Goraksha

National Daily

भूकम्प प्रभावितका लागि घर बनाउन जाजरकोट हिँड्यो कांग्रेस

गोरक्ष समाचारदाता
दाङ, ११ मंसिर । भूकम्प पीडितहरूका लागि अस्थायी आवास निर्माण गर्न नेपाली कांग्रेसले श्रमदान अभियान सुरु गरेको छ । कांग्रेस केन्द्रीय समितिले थालेको यो अभियान अन्तर्गत कांग्रेस नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेर भूकम्प पीडितहरूका लागि आवास निर्माण गर्ने छन् ।

यो अभियान अन्तर्गत केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहितको १० नेताको टोली जाजरकोट हिँडेको छ । ‘हामी १० जना नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेर घर निर्माण गर्ने छौँ,’ केन्द्रीय सदस्य चौधरीले भने ‘जाजरकोट यात्राका लागि हामीहरू काठमाडौँबाट हिँडिसकेका छौँ ।’

यो टोली घर निर्माणका लागि मिस्त्रीहरू समेत आफै व्यवस्थापन गरेर जाने छ । यसैगरी घर निर्माणका लागि लाग्ने आवश्यक बस्तुहरू समेत टोली आफैले व्यवस्थापन गर्ने छ । ‘घर निर्माणका बारेमा जानकार मिस्त्रीहरू पनि आफै व्यवस्थापन गरेर जाँदैछौँ,’ केन्द्रीय सदस्य चौधरीले भने ‘यसैगरी निर्माणका लागि चाहिने अन्य सामाग्रीहरू समेत हामी आफैले व्यवस्थापन गर्ने छौँ ।’ उनकाअनुसार घर निर्माणका लागि सहयोगी मजदुरहरू भने जाजरकोट मै व्यवस्थापन गरिने छ ।

केन्द्रीय सदस्य चौधरीकाअनुसार जाजरकोट पुग्ने श्रमदान टोलीले सात दिन घर निर्माण गर्ने छ । ‘कति घर निर्माण गर्ने भन्ने छैन, तर सात दिनसम्म जाजरकोट मै रहेर घर निर्माण गर्नुपर्ने भन्ने पार्टीको सर्कुलेशन छ’ योगेन्द्रले भने ‘सोहीअनुसार हामीहरू कम्तीमा १० दिनसम्म घर निर्माणमा खटिने छौँ ।’

टोली घर निर्माण गरेर फर्किएपछि अर्को टोली पुनः घर निर्माणका लागि तत्काल भूकम्प प्रभावित क्षेत्रमा पुग्ने छ । ‘पार्टीले तोकेको समयसम्म घर निर्माण गरेर हामीहरू फर्किएपछि तत्काल अर्को टोली भूकम्प प्रभावित क्षेत्रमा पुग्ने छ’ चौधरीले भने ‘घर निर्माणका लागि पार्टीले थालेको श्रमदान निरन्तर चल्ने अभियान हो ।’

योगेन्द्रसँगै आवास निर्माणका लागि गोविन्दबहादुर शाह, नैनसिंह महर, गुरु बराल, कुन्दन काफ्लेलगायत १० नेताहरू जाजरकोट हिँडेका छन् । योगेन्द्रकाअनुसार उनीहरू जाजरकोटको नलगाडमा घर निर्माणमा खटिने छन् । श्रमदान अभियान चलाएको कांग्रेसको अभियान अन्तर्गत नेता प्रदीप पौडेललगायत नेताहरूको टोली घर निर्माण गरेर भर्खरै फर्किएको छ । यो टोलीले जाजरकोटको नलगाडमा १ सय घरहरू निर्माण गरेको छ ।