सिकारी गर्न प्रयोग गरिएको भरुवा बन्दुक, बारुद र केहि गोली बरामद

हेमराज शर्मा

दाङ, बैशाख ६ । दाङमा वनको गस्ति टोलीले सिकार गर्न प्रयोग गरिएको एक नाल भरुवा बन्दुक, बारुद र त्यसमा प्रयोग गरिने गोली बरामद गरेको छ । पश्चिम दाङको वबइ गाउँपालिका वडा नं ७ हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने बारुद, २ थान सिसा गोली, १ थान गोली बेरिड, २ थान बेलनाकार बेरिङ बरामद गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सो क्षेत्रमा चोरी सिकारी हुने गरेको सुराकीका आधारमा शुक्रवार पुरनधारा सव डिभिजन वन कार्यालयबाट गएको बन गस्ति टोलीले सिकारीले प्रयोग गर्ने सामान बरामद गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो । वन गस्ति टोलीलाई देखेपछि सिकारी बन्दुर फालेर भागेको हुनसक्ने प्रमुख ज्ञवालीले बताउनुभयो । घटना लगत्तै डिभिजन वन कार्यालय दाङबाट गएको थप गस्ति टोली र पुरन्धारा सव डिभिजन वन कार्यालयको गस्ति टोलीले वन क्षेत्रमा खोजी गर्दा सिकारीले वन्य जन्तु मार्नका लागि लुक्न बनाएका छाप्रा समेत फेला पारेको गस्तिमा सहभागि सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिनुभयो । लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरि तस्करी तथा सिकारका घटनाहरु वढ्न सक्ने भन्दै डिभिजन वन कायालय दाङले बिभिन्न गस्ति समूह बनाएर वनमा परिचालन गरेको जनाएको छ । अत्यधिक जोखिमका साथ आठ वटै सव डिभिजन कार्यालय स्तरवाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरवाट पुरै क्षेत्र गरि प्रभावकारी रुपमा गस्ति गर्ने कार्य भईरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सवैजसो कर्मचारीहरुलाई चरणवद्द रुपमा रात्री तथा दिवा सिफ्ट वनाई गस्ति भईरहेको र यसवाट वन संरक्षणलाई प्रभावकारी वनाउनुको साथै विभिन्न वन अपराधमा संलग्न व्यक्तीहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही अगाडी वढाईएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । वन गस्ति टोलीले लकडाउनको अवधीमा वन पैदावार चोरी तस्करी गर्न कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई पक्राउ गरेको छ । यस अवधीमा तीन वटा सवारी साधन र सयौ क्यू फिट काठ समेत डिभिजन वन कार्यालयले बरामद गरेको छ ।