लुम्बिनी कांग्रेसको प्रथम सम्मेलन १६ र १७ गते हुने
गोरक्ष समाचारदाता
दाङ, ११ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आगामी १६ र १७ गते हुने भएको छ । प्रदेशसभापति अमरसिंह पुनले आगामी १६ र १७ गते बुटवलमा पार्टीको पहिलो प्रदेश सम्मेलन हुने जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा ४ सय ७८ जना प्रदेश सम्मेलन प्रतिनिधि, प्रदेशका २१ जना केन्द्रीय सदस्य, जिल्लासभापति र प्रतिनिधिसभा क्षेत्रीय सभापति गरी ३४ जना र प्रदेश कांग्रेसले विभिन्न विभागमा मनोनयन गरेका ३१ सल्लाहकारहरूको सहभागीता हुने छ ।
पार्टीको प्रथम प्रदेश सम्मेलन सांगठनिक मजवुतीका विषयमा केन्द्रीत हुने सभापति पुनले जानकारी दिए । ‘पार्टीलाई आगामी दिनमा थप कसरी मजबुत बनाउन सकिन्छ, अहिले देखिएका कमजोरीहरूलाई कसरी परिमार्जन गरेर अगाडी बढ्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रीत हुने छ,’ सभापति पुनले भने ‘पार्टीलाई सशक्त रूपमा एक ढिक्का बनाएर अगाडि लैजानका लागि योजनाहरू सम्मेलनबाट बन्ने छन् ।’
सभापति पुनकाअनुसार प्रदेशका जिल्ला सम्मेलनबाट प्राप्त सुझावमा केन्द्रीत रहेर सम्मेलनमा घनीभूत छलफल हुने छ । जिल्ला सम्मेलनबाट प्राप्त प्रतिवेदनमा रहेर संगठनलाई कसरी थप बलियो बनाउने भन्ने निक्र्यौल सम्मेलनबाट गरिने छ । ‘जिल्ला सम्मेलनहरूबाट प्राप्त प्रतिवेदनमा घनीभूत छलफल हुन्छ,’ सभापति पुनले भने ।
