मूल्यमा एकरूपता देखिन

गोरक्ष समाचारदाता
तुलसीपुर, २ कार्तिक । चाडपर्व नजिकिएसँगै बजार अनुगमनले तीव्रता पाएको छ । बुधवार तुलसीपुरमा नगर प्रमुख उपप्रमुख, स्वास्थ्य प्रवर्धन शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र अन्य जिम्मेवार पदाधिकारीको बाक्लो उपस्थिति बजार अनुगमन भएको छ । तुलसीपुरमा ठुला–ठुला पसलमा गरिएको अनुगमनमा मूल्यमा भने एक नदेखिएको बताएको छ । बजारमा चिनीदेखि अन्य वस्तुमा समेत मूल्यमा एकरूपता नदेखिएको हो ।
बजारका पसलमा मूल्यसूची केहीले नराखेको र उनीहरूलाई अनिवार्य पसलमा मूल्यसूची राख्न र म्याद गुज्रिएका सामग्री हटाउन निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले नगर प्रमुखको नेतृवमा अनुगन गरेको हो । त्यस्तै ठुला–ठुला मार्ट पसलमा चिनीलगायत अन्य वस्तुहरूको मूल्यमा एकरूपता पनि नभएको पाएको छ । बजारका केही पसलहरूमा एक सय १५ केहीमा एक सय २५ रुपैयाँसम्म चिनीको मूल्य रहेको छ । त्यस्तै चिउरा तथा अन्य वस्तुमा पनि पसल अनुसार फरक–फरक मूल्य देखिएको छ । केहीले बढेर आएको र केहीले पहिलेको स्टक भएकाले फरक–फरक मूल्य भएको बताएका थिए । त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनु पर्नेमा स्वास्थ्य शाखाका प्रमुख ओम न्यौपानले जानकारी गराएका थिए ।
अनुगमनका क्रममा केही पसल दर्ता नभइ सञ्चालन गरिएको पाइएको र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा जान समेत निर्देशन र केही म्याद गुजरेका सामान केही मात्रमा नियन्त्रणमा लिएको छ । । त्यस्तै अनुगमनमा सहभागी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उपभोक्ता पनि कुन बस्तु कस्तो हो र यसको मूल्य कति छ भन्ने र सजक हुनु पर्ने बताए । उनले म्याद गुज्रेका सामग्री कम्पनीले फिर्ता लग्ने भन्दै व्यवसायीले झन्झट नमानेर त्यसलाई व्यवस्थापन गर्नु पर्ने बताए । अनुगमनको क्रममा व्यवसायीले ५ देखि २० प्रतिशतसम्म उपभोक्तालाई छुट दिएको बताएका थिए ।