Goraksha

National Daily

क्याम्पसमै परीक्षा केन्द्र कायम राख्न त्रिवि समक्ष स्ववियुको माग

गोरक्ष समाचारदाता
दाङ, २४ कार्तिक । घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसको बिए संकायको परिक्षा क्याम्पसमै कायम राख्न क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले त्रिभुवन बिश्व विद्यालय समक्ष माग गरेको छ । स्ववियूले क्याम्पसमै सञ्चालन हुँदै आएको बिए संकायको परिक्षा केन्द्र क्याम्पसबाट अन्यत्र सारिएको भन्दै क्याम्पसमै केन्द्र कायम गर्न माग गरेको हो ।

यो क्याम्पसमा कायम भएको बिए संकायको परिक्षा केन्द्र अहिले नारायणपुर स्थित सिद्धरत्ननाथ क्याम्पसमा कायम गरिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि क्याम्पसमै परिक्षा सञ्चालन गरिनु पर्ने भन्दै स्ववियु महेन्द्र बहुमुखी क्याम्पसका सभापति मनोज डिसीले परिक्षा केन्द्र बाहिर कायम गरेर बिए संकायका विद्यार्थीहलाई मर्कामा पारिएको बताए ।

त्रिभूवन बिश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीलाई स्ववियुले क्याम्पसमै परिक्षा केन्द्र कायम गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन बुझ्दै परिक्षा नियन्त्रण कार्यालयका प्रमुख जोशीले महेन्द्र बहुमुखी क्याम्पसमै परिक्षा केन्द्र कायम गर्नका लागि आफूले सहयोग गर्ने बताएका थिए ।

ज्ञापन पत्र बुझाउन महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति मनोज डिसी, सदस्य रमिला शर्मा, नेविसंघ केन्द्रीय सदस्य, निरज गिरी, जिल्ला अध्यक्ष कुलराज पोख्रेल, अम्बिकेश्वरी क्याम्पस स्ववियु सभापति रणबहादुर खड्का लगाएत त्रिभूवन बिश्वविद्यालय पुगेका थिए ।