मौलाउँदै कुशासन र दण्डहीनता

  •   
  •  

भुवन पोख्रेल
राज्यका अवयवलाई सुशासनको दिशामा लैजाने, कुशल, नैतिकतावान, इमानदारीपूर्वक शासकीय क्षमता भएको नेतृत्वको खोजी मुलुकले गरिरहेको छ । मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्ने संस्था अख्तियार, सर्तकताकेन्द्र, सीआइवी छन् । झुट हेर्दा सबै पूर्ण देखिन्छ । सर्वसाधारणका लागि सबै विधि र प्रक्रिया पूरा गरेको देखिन्छ । सामान्य नागरिकलाई एयरपोर्टमा घडी र चस्मासमेत फुकाल्नु पर्ने हुन्छ तर त्यहीँ बाटो भएर कसरी क्वीन्टलका क्वीन्टल सुन भित्रन्छ, त्यसबाट प्रष्ट हुन्छ संस्था कसका निर्देशनमा चलेका छन् ।

नेपालमा संस्थापन भएका हरेक संस्था राजनीतिक हस्तक्षेप बिना स्वतन्त्र ढङ्गले विधि वा प्रक्रियापूर्वक अघि बढ्न सकेका छैनन् । सुशासनका लागि स्थापित संस्थाहरुको जवाफदेहिताको विकास हुन सकेको छैन । सेवा दिने संस्थाले किन सेवाग्राहीलाई चुस्त र दुरुस्त सेवा दिन नसकी कमजोर सावित भएका छन् ? ठेकेदारले किन समयमा बाटो घाटो र पुल निर्माण गर्न सक्दैन ? अनुसन्धान, अनुगमन र मूल्याङ्कन गर्नुपर्ने संस्थाले किन बेलामा आफ्नो काम गर्न सकेका छैनन् ?

सरकारी अस्पतालमा नागरिकले डाक्टर पाएका छन् त कहिले ? सार्वजनिक संस्थाभित्र भेद्भावसहित व्यवहार छैन । सेवाग्राहीले सम्मानपूर्वक आफ्नो सम्मानमा ठेस लाग्छ भने त्यहीँ संस्थाबाट सुशासनको आशा राख्न सकिन्छ । सुशासन भने नागरिकले सार्वजनिक संस्थाबाट सेवा लिँदाबिना झन्झट, चुस्त र दुरुस्त सेवा लिन पाउनु हो । सुशासन राज्यका सबै अवयवलाई पारदर्शी, जवाफदेही र कम झन्झटिलो बनाउनु हो ।

सुशासनका लागि राज्यका अवयवहरुमा नागरिकको सर्वोच्चता स्थापित हुनुपर्छ । सामान्यतया राजनीतिक दलका नेतालाई जनताभन्दा ठूला हुन् भनी उनीहरुलाई चाकरी गर्ने प्रवृतिले भ्रष्टाचारले जरा गाडेको हो । जनताभन्दा सांसद, वडा अध्यक्ष ठूला हुन भन्ने मान्यता जबसम्म नागरिकमा रहन्छ । सुशासनको परिकल्पना गर्न सकिँदैन । नागरिकले आफ्नो अमूल्य मताधिकार प्रयोग गरेर नेतृत्वले विजय हासिल गर्ने हुँदा नेतृत्वभन्दा नागरिक जहिल्यै माथि हुन्छ । नेतृत्वको पूजा गर्ने प्रवृत्तिले सरकारी संस्थामा नागरिकको पहुँच नपुग्ने र नेताको हारगुहार गर्ने अलोकतान्त्रिक संस्कारले जरा गाडेको छ ।

नेताले एक शब्द बोले नहुने काम पनि एक मिनेटमा हुने जनता महिनौँ रोइकराई गरे पनि उसको नियमले हुनुपर्ने काममा पनि सुनेको नसुन्यै गर्ने प्रवृत्ति मौलाएको छ । गाउँगाउँमा सिंहदरबारको मान्यताले स्थानीय तहका सरकार, प्रदेश सरकार र संघीय गरी तीन तहका सरकार गठन भएको छ । मुलुक संघीयताका गइसकेको छ तर जनताको घरदैलोमा शासन पद्दति विस्तार हुन सकेका छैनन् । अहिले लोकतन्त्रको जरा जनतासम्म पुग्न दिइएको छैन बिचैमा पार्टीका कार्यकर्ता, ठेकेदार, विचौलियाले छेकी दिएका छन् । त्यसैले आमनागरिकले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन् ।

शासन पद्दतिमा जनताको पहुँच, निगरानी, नियन्त्रण बढेमा मात्र राज्यलाई सुशासन दिशातर्फ डो¥याउन सहज हुन्छ । भ्रष्टाचारबाट जनता आक्रान्त छन् । सुशासनको बाटो नहिडी भ्रष्टाचार नियन्त्रण गर्न पनि सकिँदैन । नेपालमा नीति निर्माण गर्दा जनतालाई थाहै नदिई कोठा बैठकमा कानेखुसी गरेर सुटुक्क ल्याउन खोजिन्छ, त्यसर्थ नीतिमा विचौलिया र कर्मचारी हावी भइदिन्छन् । कर्मचारीको काम कस्तो केवल आएको नीतिलाई कार्यान्वयन गर्ने मात्र हो । यहाँ कर्मचारीतन्त्र ठूलो समस्याको रुपमा देखिएको छ र सुशासन बाधक सावित भएको छ ।

मुलुकको प्रणालीबाट कोही कतै सन्तुष्ट छैन असन्तुष्टिका आवाजहरु सुनिन्छन् । केवल राजनीतिक दलका नेता, मन्त्री, सांसद र राजनीतिकका वरिपरि असीमित लाभ लिएका सीमित व्यक्ति मात्र खुसी छन् । यो मुलुकमा डाक्टर असन्तुष्ट भई आन्दोलित छन्, शिक्षक वितृष्णा बोकेर कक्षाकोठामा पढाएर रमाउने वातावरण नभई सडकमा उत्रिएका छन् । आफ्नो हक, अधिकार र आत्मसम्मानमा ठेस लागेको भन्दै त्यस्तै युवावर्ग खुसी छैनन्, बेरोजगार छन्, मजदुर, कृषक सबै वर्ग उद्देलित छन् । यस्तो परिस्थिति कसरी सिर्जना भयो भन्नेमा राजनीतिक दलका शीर्ष नेता मौन छन् ।

नीति निर्माणमा किन व्यापक जनसहभागीता हुन सकेन । जनता सार्वभौम हुनुपर्ने मुलुकमा कार्यकर्ता हावी छन् । त्यस्तो अवस्थामा कसरी सुशासन कायम हुन सक्ला र ? राज्यले स्वास्थ्यलाई निजीकरण, शिक्षालाई निजीकरण गरी सर्वसाधरण गरिब विपन्न जनतालाई दुःखमा धकेली दिएको छ । नेतृत्ववर्गको नैतिक धरातल अत्यन्त कमजोर भएकाले मुलुकमा सुशासनको कमी कमजोरी सावित भएको छ । विधि र पद्दतिमा दलहरु चल्नु पर्छ । आर्थिक पारदर्शीता हुनुपर्छ भन्ने राजनीतिक दलको नीति नै छैन । प्रत्येक पार्टी वा दलले आफ्नो दलको नायक ठड्याएको छ ।

त्यही नायकलाई देवत्वकरण गरेर पुजन गर्ने प्रवृत्ति मौलाएको छ, नायकको वरिपरि भजमण्डली झैँ कायकर्ता थपडी मार्दै छन् । देवत्वकरण गरे पछि फूलमाला पूजाआजा र आरती उर्तान भई व्यवस्त देखिन्छन् झुण्डहरु । पार्टीको आन्तरिक लोकतन्त्र, विधि, पद्दति मारेर नायकको पालन, पोषण गरिएको छ । जनताको कुनै वास्ता छैन सुख पाउन वा दुःख उपचार पाउन वा मरुन, रोजगार पाउन वा बेरोजगार बनेर भौतारिउन, जनता त केवल पाँच वर्षमा एक पटक भोट हाल्ने स्ट्याम्प प्याडन हुन । उनीहरुको भावनाको किन कदर गर्नु प¥यो र ।

उनीहरु त मृत प्रायः भई सकेका छन् भनी नागरिकलाई निष्कृय पार्ने प्रयत्न यत्रतत्र भइरहेको छ । पार्टीहरु यस्तो किसिमको हर्कत र प्रवृत्तिले मुलुक सुशासनतर्फ जान सक्दैन । अहिले मुलुकमा मौलाएको भ्रष्टाचार र कुशासन राजनीतिक दलका नेतृत्ववर्गबाट पाएके कुरुप र बोझिलो उपहार हो । मुलुकको अहिलेको भड्किलो र महँगो निर्वाचनले दलहरुको निर्वाचन प्रक्रियामा पैसा नहुने इमान्दार, नैतिकवान, गोग्य व्यक्तिले टिकटै नपाउने टिकट पाए पनि चुनाव जित्नलाई धनको खोला बगाउन नसकेकै कारण चुनाव हार्नुपर्ने स्थिति सिर्जना भएको छ ।

निर्वाचन दलका लागि हार्न होइन, जित्न हो त्यसर्थ ठेकदार, विचौलिया, व्यापारी निजी स्कुलका मालिकका लागि छानीछानी दलहरु टिकट दिन तछाडमछाड गर्छन् । एउटा दलले टिकट नदिए अर्को दलले दिन्छ । भ्रष्ट र अनैतिकसँग पैसा नलिइकन दलका नेता पनि चुनाव लड्न सक्दैनन् अनि कसरी स्थापित हुन्छ सुशासन । त्यस्तो चुनावी प्रक्रियाबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति जवाफदेहि र उत्तरदायी हुनुको साटो चन्दादातातर्फ जवाफदेहि र उत्तरदायी हुन्छ । यस्तो प्रक्रियाबाट बनेको सांसद र मन्त्रीबाट सुशासन प्रबद्र्धनको आशा कसरी गर्न सकिन्छ ।

आमजनताले प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै माध्यमबाट पनि नेतृत्वलाई खबरदायी गरिरहेका छन् । नेतृत्ववर्गलाई ब्युझाँउन खोजेका छन् तर साच्चिकै निदाएको भए पो त नेतृत्व ब्युझिँने, बाहना गरेकालाई कसरी ब्युझाँउने ? आमजनताले सोसल मिडियामा नेतालाई अप्रिय बोली प्रयोग गरेर तिखा वचन वाण प्रयोग गर्न थालिसके यसबाट नेतृत्ववर्ग सर्तक हुनैपर्छ । राजनीतिको भुइँमा रहेकाहरुले पुरानो शक्तिबाट अब खासै चमत्कार नहुने देखेर अब वैकल्पिक शक्ति जसले एकै पटकक मुलुकमा ठुलै उथलपुथल ल्याइ चमत्कारीक पूर्ण ढङ्गले मुलुकको कायापलट गरिदिओस् भन्ने सोचेका छन् ।

अस्थिर राजनीतिक र सत्तामा बस्नेले जनताको विश्वास जित्न नसक्दा राजनीतिक असन्तोषका बाछिटा देखिन थालेका छन् । नेपाली जनताले हरदम चमत्कारीक नायक खोजिरहेका छन् । चुनावमा बालेन, हर्क साम्पाङ, रवि लामिछाने आदिको उदय यसका प्रतिनिधि पात्र हुन् । हिन्दु पौराणिक कथामा जब समाजमा अर्धम, अत्याचार र अन्याय बढ्छ नयाँ अवतारले जन्म लिन्छ । राजनीतिक अस्थिरता बढेको बेला कतिपय देशमा संवैधानिक प्रक्रिया विचलित भएका छन् । यस्तो बेला सेना अगाडि आएका दृष्टान्त पनि छन् तर नेपालको राजनीतिक यसका लागि त्यति उर्वर छैन । राजनीतिकमा संविधान र लोकतन्त्रभन्दा अर्को बाटो कल्पना गर्न सकिँदैन ।

नेपालका शीर्ष दल नेपाली कांग्रेस, एमाले, माओवादी कसैकाप्रति पनि जनताको विश्वास छैन । परिवर्तनका बाहक भनिएका दल र नेतृत्व नकाम सिद्ध हुनुलाई विडम्बना ठान्नु पर्छ । अहिले राजनीतिकमा जे जति नयाँ अनुहार र पार्टी उदाएका छन्, त्यहीँ सबै संविधान र निर्वाचन प्रक्रिया भित्रैका उपज छन् र चुनावका माध्यमबाट सत्तामा परिवर्तन गर्न सकिन्छ भन्ने जनताको विश्वास बलियो भएको छ । यस्तो अवस्था नेतृत्वमा पुगेका व्यक्ति र पार्टीले सुशासनका लागि एउटा इटा भए पनि थप्न सकियो भने जनविश्वास जित्न सकिन्छ । यतिबेला मुलुक दिनप्रति दिन कुशासनको चंगुलमा फस्दै गएको छ ।

कुनै पनि महँगीले दिन दाहडै ढाडसेकेको छ । सेवाप्रवाही गर्नु पर्ने सरकारी निकाय निर्दयी भएर निस्केका छन् । दण्डहीनता मौलाएकै कारण जसले जे गरे पनि छुट भएको छ । विकृति र विसङ्गती दिन दुुना र रात चौगुना मौलाएको छ । कुशासन र दण्डहीनताका कारण पछिल्लो समय मुलुकमा विभिन्न स्थानमा धार्मिक असहिष्णुता र सामाजिक सद्भावमा खलल पु¥याउने तत्वहरु ब्युझिँदै छन् । बढ्दो महँगी, बढ्दो भ्रष्टाचार जस्ता अराजक गतिविधिका कारण कुनै पनि बेला हिंसा भड्किन सक्दछ । अतिवादी तत्वले मौका कुरेर बसेका छन् । विद्यमान कुशासन, दण्डहीनता, स्वेच्छाचारीताका कारण नागरिकमा बढ्दै गएको वितृष्णालाई समय मै सम्बोधन गर्न जरुरी छ ।

जसका लागि सरकार, राजनीतिक दल, नागरिक समाज सबै गम्भीर हुनै पर्छ । कुशासनलाई सुशासनतर्फ डो¥याउन खवरदारी गर्नुपर्छ । नेपालले अहिले यस्तो राजनीतिक दल र नेतृत्वको खोजी गरेको छ जसले सम्पूर्ण भ्रष्टाचारीलाई कोर्रा लगाएर जेलमा कोचोस्, मुलुकमा रोजगारी सिर्जना गरोस्, उद्योगधन्दा स्थापना गरोस्, सबैलाई न्याय दिन सकोस्, मुलुकमा अमनचयन कायम गरोस्, सत्य कुरा बोल्न सक्ने र कोहीसँग नडराउने र नझुक्ने नेतृत्व चाहिएको छ । नेपाली जनताले राजनीतिक रुपमा लोकतान्त्रिक तर भ्रष्टाचारीका लागि निरकुंश नेतृत्वको खोजी गरिरहेका छन् ।