प्रियास्मृति गजमेर
देउखुरी, २५ असोज । लमही नगरपालिकाले नगरका विभिन्न ठाउँमा अवैध रूपमा सङ्कलन गरी राखेको नदीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । राप्ती नदीबाट चोरेर नर्सरी, खोलाको किनार, खरबारीभित्र लुकाएर राखिएको अवस्थामा सत्र सय घनमिटर बढी नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको हो ।
नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल, २ का वडाध्यक्ष नेपालु चौधरी, ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, ६ का वडाध्यक्ष श्यामनारायण चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, जिल्ला समन्वय समिति दाङका सदस्य कुलबहादुर बुढा, प्राविधिक अमित विश्वकर्मालगायतको टोलीले बुधवार अनुगमन गर्दै अवैध रूपमा राखिएको बालुवा र गिट्टी नापजाँच गर्दै बरामद गरेको हो । लमही नगरपालिकाभित्र नदीजन्य कच्चा पदार्थ अवैध रूपले चोरी–निकासी बढ्न लागेपछि नगरपालिकाले यो कार्यलाई रोक्ने प्रयास थालेको उपप्रमुख लक्ष्मी योगीले बताइन् ।
जनप्रतिनिधि एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै उपप्रमुख योगीले जनता र प्रहरीको साथले नदीजन्य पदार्थको अवैध चोरीलाई रोक्ने बताइन् । अनुगमन टोलीले लमही नगरपालिका–७ को हसनापुरबाट ११ सय ५५ घनमिटर (५७७.५ टेक्टर) बालुवा, गिधनियाबाट ३ सय घनमिटर बलुवा, वनगैबाट एक सय ३८ घनमिटर (६९ टेक्टर ) बालुवा, सोही ठाउँबाटै एक सय ८ घनमिटर बालुवा गरी १७ सय एक घनमिटर नदीजन्य कच्चा पदार्थ नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको नदीजन्य पदार्थलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने नगर प्रमुख जोगराज चौधरीले बताए ।
लमही नगरपालिका–६ मध्यनगर अर्जुनखोला घाटबाट २ वटा टेक्टर, ८ को गिधनिया घाटबाट २ वटा टेक्टर, वडा नं. २ को घाटबाट एउटा गरी पाँचवटा टेक्टर नियन्त्रणमा लिइएको हो । अवैध रूपमा थुपारेको बालुवा ढुवानी गर्न आएको एउटा टिप्परलाई पनि टोलीले नियन्त्रणमा लिएको छ । नगर प्रमुख चौधरीले अवैध रूपमा नदीजन्य पदार्थ सङ्कलन नगर्न नगरबासीलाई आग्रह गरेका छन् । उनले बेवारिसे अवस्थामा रहेको गिट्टी–बालुवालाई नगरपालिकाले सुरक्षित स्थानमा लगेर राख्ने काम भइरहेको भन्दै बालुवा, गिट्टी सङ्कलन गर्ने व्यक्ति वा कम्पनीलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।