जुझारु नेतृत्वले हाँकेको वडा
टेकबहादुर पुन
लमही, २४ कार्तिक । लमही नगरपालिका वडा नम्बर ७, पूर्व पश्चिम महेन्द्र राजमार्गले छोएको वडा कृषि क्षेत्र, त्यसमा पनि तरकारी पकेट क्षेत्रका रुपमा यो वडा चिनिन्छ ।
कृषिबाटै आत्मनिर्भर बनाउन खोजिएको यो वडामा पहिलो स्थानीय तहको निर्वाचनबाट मोहन गिरीको नेतृत्वमा जनप्रतिनिधि टोली चुनियो । वडाको समुन्नत विकासका लागि यो जनप्रतिनिधि मण्डलले गरेको योगदान उच्च रह्यो । फलतः यहाँका नागरिकले उनै गिरीलाई पुनः वडा अध्यक्षका रुपमा चयन गरिदिए । गिरी अहिले दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भए ।
पूर्वमा लमही नगरपालिका वडा नम्बर ६, पश्चिममा वडा नम्बर ८, उत्तरमा घोराही उपमहानगरपालिका अनि दक्षिणमा राजपुर गाउँपालिकाको वडा नम्बर ७ सँग सीमा साँध जुधेको यो वडा दाङ चुनावी क्षेत्र नम्बर १ मा पर्दछ । साविक सतवरिया गाविसका वडाहरु १, २ र ३ समाहित यो वडाको क्षेत्रफल ४५.०९ वर्गकिलो मिटर रहेको छ । समुद्री सतहबाट २१० मिटर उचाईमा रहेको यो वडाको औसत बर्षाको स्थिति १३४० मिलमिटिरसम्म छ । न्यूनतम २ डिग्री सेन्टिग्रेटदेखि अधिकतम ४२ डिग्री सेन्टिगैटसम्मको तापक्रम रहने यो वडाको जलवायुको अवस्था उच्चदेखि समशीतोष्णसम्म कायम रहन्छ ।
१०९५ घरधुरी संख्या छन् यो वडामा । ५ हजार ३ सय ४ जनसंख्या रहेको यो वडामा पुरुषको संख्या २७३५ र महिलाको संख्या २६४९ छ । औसतमा प्रति परिवार ४.९ जना सदस्य यो वडामा छन् । १२.२ प्रतिशत ब्राहमण÷क्षेत्री, ८२.२ जनजाती,४ दलित, मधेशी अन्य ०.३, मुस्लिम ०.३ र अन्य ०.२ प्रतिशत जनसंख्या रहेको यो वडामा जनजातीको बसोबास अन्य समुदायमाभन्दा बढी देखिन्छ । तथापी सबै जातजातीको प्रतिनिधित्व रहेको यो वडामा सबै समुदायकाबिचमा आपसी सद्भाव उच्च छ ।
अघिल्लो कार्यकालमा विकास निर्माणसँगै क्षमता विकासमा उल्लेखनीय कार्य रहेको यो वडाले वर्तमान कार्यकालमा यसलाई थप बढावा दिने रणनीति बनाएको देखिन्छ । त्यो सोत, वडाले अहिले गरिरहेका कामहरुलाई नियाल्ने हो भने पनि वडाको समुन्नत विकासका निम्ति वडा कार्यालयले आफूलाई थप क्रियाशील बनाएको छ । पर्यटन धर्मप्रति वडाबासीको आस्थालाई कायम राख्न यो वडाले पहाडमा मन्दिर निर्माण गरेको छ ।
वडा बासीहरुलाई आनन्दीत तुल्याउने हेतुले यस वडा कार्यालयले केही मनोरम् स्थान निर्माणका लागि समेत सक्रियता देखाएको छ । हसनापरमा पार्क निर्माण गरिएको छ । यसैगरी धार्मिक पर्यटनको विकासका निम्ति यो वडाले रामजानकी मन्दिर निर्माण गरेको छ । यसैगरी विभिन्न पार्क र पिक्निक थलो निर्माण गरेर यस वडाले पर्यटन विकासका थप योजनाहरु तय गरेको छ । जुरपानीखोलामा पिक्निक स्पट निर्माण यसको उदाहरण हो । यहाँ अहिले पिक्निक स्पट निर्माणको काम भइरहेको छ ।
थारु समुदायको बाहुल्यता रहेको यो वडाले थारु होमस्टेको योजनालाई मूर्त रुप दिन खोज्नुलाई यहाँको आर्थिक समृद्धिका बलियो पाटोका रुपमा लिन सकिन्छ । वडाले वनघुस्रीमा थारु होमस्टे निर्माणको काम गरिरहेको छ । अब तत्कालै यो होम स्टे निर्माण पूरा गरेर सञ्चालनमा ल्याउने तयारीमा वडा छ । पाहुनाहरुबस्नका लागि घर निर्माण भइसकेका छन् । दुई वटा स्वागतद्धार समेत यहाँ निर्माण भइसकेका छन् । राप्ती नदीको अवलोकसँगै थारु परिकारको स्वाद चाख्न पाइने यो होमस्टे सञ्चालनमा आए यहाँको आर्थिक विकासले अर्को गती लिने विश्वास वडाको छ ।
शिक्षा
वडाले साक्षरताको अभियानलाई प्रमुखताका साथ लागु गरेको छ । वडालाई पूर्णरुपमा साक्षर वडाका रुपमा चिनाउन शिक्षा क्षेत्रमा उसले गरेको योगदान वा लगानी उदाहरणीय छ । दुई सामुदायिक विद्यालय रहेको यो वडामा थप दुई निजी विद्यालय छन् । सामुदायिकतर्फ झण्डै ५ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने निजीतर्फ झण्डै तीन सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यहाँको शिक्षाको अवस्थालाई माथि उकास्न पडाले गरेको कदम उँचो छ ।
८ कक्षासम्म मात्रै सञ्चालनमा रहेका यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई त्यसभन्दा माथिल्लो शिक्षाका लागि अन्यत्र जानु पथ्र्यो । वडाले ८ सम्म रहेका विद्यालयलाई आफ्नै पहलमा १० कक्षा सञ्चालनको अवस्थामा पुर्याइदियो । माविका ३ जना शिक्षकलाई वडा आफैले तलव सुविधा दिएर विद्यालयको पठनपाठनमा ठूलो योगदान पु¥याउँदै आएको छ ।
सरकारी जागिरतर्फ युवाहरुलाई संलग्न बनाउने ठूलो संकल्प यो वडाको छ । वडा तहमै लोकसेवा तयारी कक्षा व्यवस्थापन गरेर वडाले सरकारी जागिरमा वडाका युवाहरुलाई समेट्ने चिन्तन बोकेको छ । हाल ६० जनालाई निःशूल्क लोकसेवा तयारी कक्षा पढाइरहेको यो वडाले यी मध्य उत्कृष्टहरुलाई थप अध्ययनका लागि बाहिर पठाउने नीति बनाएको छ । यसैगरी कम्प्युटरमा युवाहरुलाई दक्ष बनाउने संकल्प वडाको छ । अहिले ९० जनालाई वडाले निःशूल्क रुपमा कम्प्युटर शिक्षा प्रदान गरिरहेको छ ।
वडाले लमही बजारमा यो निःशूल्क कक्षाको व्यवस्थापन मिलाएको छ । यो कक्षा लिन इच्छुकहरुले सुरुमा फारम भर्छन्, अनि सोही फारमका आधारमा उनिहरुलाई कक्षाका लागि छनौट गरिन्छ । यसैगरी क्याम्पसमा अध्ययनका लागि यो वडाले गरेको अर्को निर्णय अझ महत्वपूर्ण छ । वडाबाट देउखुरी बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि जाने हरेक विद्यार्थीको भर्ना शूल्क गरिदिने निर्णय वडाले गरेको छ । यो निर्णयले निम्न आय स्तर भएका विद्यार्थीको उच्च शिक्षा पठन–पाठनमा धेरै सहजता ल्याइदिएको छ ।
खेलकुद
स्वास्थ्यका लागि खेलकुदको नारासँगै राष्ट्रिय स्तर मै प्रतिष्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने अभियान वडाले चलाइरहेको छ । हरेक क्षेत्रका खेलमा वडाको प्रतिनिधित्व रहोस् भन्ने हेतुले यो वडाले सबै विधाका खेलको विकासका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ । प्रत्येक वर्ष लमहीमा हुने मेयर कप स्तरीय क्रिकेट प्रतियोगीतामा वडाकातर्फबाट बर्सेनि खेलाडीहरु सहभागी हुँदै आएका छन् ।
यसैगरी खेलाडीहरुको खेल अभ्यासका लागि वडामा रहेका तीन वटा खेल मैदानको संरक्षण वडाले गरिरहेको छ । यी खेल मैदानमा खेल अभ्यास भइरहेको छ । ब्याड मिन्टन खेलका लागि वडाले कभर्ड हल निर्माण गरेको छ । यसैगरी फुटबल खेलमा समेत वडालाई अब्बल बनाउन वडाले खेल सामाग्रीहरु वितरण गर्दै आएको छ ।
कृषि
यो वडा कृषि क्षेत्रको पकेट क्षेत्रका रुपमा चिनिन्छ । विभिन्न अन्न बाली तथा तरकारी उत्पादनका हिसाबले उत्पादनमूलक क्षेत्रका रुपमा रहेको यो वडाको कृषि क्षेत्रलाई थप विकसित गर्नका लागि कृषि उत्पादन, तथा यसको उचित बजारीकरणका लागि जोड दिँदै आएको छ ।
वडालाई कृषिमा आत्म निर्भर बनाउने मुख्य लक्ष बोकेको यो वडाले सिजन सिजनका खेतीअनुसार निःशुल्क बिउबिजन वितरण गर्दै आएको छ । यसैगरी खेती योग्य जमिनमा सिँचाईका लागि बोरिङको व्यवस्थापन वडाले गरेको छ ।
कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न सकिन्छ भन्दै युवाहरुलाई कृषि पेसामा लाग्न वडाले प्रेरित गरिरेको छ । मूलतः वडामा तरकारी खेती फस्टाउँदै गएको छ । यो तरकारी खेतीलाई स्थानीयको आय आर्जनको बलियो स्रोत बन्न सक्ने सम्भावनाप्रति गम्भिर बनेको वडाले तरकारीको उत्पादन र बजारीकरणका लागि योजना बनाएको छ ।
वन
यो वडामा सातवटा सामुदायिक वन समूहहरु छन् । समुदायमार्फत वन संरक्षण गर्ने यो अभियानमा वडा कार्यालय पनि सँगसँगै छ । वन संरक्षणका लागि वडा कार्यालयले सामुदायिक वन समूहरुसँगको सहकार्यलाई निरन्तरता दिँदै आएको छ । वन संरक्षणका लागि आवश्यक उपकरण तथा वनको विकासका लागि आवश्यक बोटबिरुवाको व्यवस्थापनमा वडाले गरेको कार्य उदाहरणीय छ । दिगो वन विकासको एजेण्डालाई स्थापित गर्नका लागि वडाले वनको संरक्षणका लागि लगानी गर्दै आएको छ ।
विकासको प्रमुख योजना मानिने सडक, नाला पुल पुलेसालाई वडाले आफ्नो प्राथमिकतामा पारेको छ । वडाका हरेक बस्तीलाई सडक सञ्जालले जोड्ने लक्ष लिएको यो वडाले हरेक ग्रामिण भेकमा सडक निर्माणलाई जोड दिइरहेको छ । नयाँ सडक निर्माण तथा कालोपत्रे यो वडाको प्राथमिकतामा छन् ।
वडाका विभिन्न दुरदराजका गाउँसम्म वडाले सडककामे पहुँच विस्तार गरिसकेको छ । यसैगरी नाला निर्माणसँगै पुल कल्भट निर्माणको कामलाई समेत वडाले उत्तिकै प्राथमिकतामा राखेर काम गर्दै आएको छ । वडाले बर्सेनि आफ्नो बजेटमा यी भौतिक पूर्वाधारका योजनाहरुका लागि लाखौँ बजेट विनियोजन गर्दै आएको छ ।
खानेपानी
हरेक वडाबासीलाई पानीको सहज पहुँचमा पुर्याउने लक्ष वडाको छ । खानेपानीको धारा जडान गरेर आँगन मै पिउने पानीको सहजताका लागि वडाले निकै महत्वाकांक्षी योजना कार्यान्वयन गरिरहेको छ । एक घर एक धाराको अभियानलाई मूर्त रुप दिन वडा कार्यालय लागि परेको छ । यसका लागि खानेपानीको ट्याङ्कि निर्माणसँगै खानेपानीको पाइप बिछ्याउने काम भइरहेको छ । खानेपानीको यो योजना पूरा भए वडाका हरेक नागरिकलाई पिउने पानीको सहजता हुने छ ।
स्वास्थ्य
मानव स्वास्थ्यप्रति गम्भिर बनेको वडा कार्यालयले वडाका हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन चाहन्छ । वडाबासीहरुको उपचारका लागि विभिन्न समयमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेर वडाले स्वास्थ्य सेवा घरदैलो मै पाउने अधिकारलाई सुनिश्चित गरिदिएको छ । विभिन्न समयमा आँखाको निःशुल्क उपचार, अन्य दीर्घरोगसम्बन्धी स्वास्थ्य परीक्षणका लागि आयोजना गरिने निःशुल्क शिविरले नागरिकको स्वास्थ्य जाँचमा सहज भएको छ ।
वडा अन्तर्गत रहेको नगर स्वास्थ्य केन्द्रलाई प्रभावकारी उपचार थलोका रुपमा विकास गराएको वडाले नेतृत्वको जनाको स्वास्थ्य टोली समेत व्यवस्थापन गरेको छ । आफ्नै भवनमा स्थानान्तरणको प्रक्रियामा रहेको नगर स्वास्थ्य केन्द्र अब थप प्रभावकारी उपचार केन्द्रका रुपमा स्थापित हुने छ ।
कला संरक्षण
स्थानीय कला स्थानीय स्तरका ठूला परिचय हुन् । स्थानीय कलाले कुनै पनि ठाउँ परिवेशनको परिचय झल्काउँछन् । यो वडाले पनि आफ्नो वडाको परिचय स्थानीय कला संस्कृतिमार्फत दिनुपर्छ भन्ने सोँच बोकेको छ । मूलतः थारु समुदायको बाक्लो बसोबास रहेको यो वडाको स्थानीय कला संस्कृति थारु समुदायको कला संस्कृतिसँग जोडिन्छ । यसैगरी मगरलगायत यो वडामा बसोबास गर्ने हरेक समुदायको कला संस्कृति संरक्षणमा वडाको योगदान महत्वपूर्ण छ ।
उनिहरुको विभिन्न चाडपर्वका बेला उनिहरुले प्रस्तुत गर्ने कला संस्कृतिको संरक्षणका लागि वडाले लगानी गर्दै आएको छ । उनिहरुको कला संस्कृति संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको वडाले कला संस्कृति संरक्षणमा पनि आफूलाई उत्तिकै अब्बल वडाका रुपमा स्थापित गरिदिएको छ । यससँगै स्थानीय युवा क्लवहरुलाई समेत वडाले कला संस्कृति संरक्षणका लागि प्रोत्साहन गरिरहेको छ । स्थानीय कला संस्कृति संरक्षणमा जुट्नका लागि क्लवहरुलाई प्रेरित गरिरहेको वडाले यस्ता क्लवहरुलाई आर्थिक व्यवस्थापन समेत गरिदिएको छ ।
सिप
आयआर्जनको गतिलो माध्यम भनेको सीप सिकाइ हो । सिप सिकेर गर्न सकिने उद्यमले स्थानीय स्तर मै आय आर्जनको बाटो खुल्ला हुन्छ । अतः वडाले वडाबासीहरुलाई स्थानीय स्तर मै आयआर्जनको यो गतिलो बाटो पहिल्याई दिइरहेको छ । स्थानीय महिलालाई विभिन्न सीमामूलक तालिम दिएको यो वडाले उनिहरुलाई स्थानीय स्तर मै आम्दानी गर्न सक्ने क्षमता प्रदान गरिदिएको छ ।
वडाले आयोजना गर्दै आएका विभिन्न सिपमूलक तालिममा वडाका थुप्रै महिला सिप युक्त बनेका छन् । सिप सिकेर केहीले आयआर्जनको बाटो समेत पकडेका छन् । स्थानीय स्तर मै आयआर्जन गर्न सक्ने गरी सिपमूलक तालिममा जोड दिँदै आएको यो वडाले सिप सिकाइका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ ।
रोजगार
स्थानीयलाई रोजगारमा आवद्ध गराउनका लागि वडाले गरेको योगदान उच्च छ । रोजगारीका लागि अब्बल जनशक्ति तयार पार्न उसले गरेका विभिन्न प्रयासहरु उदाहरणीय छन् । लोकसेवा आयोगको तयारीका लागि तयारी कक्षामा युवाहरुलाई निःशुल्क रुपमा आवद्ध गराउनु वडाले रोजगारीका लागि जनशक्ति तयार पार्न महत्वपूर्ण भूमिका खेल्दै अएको प्रष्ट हुन्छ ।
यसैगरी निशुल्क रुपमा कम्प्युटर सिक्नका लागि अवसर प्रदान गर्दै आएको वडाले रोजगारीका लागि अर्को अवसर सिर्जना गरेको हो । यस अलावा यो वडामा पर्ने सिमेन्ट उद्योगमा वडाका सयौँ स्थानीयहरु वडा कै पहलमा रोजगारीमा आवद्ध भएका छन् । यसैगरी विकास निर्माणका योजनाको काममा समेत स्थानीयलाई अवसर प्रदान गरिएको छ ।
वडाका योजनामा कामहरुमा प्रत्यक्ष सहभागीता गराएको वडाले यस्ता योजनाहरुबाट समेत स्थानीयहरुलाई आयस्रोतको अवसर सिर्जना गरी दिएको छ । यस अलावा वडाका हरेक नागरिकको आयआर्जनका लागि वडाले विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।