सही सूचना नपुगेमा झनै भयावह अबस्था आउनसक्छ : पोख्रेल

दाङ, बैशाख ५ । संवाद समूले कोरोनाको संकटको समयमा पत्रकारिता क्षेत्रले भोग्दै आएका समस्या र निर्वाह गर्दै गरेको दायित्वका बिषयमा भिडियो संवाद आयोजना गरेको छ ।

संबादमा बोल्दै पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले अहिलेको संकटपूर्ण अबस्थामा सूचना लिन पत्रकारहरुलाई निकै सकस भएको भन्दै सूचनाका स्रोतहरुले समयमै सही सूचना उपलब्ध गराउन पर्ने बताएका छन् । उनले अनपेक्षित रुपमा भोग्न परेको संकटको समयमा सबै पक्ष अलमलमा पर्दा सूचना आदनप्रदानको प्रक्रियालाई भने सवल बनाउनै पर्नेमा जोड दिएका छन् । संकटको समयमा सही सूचना नागरिकसम्म पुगेन भने त्यसले झनै भयावह अबस्था सिर्जना गर्ने उनको भनाई छ ।

कोरोना भाईरस संक्रमणको सुरक्षा सर्तकता अपनाउदै सूचना दिने कार्यमा क्रियाशील हुन पत्रकारहरुलाई आग्रह गर्दै उनले सूचना संकलन गर्दा अग्रपंक्तिमा रहने पत्रकारका लागि सरकारले परीक्षण गर्ने र पीपीईको ब्यबस्था गर्नुपर्ने बताए । लकडाउन शुरु भएदेखि प्रधानमन्त्री केपी शर्माले ३ पटक सम्बोधन गरे पनि पत्रकार महासंघले सरकारसंग राखेका मागका बिषयमा सम्बोधन हुन नसकेको भन्दै उनले गुनासो पनि गरे ।

पोख्रेलले नागरिकको सूचनाको हकको सम्मान गर्दै राज्य र उसका सबै निकायले गरिरहेको गतिबिधीका बारेमा नागरिकलाई जनाकारी गराइराख्नु पर्नेमा पनि जोड दिएका छन् । ‘लकडाउनका भोलीपल्टदेखि यहाँको शैक्षिक क्षेत्र, व्यापारिक क्षेत्र, स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्र कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा राज्यले गृहकार्य गर्नु पर्छ,’ पोख्रेलले भने,-‘त्यो गृहकार्यको जानकारी नागरिकले पाएभने नगरिकमा आशा जाग्छ र केही गर्ने तयारी गर्छन् ।’ यसरी सूचना नपाएमा नागरिकहरुले तनाव लिने अबस्था आउने तर्फ उनको चिन्ता थियो ।

पत्रकार महासंघ दाङका अध्यक्ष सबीन प्रीयासनले जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिईरहेको बताए । उनले त्यस बाहेक दैनिक छाक टार्न सक्ने अबस्थाका बारेमा पनि दाङका श्रमजीबि पत्रकारहरुको बारेमा चासो लिई रहेको जानकारी गराए ।

सामूदायीक रेडियो प्रसारक संघका प्रदेश ५ संयोजक केपी घिमिरेले जनसरोकारका बिषयमा संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार बीचको समन्वयको भूमीका खेल्न संबाद समूहलाई आग्रह गरे । उनले लकडाउन पूनः थप हुन गए, सामूदायीक रेडियो अधिकासं बन्द हुन सक्ने आशंका ब्यक्त गरे ।

बि.बि.सि. नेपाली सेवाकी बसुन्धरा गौतमले सञ्चार क्षेत्रसंग स्थानीय तहहरुले प्रभाबकारि समन्वय गर्न नसक्दा पालिकामा सञ्चालनमा ल्याएका क्वारेन्टाईन खालि खालि भएको हुन सक्ने बताइन् । सञ्चारकर्मीहरुसंगको समन्वयमा पालिकाहरुले कोरोना भाईरस संक्रमणको सर्तकताका लागि सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।

युगबोध राष्ट्रिय दैनिककी लक्ष्मी आचार्यले आईसोलेसन र क्वारेन्टाईनका बारेमा स्पष्ट जानकारी आम नागरिकलाई गराउन नसकिएको हो कि भन्ने आशंका व्यक्त गरिन् । क्वारेन्टाइमा बस्नेलाई विगतमा कुष्ट रोगीलाई हेर्ने जस्तो सोच भएको हुनसक्ने भन्दै आचार्यले आम सञ्चार माध्यमबाट त्यसलाई स्पष्ट पार्न सक्नुपर्नेमा जोड दिइन् ।

कान्तिपुर टेलिभिजनका रोशनमान श्रेष्ठले जिल्लामा झण्डै ३६ सय बढी बिदेशबाट आएको भएता पनि क्वारेन्टाईनमा ४०÷५० जना मात्र बसेको गंभिर अबस्थामा उनीहरुलाई क्वारेन्टाइनमा बसाल्नका लागि सहयोगी हुनुपर्ने बताए ।

त्यसैगरी सेतोपाटी दैनिकका नारायण खड्काले पत्रकारहरुसंग स्वास्थ्य सुरक्षा सामाग्री हुन नसक्दा फिल्ड रिपोटिङमा समस्या आएको बताए । क्वारेन्टाईन र आईसोलेसनको समाचार बनाउन जाँदा स्वास्थ्य सुरक्षा सामाग्री पी.पी.ई. नहुँदा प्रबेश गर्न नपाईएको अनुभव सुनाए । सञ्चार संस्थामा कोरोना भाईरसको संक्रमणबाट सुरक्षित हुने अबस्था नरहेको पनि उनले सुनाए ।
संबादको सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।
संबाद समूहले यसअघि बिभिन्न पक्षहरुसँग भीडियो कन्फ्रेरन्स मार्पmत संबाद गरेको छ ।