पुरिए खाल्टाखुल्टी, आहत चालकहरूलाई मिल्यो राहत
खेमराज रिजाल
दाङ, ५ मंसिर । करिब पाँच वर्षदेखि सडकमा सवारी चलाउँदा आहत भएका चालकहरूले यसै सातादेखि राहतको अनुभूति गरेका छन् । चारलेन बनाउने नाममा क्षतविक्षत भएको सडकमा साविकको सडक क्षेत्र कायम गरी खाडल पुर्ने काम करिब–करिब आइतवार सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् ।
‘अब केही स्थानमा मात्रै स–साना खाडल छन् । सोमवारसम्म सबै क्षेत्रको काम सम्पन्न हुनेछ’, सडक मर्मतमा खटिएका एक निर्माणकर्मीले भने । अहिले घोराही—सर्रा क्षेत्रमा केही छुटपुट काम भइरहेको छ । सडकका खाल्टाखुल्टी पुरिएपछि घोराही—तुलसीपुर यात्राको समय पनि घटेको छ । साथै यसले इन्धन खपतलाई पनि कम गराएको छ ।
भारतको एक्जिम बैंकको करिब एक करोड २१ लाख अमेरिकी डलर सशर्त सहुलियत ऋण लगानीमा सुरु भएको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको चारलेन निर्माणको ठेक्का भारतकै मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको थियो । पाँच पटक म्याद थप्दा पनि सडक स्तरोन्नतिकोे काम सम्पन्न हुन सकेन । यसको प्रमुख कारण राजनीति थियो ।
राजनीतिकर्मीका नातागोतालाई भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङले स्थानीय प्रतिनिधिका रूपमा नियुक्त ग¥यो । पटक–पटक स्थानीय प्रतिनिधि फेरिए तर सुरुमै गोलमटोल भएको ठेक्का सम्हाल्न कसैले पनि सकेनन् । तथ्य इन्जिनियरिङ पनि काममा आएन । अन्ततः चारलेन सडक निर्माण भनिएको ठेक्का रद्द भयो ।
सडकमा खाडलैखाडल भएर कम्तिमा ३० जनाको यसै जोखिमपूर्ण सडक दुर्घटनामा निधन भएको थियोे । साथै सयौँ सवारी साधनका इन्जिन सिज भएका थिए तर पनि तात्कालीन सरकारले यसमा कुनै चासो देखाएन । सुरुवा हुँदै आउने प्रमुख जिल्ला अधिकारीले पनि पटक–पटक निर्माण व्यवसायीका स्थानीय प्रतिनिधि, निर्माण परियोजनाको कार्यालय र कन्सल्टेन्स समेतलाई पटक–पटक ताकेता गरे तर पनि काम सुचारु हुन सकेको थिएन ।
त्यसपछि घोराही उपमहानगरपालिकाले आफ््नो क्षेत्र र तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा सामान्य ग्राभेल भरेर खाडल पुरेको थियो । त्यो एक महिना पनि टिकेन । यसैगरी तुलसीपुरका युवाहरूले पनि खाडल पुर्ने काम गरे । लगत्तै परेको झरीले फेरि खाडलैखाडल भयो । दाङ उद्योग वाणिज्य संघको अगुवाइमा घोराही क्षेत्रमा यसरी नै खाडल पुर्ने काम त भयो तर पक्की नभएका कारण त्यसलाई पनि झरीले बगा¥यो ।
फेरि सडक क्षतविक्षत भएपछि सङ्घीय संसद्मा यहाँका सांसद दीपक गिरीले चर्को आवाज उठाए । सांसद रेखा शर्माको पनि चर्को आवाज उठ्यो । सडक विभागसम्म सांसदको डेलिगेसन गएपछि तथ्य इन्जिनियरिङले पाएको ठेक्का पनि रद्द भयो । त्यसपछि सडक विभागले करिब साढे ३ करोड रुपैयाँ विनियोजन गरी साविककै सडकलाई खाडल पुरी कालोपत्रे गर्ने सम्झौता गत असारमा मात्र भएको थियो ।
असोज मसान्तमा काम सम्पन्न हुने गरी कुइरेपानीदेखि हात्तीखौवा सम्मको सडक मर्मतलाई दुई खण्डमा विभाजन गरी दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । एउटा कम्पनीलाई कुइरेपानीदेखि गुर्जे खोला र अर्को कम्पनीलाई गुर्जे खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको सडक मर्मतको ठेक्का दिइएको थियो । बर्सातका कारण काममा करिब एक महिनापछि काम सम्पन्न भएको हो ।
‘हामीले करिब–करिब तोकिएको समयमै काम सम्पन्न गर्ने तयारी गरेका थियौँ तर ढिलोसम्म मनसुनी बर्सात जारी रहेकाले एक महिनापछि काम सम्पन्न हुँदै छ’, डिभिजन सडक कार्यालय घोराहीका प्रमुख डिइ गुरूप्रसाद अधिकारीले भने । चारलेनकै पुनः डिपिआर र पुनः सर्भेका विषयमा भने उनले आफूलाई जानकारी नभएको बताए । यसका लागि यातायात व्यावस्था विभागमै सम्पर्क गर्न उनले आग्रह गरे ।
चालक खुसी
सडकका खाडल पुरिएपछि चालक खुसी भएका छन् । कार चालक होस् या जिप चालक, मोटरसाइकल चालक होस् वा ठुला बस चालक सबैलाई खाडल पुरेपछि राहत मिलेको छ । तर पनि खाडल पुरिएपछिको सहज यात्रासँगै बढ्दो सवारी चापका कारण दुर्घटनाको जोखिम भने उत्तिकै छ ।
‘खाडल पुरेपछि हामीलाई धेरै राहत मिलेको छ’, पश्चिम हापुरेदेखि तुलसीपुर हुँदै काठमाडौंसम्म डिलक्स बस चलाउने चालक÷मालिक भीमबहादुर डाँगीले गोरक्षलाई भने । डाँगी तुलसीपुर टेक्सी तथा मिनी माइक्रो बस प्रालिका कोषाध्यक्ष पनि हुन् । यसैगरी डा प्रताप पोख्रेलले पनि केही दिनदेखि आफू तोकिएकै समयमा अस्पताल पुग्न सहज भएको प्रतिक्रिया दिए । बरिष्ठ छाला रोग विशेषज्ञ कन्सल्टेन्ट डा पोख्रेलको बसाइँ घोराहीमा छ ।
उनको कार्यक्षेत्र भने तुलसीपुरको प्रादेशिक अस्पताल हो । जागिरे कर्मचारी र व्यवसायीलाई पनि साना सवारी चलाउन त्यत्तिकै राहत मिलेको बताएका छन् । स्कुले बस पनि समयमै विद्यालय पुग्न सक्ने भएका छन् तर सडक सहज भएसँगै गति बढी भएकाले केही समस्या भएको चालकले बताएका छन् ।
यसका लागि यातायात व्यवसायीले ओभरटेकका विषयमा आफ्ना मातहतका चालकलाई प्रशिक्षित बनाउनु पर्ने तथा सार्वजनिक सवारी साधनलाई घोराही–तुलसीपुर यातायातमा टाइम–कार्ड व्यवस्थापन गर्न पनि यात्रुहरूले सुझाव दिएका छन् । ‘सडक सहज भएसँगै ओभरटेक गर्ने प्रवृत्ति निकै हाबी भएको छ, यसमा सुरक्षा निकायले पनि विशेष निगरानी राख्न आवश्यक छ’, घोराही तुलसीपुर यात्रा गर्ने यात्रु नवीन डाँगीले भने ।
चारलेन भनिएको सडकमा मुस्किलले साविकको सडकमा भत्किएका स्थानमा कालोपत्रे गरिए पनि चारलेनको प्रक्रिया कहिले सुरु हुने भन्ने विषयमा भने परियोजनाले कुनै अभिव्यक्ति दिएको छैन । परियोजनाको कार्यालय लमहीमा छ । परियोजनाले भालुवाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर र घोराही–तुलसीपुर सडक स्तरोन्नतिलाई हेर्दै आएको थियो ।
चन्द्रौटा–कृष्णनगरको काम दुई वर्ष अघि नै सम्पन्न भएको छ भने भालुवाङ–बाग्दुला–भिमगिठे सडक स्तरोन्नतिको ठेक्का सुरुआतीमै रद्द भएको थियो । त्यहा पनि पुनः ठेक्का लाग्न सकेको छैन ।