Goraksha

National Daily

जियोफेस्ट अन्तर्राष्ट्रिय कार्यक्रममा गुरुकुललाई उपाधि

गोरक्ष समाचारदाता
दाङ, १० मंसिर । गुरुकुल एकेडेमीले भारतको लखनउमा आयोजना भएको जियोफेस्ट अन्तर्राष्ट्रिय कार्यक्रममा दोस्रो र तेस्रो उपाधि हात पारेको छ । सिटी मन्टेस्वरी विद्यालय लखनउ भारतको आयोजनामा भएको कार्यक्रममा गुरुकुल एकेडेमीले उपाधि पाएको हो ।

विज्ञान प्रविधि तथा पृथ्वीको संरक्षण र वातावरण संरक्षणसम्बन्धी संसारभरका विद्यार्थीलाई जनचेतना जगाउने उद्देश्यले जियोफेस्ट नामक अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न १२ विधामा छुट्टै कार्यक्रम भएका थिए । जस अन्तर्गत गुरुकुल एकेडेमीले प्रविधिसम्बन्धी जियोटेक नामक विधाको कार्यक्रममा दोस्रो उपाधि हात पारेको हो भने थ्रि–डी सफ्टबोर्ड डेकोरेशन विधामा तेस्रो स्थान हासिल गरी उपाधि जितेको हो ।

भारतमा आयोजित कार्यक्रममा रसिया, बहराइनलगायत विभिन्न विकसित मुलुकका ६१ वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा नेपालको प्रतिनित्व गरी गएका ६ वटा विद्यालयमध्ये गुरुकुल एकेडेमीले २ वटा उपाधि हात पार्न सफल भएको एकेडेमीका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा शिक्षक इन्द्रप्रसाद पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन दाङबाट एकेडेमीका ३ जना शिक्षक र १० जना विद्यार्थी गरी १३ जना गएका थिए । एकेडेमीका प्रधानाध्यापक डा कृष्णराज डिसी सहित समूह क्याप्टेन इन्द्रप्रसाद पोख्रेल र व्यञ्जना पोख्रेलको सहभागिता रहेको थियो । अन्र्तराष्ट्रिय मान्यता प्राप्त अवार्ड हासिल गरिसकेको गुरुकुल एकेडेमीले एस अघि पनि विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भई विभिन्न अवार्ड जितिसकेको छ ।