आदिम के.सी.
अठ्ठाइस जुलाई १९१४
विश्वको लागि अँध्यारो बन्यो
कोही सम्राट बन्ने नाममा
एघार नोभेम्बर १९१८सम्म
विश्व रोयो
कसैको सम्राट कहलाउने लालचमा
त्रासदी र मानव संहारका पीडा
चर्म चक्षुको बाटो भएर खसे
त्यति नै बेला जन्मियो
भर्सेलिजको सन्धि
सन्धि,
सर्वमान्य, सर्वपक्षीय र सर्वसन्तुलन हुन सकेन
एक सेप्टेम्बर १९३९मा
अडोल्फ हिटलरले
विश्वलाई सन्तुलनमा राख्न
विश्वको जिम्मेवारी काँधमा बोकेर
ठिङ्ग उभिएको
भर्सेलिजको खम्बा तोडे
विश्व सम्राट बन्ने नाममा
विश्व विभाजित भयो
मित्र राष्ट्र र धुरी राष्ट्रमा
दुई सेप्टेम्बर १९४५मा
छ करोड बढीको रक्त सरीता बगाएर
मित्र राष्ट्रको विजय घोषणा गरियो
मानव संहार रूक्यो
कोही सम्राट बन्ने नाममा
संयुक्त राष्ट्र संघ जन्मियो
अझै
कोही सम्राट बन्ने नाममा
शीत युद्धका विकिरण
छरपस्टै थिए
विश्व आफ्नै गतिमा थियो
चीनको वुहानबाट
डिसेम्बर २०१९
भाइरस भयावह लिएर जन्मियो
‘कोरोना भाइसर’
अब, सशस्त्र युद्ध होइन
निःशस्त्र युद्ध
जैविक युद्ध
विज्ञानको आविष्कार
विज्ञान अभिषापको वर्षा
विज्ञान युद्ध
फेरि, कोही सम्राट बन्ने नाममा
आइन्सटाइनको ‘सापेक्षतावाद’
निर्लज्ज छ यतिबेला
स्टेफन हकिङलाई बोल्न सघाउने
‘भ्वाइस सिन्थोसाइजर’ले
सकेन कोरोनाको मुख खुलाउन
न त सक्यो
हकिङको ‘ब्ल्याक होल’ले
कोभिड १९ को क्षेप्यास्त्रलाई रोक्न
पारमाणिक युद्धको जोखिम
जलवायु परिवर्तनले
पृथ्वीको आयुमा चुनौति देख्ने हकिङको
‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ले
सकेन कोभिडको समय नाप्न
जसले इतिहासको समय नापेको थियो
यतिबेला,
एरिस्टोटलको ‘जीवशास्त्र’
कुनै बन्द प्रयोगशालामा
त्रसित भएर
लुकलुक काँप्दै होला
कोरोनाको डरले
एरिस्टोटलको
नैतिकवाद,राजनीतिक विज्ञान र भौतिकशास्त्र त
कोरोनासामु बबुरा बनेका छन् यतिबेला
कोही सम्राट बन्ने नाममा
आर्किमेडिजको
‘गणितीय भौतिकशास्त्र’ र ‘इन्जिनियरिङ’ले
सकेन कोरोनाको आयु र आयतन नाप्न
न त सक्यो यसको
उचाइ र मोटाइ नाप्न
सायद
आर्किमेडिजको ‘गणितीय भौतिकशास्त्र’को
उत्तरकुञ्जिका हराएको छ यतिबेला
कोही सम्राट बन्ने नाममा
पिसाको चर्चमा झुमर देखेर
‘पेन्डुलमको सिद्धान्त’ प्रतिपादन गर्ने
ग्यालिलियोको ‘भौतिकशास्त्र’माथि
कोरोनाले सहजै विजयप्राप्त गरिरहँदा
चन्द्रमाको जमिनको संरचनामा
पहाड र खाल्डो भएको अवगत गराउने
ग्यालिलियोको ‘खगोलशास्त्र’
आज निर्वाक भएको छ
कोरोनाको संरचना नियाल्दा नियाल्दै
क्यूरीका ‘रेडियम’ र ‘थोरियम’
गुमनाम छन्
पाश्चरका ‘रेविज’ र ‘एन्थ्राक्स’का भ्याक्सिनले
कोरोनाविरूद्धको भ्याक्सिन जन्माउन सकेनन्
कोही सम्राट बन्ने नाममा
आज कोरोनाले विश्वमाथि आक्रमण गरिरहँदा
श्रेयको भीडमा लडिरहेका छन्
ट्रम्प, पुटिन र सिजिङहरू
मानव लासमाथि
विश्व राजनीतिको प्रलोभनको वर्षा छ
भाइरसको काँधमा
आणविक बम फिट गरेर
मानव लासको सोपान चढेर
विश्व सम्राट हुन खोजिरहेछ कोही
कोरोनाको नाममा
फगत कोरोनाको नाममा
विश्व सम्राट बन्न खोज्दै छ कोही ।।