भूकम्प पीडितको सहयोगार्थ चोकमा ‘दानपेटिका’
गोरक्ष समाचारदाता
दाङ, ८ मंसिर । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी पीडित भएका लागि सरकार तथा विभिन्न संघसंस्थाले राहतको व्यवस्थापन गरिरहेका छन् । राहत सङ्कलन गरेर भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा अहिले पनि राहत पठाउने क्रम चलिरहेको छ ।
यसै क्रममा जाजरकोट भूकम्प पीडितका लागि दाङका एक व्यक्तिले सहयोग सङ्कलन अभियान थाले, त्यो चोकमा दान पेटिका राखेर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जितपुरका धार्मिक अभियन्ता उपेन्द्र पौडेलले घोराही स्थित भानु चोकमा दान पेटिका राखे ।
तीन दिनअघि राखिएको दानपेटिका भूकम्प पीडितका लागि राहतका निम्ति थियो । तीन दिनसम्म चोकमा राखिएको दानपेटिका विहीवार घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले खोले । तीन दिनको अवधिमा उक्त दानपेटिकामा ४ हजार ६ सय ६० रुपैयाँ सङ्कलन भएको छ ।
‘जाजरकोट भूकम्पमा परी पीडित भएकाका लागि सानो भए पनि सहयोग पुगोस् भनेर राहत सङ्कलनको सोच बनाएँ’, अभियन्ता पौडेलले भने, ‘अनि मैले बजारको चोकमा दानपेटिका राखेर राहत सङ्कलनको अभियान थालेँ ।’ वडाध्यक्ष पाण्डेले पनि व्यक्ति विशेषले थालेको यो सहयोगको अभियान निकै सकारात्मक रहेको बताए । ‘हरेक नेपाली विपत्तिमा पर्दा अर्को नेपालीले सहयोग गर्नु मानवीय दायित्व र धर्म हो’, वडाध्यक्ष पाण्डेले भने, ‘यसरी एक व्यक्तिले चोकमा दानपेटिका राखेर जाजरकोट भूकम्प पीडितका लागि राहत सङ्कलनको अभियान चलाउनु निकै सराहनीय कुरा हो ।’
दानपेटिकाबाट सङ्कलित रकम र व्यक्ति विशेषले गरेको सहयोग रकम गरी कूल ११ हजार एक सय १५ रुपैयाँ पौडेलले राहत सङ्कलन कोषको खातामा जम्मा गरिदिएका छन् । राहत रकम जम्मा गरेको बैंक भउचर उनले जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिका १५ को वडा कार्यालयमा बुझाएका छन् ।
