चेचक सम्झाउँदै कोरोना : कहर उस्तै

राजकुमार कान्छा

चेचक पुरानो संक्रमण हो, कोभिड–१९ नयाँ, तर कहर एउटै । चर्चा र त्रास पनि उस्तै, त्यो बेला चेचकको अनि यतिबेला कोभिड–१९ को । कोभिड–१९ अर्थात कोरोनाको बारेमा तपाईं हामी जानकार छौँ । चीरपरिचित छौँ । यसबारेमा धेरै चर्चा गर्नुपर्छ जस्तो मलाई लाग्दैन । चेचक थारु समुदायमा न्वारान भएको एउटा रोग हो । अहिले पनि त्यो कहर सम्झँदा थारु समुदायका ज्येष्ठ नागरिकको शरीर सिरिङ्ग हुन्छ ।

सतक पहिले दाङ जिल्लाको कल्पना गर्नुस् त ? घोरेटो र गोरेटो बाटो । मोटर त सायदै कसैले कल्पनासम्म गरेका थिए, त्यसबेला । सानो बजार, मानपुर बजार । जसको नामोनिसान छैन अहिले । स्वास्थ्यका नाममा सायदै कुनै संस्था थिए । जसबाट आम जनताले स्वास्थ्योपचार पाए पनि होलान् ।

सतक पहिले चेचकबाट बच्नका लागि थारु समुदायले एक दिनमा अढाइ सय लिटर रक्सी एउटा गाउँको लागि तयार पाथ्र्यो । जुन रक्सी चेचकबाट बच्नको लागि शरीरमा घसिन्थ्यो । जसरी कोभिड–१९ बाट बच्नको लागि सेनिटाइजर प्रयोग गरिन्छ, त्यसरी नै । अझ अर्को कुरा बाल होस् या बृद्ध सबैलाई रक्सी र जाँड खान आग्रह गरिन्थ्यो रे । जसका कारण चेचकले छुँदैनथ्यो ।

एउटा यस्तो रोग कहर बनेर खडा भइदियो कि सिंगो देश नै डर र त्रासमा रह्यो । यहाँसम्म कि त्यसबेलाका शासकहरु समेत त्यो कहरले राज्य नै ठप्प पारे । हो त्यही कहरको नामाकरण थारु समुदायले ग¥यो ‘चेचक’ । जसलाई थारु समुदायले देवीदेवताको खेल सम्झियो । चेचकले त्यो बेला यसरी त्रास फैलायो कि पूरा देश नै ‘लकडाउन’ भयो । जसरी अहिले हामीले कोभिड–१९ कोरोनाको त्रासले लकडाउनमा छौँ । त्रास यतिसम्म फैलियो कि त्यसबेला घरका लागि आवश्यक पानी लिन समेत निस्कन डराउँथे, मानिसहरु । न डराउन पनि कसरी ? जसको उपचार नेपालका लागि असम्भवजस्तै थियो, त्यो बेला । अझ थारु समुदायले त झन चेचकलाई देवीदेवताको खेल सम्झिएपछि, सक्केन ? त्यसकारण पनि चेचक रोगीलाई मानिसले छुन समेत डराउँथे । कारण यो थियो कि त्यो व्यक्तिलाई छोए रोग सथ्र्यो ।

देवीदेवताकै खेल सम्झेर गाउँका महटावाँ, अगुवा तथा डेसबन्ढ्या (पुरेत)हरुको अगुवाईमा डोली छोड्ने चलनको समेत सुरुवात भयो । त्यो के भने दुलहीलाई आवश्यक पर्ने सम्पूर्ण गरगहनादेखि लिएर लत्ताकपडाहरु डोलीमा सजाएर अन्य गाउँमा लगेर छोड्ने गरिन्थ्यो रे । जुन डोलीले चेचक आफ्नो साथमा लिएर जान्थ्यो । र, त्यो गाउँले चेचकबाट मुक्ति पाउँथ्यो भन्ने कथन चेचक भोगेका ज्येष्ठ नागरिकले सुनाउनुहुन्छ । तर जुन गाउँमा डोली बिसाइन्थ्यो त्यो गाउँमा भने चेचकको कहर फैलिन्थ्यो रे । घुमिफिरी रुम्जाटार भनेझैँ चेचकले कुनै पनि हालतमा छोड्ने स्थिति भएन, त्यो बेला । ओल्लो गाउँले पल्लो गाउँ र पल्लो गाउँले ओल्लो गाउँ गरी चेचकको कहर फालाफाल नै गरे त्योबेला । तर चेचकको कहरले अहँ ! छोड्ने नामै लिएन ।

जसले शासकहरुलाई आफ्नो अभिभावक ठाने, उनै शासक समेत चेचकको डरमा देखेपछि अन्य त झन त्यसै थर्कमान । चेचक भोगेका केही ज्येष्ठ नागरिकका अनुसार चेचककै कारण एउटा गाउँमा एक दिनमा पाँच जनासम्मको मृत्यु हुन्थ्यो । हप्तामा ३० जनाभन्दा बढीको एउटै गाउँमा मृत्यु भएपछि पूरा गाउँ नै थर्कमान हुने नै भयो । घोराही–१७ की छोट्कन्या चौधरीका अनुसार लाशैलाशले गाउँ घेरिएको अवस्था पनि आएको थियो, त्यो बेला । उनका अनुसार चेचक सवार व्यक्तिले जे माग गर्छ यदि त्यो पूरा नभए आफ्नै शरीरका अंग चिथोरेर खान्थे । त्यस्तै रोगीले माग गरेको वस्तु वा चीज जुन स्थानमा गएर ल्याउन भन्थे, त्यो चीज असम्भव भएको स्थानमा समेत प्राप्त हुन्थ्यो भन्ने त्यो बेला थारु समुदायमा विश्वास थियो । यदि माग गरिएका वस्तु वा सामान प्राप्त नभए उक्त रोगीको मृत्यु हुने निश्चित हुन्थ्यो भन्ने कथन ज्येष्ठ नागरिकले अझै सुनाउने गर्नुहुन्छ । त्यसबेला बिरामीका लागि पिउने पानी समेत जिल्लाभरिबाट दाङको पहिलपार गाउँमा जाने गर्दथे भन्ने कथन सुन्नमा आउँछ ।

कोभिड–१९(कोरोना)बाट बच्नका लागि जतिसके धेरै पटक साबुन पानीले हात धुने, भीडभाडमा नजाने, माक्स, सेनिटाइजरहरु प्रयोग गर्ने भनिन्छ । त्यस्तै १००.४ फरेनहाइटसम्म ज्वरो आएमा, टाउको दुखेमा, सुख्खा खोकी लागेमा र श्वासप्रश्वासमा समस्या भएमा कोरोना हुनसक्ने र स्वास्थ्य संस्थामा जाने भनिन्छ । यस्तै यस्तै अन्य धेरै सचेतनाका सन्देशहरु छन् । त्यस्तै सतक पहिले चेचकबाट बच्नका लागि थारु समुदायले एक दिनमा अढाइ सय लिटर रक्सी एउटा गाउँको लागि तयार पाथ्र्यो । जुन रक्सी चेचकबाट बच्नको लागि शरीरमा घसिन्थ्यो । जसरी कोभिड–१९ बाट बच्नको लागि सेनिटाइजर प्रयोग गरिन्छ, त्यसरी नै । अझ अर्को कुरा बाल होस् या बृद्ध सबैलाई रक्सी र जाँड खान आग्रह गरिन्थ्यो रे । जसका कारण चेचकले छुँदैनथ्यो । दाङको थारु समुदायमा परिचित नामहरु स्व. चुर्मान थारु, स्व.अशोक थारु, स्व.ऋषिराम चौधरी, उहाँहरुकै अगुवाईमा चेचकको कहर थारु समुदायबाट टाढा भागेको भनिन्छ । चेचकका कारण मृत्यु भएका मानिसको शरीर पहिले नछोएरै रक्सीले पखालिन्थ्यो, त्यसपश्चात मात्र मृत्युकार्य गरिन्थ्यो भन्ने कथन पुराना मानिसबाट सुन्नमा आउँछ ।

हामी अहिले आधुनिक युगमा छौँ । अझ स्मार्ट भाषामा भन्ने हो भने यो विश्व ‘स्मार्ट वल्र्ड’ हो । अनेक प्रविधि, अनेक विज्ञान, अनेक स्मार्टनेस यो संसारले पाएको अवस्था अहिले छ । यो स्मार्ट वल्र्डमा असम्भव भन्ने केही छैन जस्तो लाग्छ । हेर्नुस त यो सत्यलाई कोभिड–१९ले गलत सावित गरिदिएको छ । बर्ड स्मार्ट भाइरस अहिले कोभिड–१९ बनेर खडा भएको छ । जुन भाइरससँग सिंगो विश्व लडिरहेको छ, निरन्तर । हो, यसरी नै त्यो बेला चेचक रोगसँग सिंगो थारुसमुदाय लडिरहेको थियो, सिंगो नेपाल लडिरहेको थियो अनि सिंगो विश्व पनि । पछि थारु समुदायले पनि थाहा पायो त्यो चेचक थारु समुदायका लागि मात्र हो । जसलाई विश्वले ‘बी–फर’का नामले चिन्यो । सम्झनुस त ‘बी–फर’ लागेको व्यक्तिले त्यो बेला कस्तो उपचार पायो होला, नेपालको सन्दर्भमा ? समयमा उपचार नपाएर कतिको मृत्यु भयो होला ? धेरै मान्छे अशिक्षित थिए, सञ्चारका नाममा चिठी–पत्र मात्र, उपचारका नाममा सायदै अधिकांशले सिटामोल समेत देखे होलान् । गोरेटो र घोरेटो बाटोबाट इमर्जेन्सी सेवा कस्तो पाए होलान् ? त्यस्तो कठिन परिस्थितिबाट पनि नेपालले अनि यो विश्वले बी–फरलाई जित्यो । ५÷६ दशक पहिले मात्र नेपालले बी–फरलाई जित्यो अनि थारु समुदायले चेचकलाई ।

कोभिड–१९ अर्थात् कोरोना रोगको कहरले हामीलाई अत्ताएको छ । त्रसित बनाएको । हामी डराएका पनि छौँ, कतै हामी हार्छौँ कि भनेर । आँखा चिम्म गरेर सम्झनुस त एक पटक, तपाईं अहिले स्मार्ट वल्र्डमा हुनुहुन्छ । तपाईको हातमा सिंगो विश्व छ । तपाईं आफै स्मार्ट हुनुहुन्छ । त्यो कठिन परिस्थितिमा त विश्वले बी–फरलाई जित्यो भने यो स्मार्ट युगमा जाबो कोभिड–१९ । अलिकति ढिला होला, यसको त्रास अझ बढी होला । भोगिरहेको कठिन परिस्थितिभन्दा दशगुणा बढी कठिनाई भोग्नु पनि पर्ला । तर कोभिड–१९ लाई हामीले आज नभए भोलि अवश्य जित्ने छौँ । बस, त्यसका लागि तपाईं स्मार्ट हुनुपर्ने छ, अनि म पनि । अस्तु ।