काेराेनाले हल्लाएकाे मथिङ्गल

थम्मन निर्दोषी बस्नेत

हामीले पढ्ने, बहस गर्ने गरेका इतिहासहरु मध्ये केही इतिहास जानाजान बनाईएका थिए त केही आपसे आप बन्न पुगेका थिए। यिनै इतिहासहरु मध्येबाट कोभिड १९ अर्थात कोरोना भाइरसले जन्माएको इतिहास बिश्वका लागि आजसम्म कै शक्तिशाली एवं अमिट स्व सिर्जित इतिहास हुने कुरामा कतै शंका छैन। कोरोना भाइरसको प्रकोपले विश्व जगत मुर्झाएको बेला पृथ्वीको सम्पूर्ण शक्ति आफ्नै पाईतलामुनि छ भन्नेहरु पनि मुर्छित अवस्था देखिन्छन्। महामारीको पन्जाले खिर्लिप्पै निल्न लागेको बेलामा कुन देशको सरकार, नेता, कार्यकर्ताहरुले के गरे के गरेनन् भन्ने विषय प्रवेश गर्न मेरो मन र मस्तिष्कले पट्क्कै मानेको छैन। त्यसकारण विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिदूत गौतम बुद्धको देशको बारेमा लेखेर कोरोनाले हल्लाएको मथिङ्गललाई शान्त पार्दै छु ।

गत डिसेम्बर महिनामा हाम्रो छिमेकी मुलुक चीनको वुहान प्रान्तम देखा परेको कोरोना भाइरस सुरुसुरुमा चीन लगायत विश्वका अन्य मुलुकहरुमा सामान्य लागेको भए पनि त्यो किमार्थ अस्वभाविक थिएन। जब उक्त भाइरसले आजसम्मका बैज्ञानिक प्रयोग र आविष्कारहरुलाई नै चक्मा दिने गरी यसको प्रकोप फैलाउन थाल्यो उक्त अदृश्य भाइरसले हामी लगाएत कैयौ नागरिकहरुको धड्कन बढाएको कुरा नकार्न सकिदैन। इटली, फ्रान्स, स्पेन, जर्मनी, बेलायत, अमेरिका, कोरिया, जापान, रुस, र हाम्रो अर्को छिमेकी मुलुक भारत समेत गरी विश्वका अनगिन्ती मुलुकहरुमा कोरानाको प्रकोपले एक छ्त्र राज गर्न थालिसके पछि हाम्रो सरकारलाई झस्काएछ क्यारे। २०७६ चैत ११ गते एक साताको लागि देश ठप्प हुने गरी बन्दाबन्दिको घोषणा गर्नुले पनि मलाई सरकार झस्किएको जस्तो लाग्यो। अलि ढिलो गरी झस्किए पनि सरकारले आम जनताका लागि क्षणिक भए पनि राहत दिलाएको महसुस गरियो ।

जब देशमा लकडाउनको घोषणा भयो, केही टाठाबाठाहरु आफ्नो ज्यान जोगाउन र जिम्मेवारीबाट सुरक्षीत स्थान तिर कुलेलाम ठोके। सरकारको रणनीतिलाई म जस्ता लाखौं जनताहरुले सम्मान गर्द्छौ यद्यपि एक एक हप्ता गरी लकडाउन तेस्रो पट्क बढाउदा सामान्य जनताहरुमा लकडाउन खुल्ने आशाको दियो बलिरहन्छ। त्यो आशाको दियो बल्नु स्वभाविक हुन जान्छ। भोलिको बारेमा खासै सोच्न नभ्याउने दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुलाई कोरोनाको प्रकोपले भोलिको बारेमा बेसरी सोच्न बाध्य बनाईदिएको छ। सरकारद्वारा समस्याको सुदूर प्रभावलाई ख्याल नगरी घोषणा गरिएको लकडाउनले नेपाली नागरिकता बोकेका देश भित्रै निर्वासित जीवन गुजारी रहेका लाखौं श्रमिकहरुको जीवन सङ्ग कस्तो गुनासो पैदा भयो होला ? यो सरकारको चासो र चिन्ताको विषय बनेको नहुन सक्दछ।

तर दैनिक मजदुरी गरेर आफ्नो र परिवारको पेट पाल्ने लाखौं श्रमिकहरुलाई कोरोनाको त्रासदीले भन्दा पनि आफ्नो साझ बिहानको हात मुख जोर्ने गम्भीर सवालले जितेको बाटी भरी देख्न सकिन्छ। कोरोनाको त्रास सङ्ग सङ्गै इतिहासमा कहिल्यै नसमेटिएका यी कथा र पात्रहरुले मेरो मथिङ्गल नराम्ररी हल्लाइरहेको छ। कोरोनाको त्रासले बिक्षिप्त बनाईरहेको परिप्रेक्ष्यमा राहत वितरण कार्यक्रमको गन्धले समेत नछोएका र यदि छोएकै भए पनि हिटलरको नाजी कन्सर्नट्रेसन क्याम्पमा थुनिएका बन्दीहरुको जस्तै अवस्थामा राख्न खोजिएको प्रयासलाई चुनौती दिदै दैनिक हजारौं श्रमिकहरुले बाटो नापिरहेको समाचार पढ्दा र सुन्दा हल्लिएको मस्तिष्क स्तब्ध भैदिन्छ। धेरै जसो मानिसहरुको चिन्ता आजको भन्दा पनि भोलिको बढी हुने गरेको स्वभाविक मानिन्छ। तर कुनै एक झुन्डका मानिसहरूलाई भने भोलिको लागि सोच्ने फुर्सद र सोच्नुको अर्थ रहदैन। यदि त्यो बर्गले सोच्छ भने केवल बिहान र साझको मात्र सोच्द्छ। किनकि त्यो बर्गलाई साना साना हलचल पनि नराम्ररी हल्लाई दिन्छ्न र पछारिदिन्छ उठ्न नसक्ने गरी । त्यो बर्गको वास्तविकता बारेमा धेरै मानिसहरू बेखबर भैदिन्छ्न र हुन्छ्न पनि।

कोरोनाले निम्ताएको यस संकटको घडीमा सब भन्दा धेरै प्रभावित हुनेहरुको जमात खोज्यो भने तिनीहरु नै अग्र पंक्तिमा देखा पर्द्छ्न। अहिलेसम्मको इतिहासमा उनीहरुको पक्षधर भएर सोच्ने अनि काम गर्ने दुरदर्शिता बोकेका हिमायतीहरु भेट्टाउन सकिएको छैन। बेला बखतमा उनीहरुको नाम भजाएर आफैलाई बचाउनेहरुले आफ्नै इतिहास बनाएको थुप्रै पढ्न पाईएको छ। तर संकट्को हरेक घडीमा उनीहरुको यथार्थलाई बेवास्ता गरी विभिन्न नीति नियम र उर्दीहरु जारी गरिन्छ्न् । त्यो उर्दीले उनीहरुको जीवनमा कस्तो बितेको हुन्छ रत्तिभर पनि ख्याल राखिदैन। यस्तै अवस्थाको उपज हो आज भोलि दिनहुँ जसो आउने समाचारहरु। उनीहरुको अवस्थालाई सम्बोधन गर्न ठोस नीति राज्यको तर्फबाट कहिल्यै नआउदा उनीहरु जीवनलाई जोखिममा राखेर अघि बढन बाध्य हुने गर्द्छ्न। राज्यले घोषणा गरेको कुन निषेधाज्ञा यो भन्दा अगाडि श्रमिकहरुले आफना निमित्त तोडेका थिए र ? तोडेका थिए भने कि इतिहासले तिनीहरुलाई उपेक्षा गरेर त्यसको अभिलेखिकरण गरेको रहेनछ यदि होइन भने यस्तो घटाउन इतिहासमा कहिल्यै घटेको पनि छैन। आज तिनै श्रमिकहरुले बनाएका झ्याल, ढोका, तिनैले ठड्याएका चार दिवार, तिनैले निर्माण गरेका पर्खालको चौघेरा, तिनैले बनाएका इट्टाहरुले निर्मित कोठाहरु, तिनैले बोकेका बालुवा ढुङ्गाले बनेका महल भित्र आफुलाई सुरक्षित ठानेर लकडाउनको पूर्ण पालना गर्न भाषण दिनेहरूले सुनेका छैनन त मैले सुन्ने गरेका समाचारहरु।

तिनै श्रमिकहरुले सिलाएका कपडा भित्र लुट्पुटिएर उनीहरुले उत्पादन गरिदिएका खाद्यान्नले पोसिएकाहरुलाई कोरोनाको महामारीले निम्ताएको लकडाउनले छोएको छ र ? अहिलेको विषम परिस्थितिमा पनि दैनिक चौरासी व्यनञ्जनको स्वादमा रमाउनेहरुको मथिङ्गल पनि साधारण मानिसको जस्तै हल्लाएको होला र कोरोना प्रकोपको भयले ? यो प्रश्नले मेरो बेचैनीको पारो ह्वात्तै चढाई दियो आफूलाई राष्ट्र सेवक, जनताको पहरेदार जनताको सेवक भन्नेहरुले हप्तौं लगाएर दाना रित्तिएको भए पनि ममताले भरिएको जन्मथलो पुग्न प्यासले ओठ सुकाउदै, भोकले आन्द्रा बटार्दै र ममताले खुट्टा लतार्दै कोसौ टाढाको यात्रा छिचोल्ने हिम्मत कसेकाहरुको दुखले छोएको होला कि नाई ? सत्तामा र भत्तामा रमाउनेहरुले आफ्नो जीवन शैली नै आम नेपाली जनताको जीवन शैली हो भनेर बुझ्नेहरु कुन अर्थमा नेपाली जनताका भरोसा बन्न सक्लान र? सत्ता र शक्तिको उचाइमा पुग्न सधै लालायित हुनेहरुले श्रमिकहरुको पीडा कहिले बुझ्लान र? इतिहासमा उल्लेख भएका संकटहरुमा जस्तै यस पटकको कोरोनाको महामारीमा पनि कसैले नबुझे पनि, नदेखे पनि धर्तीले बेसाहारा श्रमिकहरुलाई चिन्न छोडेको छैन। बाटोले कोसौ हिँडेर जन्मथलो पुग्न आतुर खुट्टाहरुलाई स्वागत गर्न पछि हटेको छैन। जस्तोसुकै प्रतिकुल अवस्थामा पनि आफ्नो सन्तानको पर्खाईमा बेचयन भैरहने जन्मदाता र धर्ती माता जस्ता निश्चल, निर्मल संसारमा कोही हुन सक्दैनन् भन्ने बलियो इतिहास कोरोनाले बन्ने मौका पनि दिएको छ। मेरो मस्तिष्कलाई बेसरी घोचेर चयनको श्वास फेर्न नदिएको प्रश्न, “नेता अनि तमाम कार्यकर्ताहरु र तिनै श्रमिकहरुले जम्मा गरेको करबाट जम्मा हुने राज्यकोषबाट सेवा सुविधा प्राप्त गरी जीविकोपार्जन गर्नेहरुको मथिङ्गल पनि रोग सङ्ग मर्न भन्दा भोक सङ्ग मर्न डराई आफ्नो ज्यानलाई पैतालामा राखी बाटो नाप्दै गरेका हजारौं साहाराबिहीन श्रमिकको जस्तै मथिङ्गल हल्लिएको होला त?”यो घनघोर सवालले बाटोमा अलपत्र परेका र बाटो नाप्ने हिम्मत कस्न नसकी जहाको तहि बसेर अलपत्र परेका बर्गहरुको उद्दार नहुदासम्म मलाई घोचिरहनेछ।

अन्तमा जागिरमात्र खाएको भए आफ्नो पारिश्रमिकबाट रकम कट्टी हुन्छ भन्ने दिनमै जागिर छोड्न सक्ने सम्पूर्ण अथक सुरक्षाकर्मी सुरक्षा कवचको अभावका बिच पनि नेपाली जनको स्वास्थ सेवामा तल्लीन सम्पूर्ण कर्मठ स्वास्थ्यकर्मीहरुको बयान गर्न मैले एउटा पनि उहारुको लागि सुहाउँदो शब्द मेरो शब्दकोषमा भेट्टाउन नसकेकोमा क्षमाप्रार्थी छु। सुरक्षा कवचबिना जागिरको मोहले भन्दा पनि नेपाली हुनुको हैसियतले उहाहरु भित्रको मानवता, धर्म र जिम्मेवारी बोधले एक पल पनि नछोड्दा आफ्नो ज्यान हत्केलामा राखेर यो महामारी बिरुद्ध निरन्तर लडिरहेका तमाम चिकित्सक र सुरक्षाकर्मीहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्द्छु। साथै उहाहरुको यस महान कार्य, जिम्मेवारी बोध र धैर्यताप्रति म आजीवन नतमस्तक भैरहनेछु।