लैङ्गिक हिंसा विरुद्धको सोह्रदिने अभियान सुरु
गोरक्ष समाचारदाता
तुलसीपुर, १० मंसिर । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको एक्यवद्धता’ भन्ने मुल नाराका साथ शनिवार देखि ३२औँ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दाङलगायत देशैभर सुरु भएको छ । यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाउने गरिन्छ ।
लैङ्गिक हिंसा पुरुषमाथि पनि हुने गरेका धेरै उजुरी न्यायिक समिति तथा अदालतसम्म पनि पुगेका छन् तर अभियानलाई महिला हिंसामा मात्र केन्द्रित गरेर मुलुकभर यो अभियान सुरु भएको छ । यसमा दाङ जिल्ला पनि अछुतो रहन सकेन ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान सुरु भएको हो । अभियान हरेकखाले लैङ्गिक हिंसामा जोडिनु पर्ने तथा तेस्रो लिङ्गका नागरिकलाई पनि यसमा जोडिनु पर्नेमा सरोकारवालाको चासो रहेको छ । के तेस्रो लिङ्गी समुदाय पनि यो अभियानमा जोडिनु पर्ने होइन र ? भन्नेमा पनि सरोकारवालाको चासो देखिएको छ । पुरुषमाथि हुने हिंसालाई लैङ्गिक हिंसाका रूपमा हेरिनु पर्ने र सोह्रदिने अभियानमा यो सन्दर्भमा बहस चलाउन पनि उनीहरूको चासो देखिएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार सरकारले महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालनको निर्णय गर्नुका साथै अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा देशव्यापी कार्यक्रम गरिने छ । सोही अनुरूप शनिवार बिदाको दिन भए पनि जिल्लामा घोराही, तुलसीपुरलगायतका पालिकामा यो अभियान एकैसाथ सुरु भएको हो ।
तुलसीपुरमा पनि शनिवार एक कार्यक्रमकाबिच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा तुलसीपुर क्षेत्रका सम्पूर्ण सरोकारवालाको सहयोग र सहकार्यमा दिवसको शुभारम्भ गरिएको हो । त्यस अवसरमा बोल्ने वक्ताले महिलामाथि हुने विभिन्नखाले हिंसा र जघन्य अपराधलाई रोक्न सरोकारवाला एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् । बर्सेनि लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा रहेको बताउँदैँ उनीहरूले यसप्रति राज्य पनि गम्भीर बन्नु पर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिसदस्य बसन्ता केसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख भीमबहादुर योगीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै जिम्मेवार बन्नु पर्ने बताए । उनले घर भित्रबाटै हिंसा रोक्न सकियो भने मात्र समाज हिंसारहित हुने कुरामा जोड दिए । कार्यक्रममा अधिकारकर्मी शुस्मा गिरीले हिंसारहित समाज निर्माण गर्न लैङ्गिक हिंसाविरुद्धको १६ दिवसीय अभियान अत्यन्तै महत्वपूर्ण रहेको बताइन् ।
उनले बितेको एक वर्षमा नेपालमा विभिन्नखाले हिंसामध्ये घरेलु हिंसा र जबर्जस्ती करणीका घटना बढ्दो क्रममा रहेको भन्दै यसलाई रोक्न सरोकारवालासँगं तीनै तहका सरकारले विशेष अभियान थाल्नु पर्ने बताइन् । ‘लैङ्गिक हिंसा हुनु मानव अधिकार उल्लङ्घन हुनु हो, यो जघन्य अपराध हो’, उनले भनिन्, ‘यसलाई न्यूनिकरण गर्न सबै एकबद्ध भएर लाग्न जरुरी छ ।’
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु आचार्य, कार्यपालिका सदस्य यमुना परियार, फेडो दाङका अध्यक्ष युवा कराराले घरभित्र हुने हिंसालाई रोक्न घरबाटै अभियान थाल्नु पर्ने बताइन् । त्यस्तै बाल अधिकारकर्मी नवराज लामिछाने, गैरसरकारी संस्था महासंघका अध्यक्ष भागिराम चौधरीले एकताबद तरिकाले हिंसाको अन्त्य गर्नु पर्ने बताए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् । बितेको एक वर्षमा नेपालमा विभिन्नखाले हिंसामध्ये जबर्जस्ती करणीका २३ सय ८७ घटना दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यता दाङमा पनि एक वर्षमा जबर्जस्ती करणीका ३ सय १२ वटा र घरेलु हिंसाका एक सय २५ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।
घोराहीमा प्रभातफेरी
यसैबिच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवार घोराहीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिका लैङ्गिक हिंसा निवारण मूलसमितिको आयोजनामा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ घोराहीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेर अभियानको शुभारम्भ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभातफेरी घोराही बजारको परिक्रममा गर्दै जिल्ला समन्वय समितिमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि मानवीय सोचमा परिवर्तन आउन आवश्यक रहेको बताएका थिए । मानवीय सोचमा परिवर्तन नआउँदासम्म लैङ्गिक हिंसाको अन्त्य हुन नसक्ने भन्दै सहभागीले त्यसका लागि चेतनास्तरमा वृद्धि हुनु पर्ने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपाकिला नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी रामबन्दु सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । अभियान अन्तर्गत मंसिरको २४ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम हुने भएका छन् ।
