Goraksha

National Daily

पानीमा तैरिएको चिस्यान केन्द्र भवन

1 min read

गोरक्ष समाचारदाता
दाङ, २५ असोज । दंगीशरण गाउँपालिका–३ हेकुलीमा किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्न राख्न चिस्यान केन्द्र निर्माण भएको एक वर्ष भए पनि स्थानीयले उपयोग गर्न पाएका छैनन् । त्यसको मुख्य कारण हो, चिस्यान केन्द्र तयार नहुँदै बिग्रनु ।

दक्षिण फर्केको भवन एउटा कुनाबाट भासिँदै गएको छ भने अर्को कुना जमिनभन्दा माथि उठेको छ । स्थानीयका अनुसार जग हाल्ने बेला भवनको पूर्वी भाग र पश्चिमी भागको सतह बराबर थियो तर अहिले चिस्यान केन्द्रको ढोकापट्टिको कुना आकाशिँदै गएको छ । एकापट्टिको भाग उकासिँदै गएको भएर होला जस्तापाताको छाना पनि बाङ्गिएको स्थानीय बताउँछन् । छाना अड्याउने फलामे एङ्गल हेर्दा सर्पले भ्यागुतो निलेजस्तो देखिने गरेको स्थानीय ४० वर्षीया अम्बिका वली बताउँछिन् ।

उनले चिस्यान केन्द्र बनेको सुरुदेखि नै देखेको भन्दै भनिन्, ‘सुरुमा भवनको भूइँको लेभल बराबर थियो तर अहिले ढोका माथि–माथि उचालिँदै उक्लनै नसक्ने भइसकेको छ । पानी परेपछि ढोकापट्टिको भाग उकासिन्छ ।’ करिब एक करोड बढीको लागतमा तयार भएको भवन कामै नलाग्ने भएको स्थानीय बताउँछन् ।

‘यो त कुला खोल्सामा केटाकेटीले कागजको डुङ्गा चलाएझैँ तैरिएको छ । यसको डिजाइन गर्ने इन्जिनियर कस्ता रहेछन् कुन्नि ?’, उनले भनिन्, ‘हेर्नुहोस् त यहीँ नजिकै गाउँमा माटोका घर समेत वर्षौँदेखि केही भएका छैनन् तर यो चिस्यान केन्द्र एक वर्ष पनि राम्रोसँग चल्न सकेन, भवन निर्माणमा कतिसम्म लापरबाही भएको हो ?’ गलत डिपिआर, गलत डिजाइन र गलत इन्जिनियरिङका कारण चिस्यान केन्द्र काम नलाग्ने भएको उनी बताउँछिन् ।

चिस्यान केन्द्रको करिब चार वर्ष पहिले २०७६ कार्तिक÷मङ्सिर महिनादेखि निर्माण सुरु भएको थियो । गत वर्ष असोजमा भवन निर्माण कार्य पूरा भएको दंगीशरण गाउँपालिकाले जनाएको छ । गाउँपालिका इन्जिनियर प्रमोद गौतमका अनुसार दुईतले चिस्यान केन्द्रका लागि गाउँपालिकाको आधा र प्रदेश सरकारको आधा गरी एक करोड १० लाखमा टेन्डर आह्वान गरे पनि करिब ९२ लाखमा घोराहीको लोकमणि विल्डर्सले निर्माणको काम गर्ने ठेक्का पायो तर उसले आफूले नगरी पेटी ठेकेदारको रूपमा स्थानीय बसन्त वलीलाई जिम्मा दिएको थियो ।

चिस्यान केन्द्र प्रयोगमा नआइ काम नलाग्ने भइसके पनि निर्माण कम्पनीले ९० लाख रकम भुक्तानी पाइसकेको छ । ठेकेदार कम्पनीको साढे चार लाख धरौटी भने बाँकी छ । त्यतिखेर चिस्यान केन्द्र भवनको डिजाइन गर्दा इन्जिनियर अंकित आचार्य थिए । उनी अहिले अमेरिकामा छन् । अहिले इन्जियिनर प्रमोद गौतमले जमिन मुनिको पानीको उतारचढाव ख्याल नगरी गलत डिजाइनका आधारमा बनाइँदा समस्या भएको बताउँछन् । ‘कोल्डस्टोर बनाउँदा हिउँदमा पानीको लेभल हेरियो होला’, इन्जिनियर गौतमले भने, ‘तर असार÷साउनमा त्यो ठाउँमा पानी जमेर पानीको लेभल तलमाथि हुन्छ भन्ने कुरा ख्याल गरिएन, जसले गर्दा अहिले कामै नलाग्ने भएको छ ।’

समस्या उत्पन्न भएपछि डिपिआर गर्ने मुनलाइट कन्सल्टेन्सीलाई पत्र काटिएको उनी बताउँछन् । डिपिआर गर्ने दक्ष जनशक्तिको अभाव र चिस्यान केन्द्र कसरी बनाउने भन्ने पर्याप्त प्राविधिक ज्ञान नभएकाले पनि यस्तो समस्या आएको इन्जिनियर गौतम बताउँछन् । कराडौँ रुपैयाँ खर्च गरेर निर्माण भएका खोल्डस्टोर काम नलाग्ने भएपछि स्थानीयले गलत काम गर्नेलाई कारबाहीको माग गरेका छन् । ‘यति ठुलो रकमबाट राम्रो कोल्डस्टोर निर्माण गरेको भए, किसानलाई राहत हुन्थ्यो’, स्थानीय वलीले भनिन्, ‘काम राम्रो गरेर जनतालाई सेवाभन्दा पनि काम टार्ने प्रवृत्तिले गर्दा करोडौँ रुपैयाँ खेर जाने अवस्था छ ।’

चिस्यान केन्द्र प्रयोगमा नआउँदै काम नलाग्ने भएपछि दंगीशरण गाउँपालिका वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरीले आफ्नो टाउको दुखाइ बनेको बताउँछन् । ‘मलाई वडाबासीले प्रयोगमा नआई जीर्ण बनेको चिस्यान केन्द्रबारे सोधेर हैरान बनाउने गरेका छन्’, वडाध्यक्ष चौधरीले भने, ‘यो निर्माण प्रक्रियामा मेरो कुनै भूमिका छैन । जवाफ भने दिइरहनु परेको छ ।’ माटो परीक्षण नै नगरी हँचुवाको भरमा लाखौँ–करोडौँ रुपैयाँ खर्च गरेर निर्माण भएको चिस्यान केन्द्र काम नलाग्ने भएको उनी बताउँछन् ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीले पनि अघिल्लो कार्यकालमा निर्मित संरचना भए पनि अहिले आपूmले समेत आलोचना खेप्नु पर्ने अवस्था भएको बताउँछन् । ‘चिस्यान केन्द्रको यो अवस्था देख्दा आज सबैले हामीलाई गाली गरिरहेका छन्’, गाउँपालिका अध्यक्ष गिरीले भने, ‘गलत काम हुँदा एकातिर राज्यको करोडौँ रकम खेर जाने अवस्था छ भने अर्कोतिर जनप्रतिनिधिले गाली खानु परेको छ ।’