बालाराम खड्का
तुलसीपुर, ५ बैशाख ।कोभिड– १९ कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भनेर लकडाउन गरिएको छ । तर लकडाउन गरिए पनि यहाँको बजारमा भने भिडभाड हुने गरेको छ । दाङको तुलसीपुर बजारमा विहान तरकारी तथा अन्य अत्यावश्यक सामग्री किन्ने भन्दै नागरिकहरु सामाजिक दूरी कायम नै नगरी बजारका विभिन्न पसलहरुमा भिडभाड लगाउने गरेका छन् ।
सामाजिक दूरी कायम नगर्दा संक्रमणको त्रास रहेको स्थानीयहरु बताउछन् । तुलसीपुरमा दैनिक विहान ६ बजे देखि ९ बजेसम्म अत्यावश्यक पसलहरु खोल्ने निर्णयसंगै बजारमा नागरिकहरुको बाक्लो भिड लाग्ने गरेको छ ।
तरकारी पसल, किराना पसलहरुमा सामाजिक दुरीनै कायम नगर्दा संक्रमणको जोखिम बढ्ने बताएको छ । ‘‘बिहानको समयमा धेरै मानिसहरुको भिडभाड हुने गरेको छ, यसले पनि संक्रमणको जोखिम बढन सक्छ’’ स्थानीय रमेश वलीले भने ।
त्यस्तै सामाजिक दुरी कायम गर्न तथा अत्यावश्यक बाहेक घरबाट वाहिर नआउन भन्दै प्रशासनले भने नागरिकहरुलाई सचेत र सूचना भने प्रवाह गरिरहेको छ । दैनिक सबारी साधन नियन्त्रण र अत्यावश्यक काम बाहेक सडकमा आउनेलाई भने प्रहरीले पक्राउ गरी सम्झाइ वुझाई गरी सचेतना दिने गरेको प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । ‘‘हामीहरुले दैनिक अत्यावश्यक बाहेकका सवारी साधनलाई नियन्त्रण र नागरिकहरुलाई सामाजिक दूरी कायम गरि किनमेल गर्न आह्वान गरेका छौं’’ उनले भने।
तर बिहान भने विभिन्न बहानामा नागरिकहरु घरबाहिर निक्लने र पसलहरुमा भिडभाड गर्ने गरेको बताएको छ। बिहान अत्यावश्यक पसलहरु खोल्दा धेरै भिडभाड हुने गरेपछि अव सो समयलाई परिवर्तन गर्नुपर्ने योगीको भनाईछ ।
‘‘यस विषयमा छलफल गर्नुपर्ने भएकोछ, बिहान धेरै मानिस घरवाहिर निक्लने देखिएपछि त्यसको साटो दिउँसो १० बजे पछि अत्यावश्यक पसलहरु खोल्नुपर्छकी भन्नेमा हामीहरु छौं’’ उनले भने ।यसले गर्दा दिउँसोमा अत्यावश्यक बाहेक अन्य नागरिकहरु बारिह नआउने उनको भनाई छ । त्यस्तै घोराहीमा भने उद्योग वाणिज्य संघ र उपमहानगरपालिकाले दैनिक उपभोग्य सामग्रीहरु होमडेलीभरीको व्यवस्था मिलाएकाले यो समस्या कम देखिएको छ ।
केहि दिन अगाडी तुलसीपुर स्थीत तरकारी तथा फलफुल बजार भने सिलगरिएको छ । भारतबाट तरकारी भित्याएको भन्दै उपमहानगर र उद्योग वाणिज्य संघले केहि दिनका लागि बजार सिलगरेको छ । तर फुटकर तरकारी पसलहरुमा भने विहान किनमेलका लागि भिडभाड हुने गरेको छ । प्रहरीले भने यसलाई कडाइ गदै आएको छ ।