स्थानीय मदिरा ब्राण्डिङका लागि कानुन निर्माण गर्दैछौ : मन्त्री मास्की

  •   
  •  
गोरक्ष समाचारदाता
दाङ, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्रान्डिङ गर्नका लागि सरकारले कानुन निर्माणको प्रक्रिया अघि वढाएको बताएका छन् । मन्त्री मास्कीका अनुसार संघीय सरकारसंग समन्वय गरेर कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित पेय पदार्थ र मदिरालाई बजारीकरण गर्नका लागि कानुन निर्माण गरि दुई करोड बजेट बिनियोजन गरेको समेत उनले बताए । ‘हामीले स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्नका लागि संघीय सरकारसँग पनि समन्वय गरेका छौँ’, तुलसीपुरमा आयोजित एक कार्यक्रममा उनले भने ‘एउटा समिति नै बनाएर कानुन निर्माणको प्रक्रियालाई अघि बढाएका छौँ ।’
संघीय अर्थमन्त्री, उद्योग मन्त्रीसहित प्रदेश सरकारको टोली सम्मिलित एउटा समिति बनाएर कानुन निर्माण प्रक्रिया अघि बढाएको मन्त्री मास्कीले बताए । हाल विदेशबाट रक्सी ल्याएर नेपाली बजारमा खपत गर्ने गरिएको भन्दै नेपाल मै रक्सी उत्पादन गरेर बजारीकरण गरेमा बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहने भन्दै यो कार्य अघि बढाइएको उनको भनाइ छ ।
पहिलो चरणमा बाँकेस्थित राप्ती सोनारी गाउँपालिकाले मौवाबाट रक्सी उत्पादन गर्न थालेको समेत मन्त्री मास्कीले बताए । प्रदेशमा मौवा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालिगुरास लगायतबाट मदिरा उत्पादन गर्ने तयारी रहेको छ ।
 यसरी प्रदेश सरकारले रक्सी उत्पादन गरेर बजारीकरण गर्न थालेपछि प्रदेशका ७५ हजार जनाले रोजगारी पाउने उनको भनाइ छ । ‘अहिले धेरै युवा जनशक्ति विदेश जाने गरेको छ, नेपालमा स्वरोजगारका अवसर पनि प्रयाप्त छैनन्’,उनले भने ‘यो कानुन मात्रै निर्माण भएमा राम्रो जनशक्तिले नेपाल मै रोजगार पाउनेछ ।’