Goraksha

National Daily

उद्योग दिवसमा उद्यमीलाई सम्मानसँगै वृक्षारोपण

गोरक्ष समाचारदाता
दाङ, १० मंसिर । दाङमा उद्योग दिवसको अवसरमा उद्यमीलाई सम्मानसँगै वृक्षारोपन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले शनिवार पुष्प व्यवसायीलाई सम्मानसँगै कार्यालयको प्राङ्गणमा विभिन्न पूmल प्रजातिका बिरुवा वृक्षारोपण गरेर उद्योग दिवस मनाएको हो ।

कार्यक्रम गरेर भाषण गर्नुभन्दा पुष्प व्यवसायीलाई प्रोत्साहनसँगै घरेलु तथा साना उद्योग कार्यालयको प्राङ्गणलाई राम्रो बनाउने उद्देश्यले वृक्षारोपण गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख युवराज न्यौपानेले जानकारी दिएका छन् । कार्यालय प्रमुख न्यौपानेले भने, ‘औपचारिक भाषण गर्नुभन्दा पुष्प व्यवसायीलाई प्रोत्साहन र कार्यालयको प्राङ्गणलाई आकर्षक बनाउने उद्देश्यले पूmलका बिरुवा रोपेका छौँ ।’

उनका अनुसार कार्यालयले घोराही उपमहानगरपालिका–१४ झिँगौरामा पुष्प व्यवसाय गर्दै आउएका जलजला पूmल खेती फर्मका सञ्चालक लोकेन्द्र रोकालाई सम्मान गरेको छ । पुष्प व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सफल भएको र अरूका लागि प्रेरणादायी बनेको भन्दै कार्यालयले उद्योग दिवसको अवसरमा उनलाई सम्मान गरेको कार्यालय प्रमुख न्यौपानेले बताएका छन् ।

सम्मानित हुने पुष्प व्यवसायी रोकाले जिल्लामा लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका छन् । उनले पुष्प व्यवसायबाट मासिक एक लाख बढी आम्दानी गर्दै आएका छन् । त्यस अवसरमा कार्यालयले तयार पारेको घरेलु उद्योग तथा व्यवसायसम्बन्धी प्रोफाइल समेत सार्वजनिक गरिएको थियो । कार्यालयले जिल्लामा उद्योग तथा व्यवसायको अवस्थाबारे प्रोफाइल तयार गरेको जनाएको छ ।