहुन्छ भन्ने डर लागेको थियो तर उहाँ त हामीले सधै अम्चुर ल्याएर खान्छौँ भन्ने थाहा पाएर उहाँ पनि अम्चुर खान हामीलाई पछ्याउँदै आउनु भएको रहेछ’, लेखिदिनुहोला बासघारीमा खाएको अम्चुर पनि मेरो खुसीको अविस्मरणीय क्षण हो । जुन अहिले पनि भुल्न सकेकी छैन । हामीले खुसी साथ उहाँलाई पनि नुन र अम्चुर थिएर सद्भाव दर्शाएका थियौँ ।
कति रमाइला दिन थिए रामपुर स्कुलका । स्कुले जीवन खुसीमै रमायौँ । त्यो समयमा छोरीलाई स्कुल पठाउनै पर्छ भन्ने भावना सबै समाजमा अझै पलाइसकेको थिएन । हाम्रो परिवारमा म मात्र पहिलो महिला हुँ जसले पहिलो पटक एसएलसी पास गर्यो । मेरा दिज्यूहरूले त्यो बेला एसएलसीसम्म पुग्न पाउनु भएको थिएन । मलाई बुवामुमाले पढाइमा निकै होस्याउनु भो र अहिले म यो स्थानसम्म आउन सफल भए । अर्थात् स्कुल मेरो खुसी । बालापनका खुसी त रामपुरसँगै जोडिएका छन् । उमेर त्यस्तै बाह्र नाघेको थिएन ।
हामीले त्यो उमेरसम्म बादर देखेका थिएनौँ । हामीलाई बादर हेर्नेै रहर जाग्यो । वनमा घास दाउरा गर्न जानेसँग हामी पनि बादर हेर्न साइपुरको वायखोली वनमा गएका थियौँ । हामी चार जना फुच्चीहरू थियौँ । वनमा के बादर देखेका थियौँ, बादरले हामीलाइ खेद््न थाल्यो । चारै जना भागाभाग । टाप कसेर घर आइपुग्यौँ । बादर हेर्न गएको साइपुरको वायखोली वन पनि मेरो खुसीकोे अविस्मरणीय क्षण बन्यो ।
खुसी त धेरै छन्, त्यो सँगै दुःख पनि मैले निकै पार गर्नुपर्यो । मेहनत थुप्रै गर्नुपर्यो । जसले मलाई पत्रकारीतासँगै सामाजिक सेवाको अभियानमा पनि डो¥याएको छ । अहिले म नेपाल नेत्रज्योती संघको उज्यालो अभियानमा जोडिएकी छु । कारण मेरो बुवालाई पनि मोतिविन्दु भएको थियो । जुनबेला यहाँ सुविधा सम्पन्न आँखा अस्पताल थिएन ।
तुलसीपुरको डुम्रिगाउँमा ढुण्डिीराज लामीछानेको घरमा आँखा उपचार केन्द्र सञ्चालनमा थियो । त्यही बुवाको आँखाको मोतिविन्दुको शल्यक्रिया भएको थियो । अहिले हामीले धेरै सुविधा पाएका छौँ आँखा उपचारका लागि । त्यही बुवाको प्रेरणाले मलाई उज्यालो अभियानममा पनि जोडिदिएको छ । लेखिदिनुहोला मेरो खुसी नेत्रज्योति संघ पनि । उनको बुझाइमा खुसी एउटा आत्मसन्तुष्टि हो, परिश्रम र मेहनतको फल हो, इमान्दारीताको पुरस्कार पनि हो । खुसी पैसाले किन्न सकिने साधन होइन, यो त मनले पाउने भावनात्मक सन्तुष्टि मात्र हो ।
‘सबैलाई भन्न चाहन्छु, काम गर, फलको आस नगर । त्यो त समयले दिइहाल्छ, इमान्दारीता र मेहनतको फल खेर जाँदैन, लिलाले खुसीको वीट मार्दै भनिन् ।’माथि उल्लिखित खुसीका अभिव्यक्ति हुन् पत्रकार तथा सामाजिक अभियन्ता लिला शाहका । साविकको रामपुर गाविसको वडा नम्बर ४ अर्थात हाल घोराही उपमहानगरपालिका—२ मा विसं २०३० सालमा जन्मिएकी लीला शाहको प्रार्थमिक तहदेखि माध्यमिक तहसम्मको शिक्षा गंगा मावि रामपुरमै सकियो । प्रविणता प्रमाण तहसम्मको शिक्षा र स्नातक तहसम्मको शिक्षा महेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट ।
घोराहीबाट प्रकाशित हुने राप्ती सन्देश साप्ताहिकबाट पत्रकारीता सुरु गरेकी शाहले नवयुगवाणी साप्ताहिक दाङ संवाददाता, केही समय हिममालय टाइम्सको दाङ संवाददाता, गोरखापत्र, नेपाल टेलिभिजन, एभिन्युज, हाल रेपिडयो हाइवेमा समाचार सम्पादकको रूपमा कार्यरत छिन् । घोराहीबाट प्रकाशित हुने गोरक्ष दैनिकको स्थापना कालमा समाचार शाखामा आवद्ध भएर काम गरेकी थिइन । समाचार लेखनसँगै आफु जस्तै श्रमजीवि पत्रकारहरुको पेसागत हकहितका लागि समेत नेतृत्व गरेकी शाह नेपाल पत्रकार महासंघ दाङको उपाध्यक्ष, नेपाल प्रेस युनियनको तत्कालिन राप्ती अञ्चल संयोजक तथा वर्तमान जिल्ला कार्यसमितिको सल्लाहकारलगायतका पदमा आवद्ध छिन् ।
यसअघि उनी विभिन्न सामाजिक संघसंस्थामा पनि जोडिएकी छिन् । त्रिदेवी महिला विकास समूहको सचिवको जिम्मेवारीमा रहँदा महिलालाई स्वावलम्बी र आयआर्जनमा पनि उनको भूमिका रह्यो । त्यसो त उनको अनुभव खानेपानीमा पनि छ । यस अघि एक कार्यकाल उनी लमही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको उपाध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छिन् । केही समय यता उज्यालो अभियानमा जोडिएकी लिला अहिले नेपाल नेत्रज्योती संघको लुम्बिनी प्रदेश कोषाध्यक्ष र लमही आँखा अस्पतालको प्रशासनिक संयोजकको जिम्मेवारीमा रहेकी छिन् ।
प्रस्तुती : खेमराज रिजाल