Goraksha

National Daily

सडक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सप्ताह सुरु

गोरक्ष समाचारदाता
दाङ, १८ असोज । दाङमा सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सप्ताह सुरु भएको छ । सडक सुरक्षा र ट्राफिक नियम बारे आम नागरिकलाई सचेतना फैलाउने उद्देश्यले बुधवारदेखि ‘ट्राफिक सचेतना सप्ताह–२०८०’ सुरु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजना तथा विभिन्न संघसंस्थाको समन्वयमा सवारी चालक, सडक प्रयोगकर्तालगायत आम नागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनिकरणसम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ ट्राफिक सचेतना सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिएका छन् । साँघुरा र निर्माणका क्रममा अलपत्र परेका जोखिमपूर्ण सडकसँगै चाडपर्वको समयमा हुन सक्ने दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको बताए ।

ट्राफिक सचेतना र दुर्घटना न्यूनिकरणसम्बन्धी गर्ने काम ट्राफिक प्रहरीको नियमित काम भए पनि जिल्लाभरि एकै पटक सचेतना फैलाउन सबैको सहयोग आवश्यक रहेकाले सप्ताहव्यापी कार्यक्रम गरिएको भन्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले भने, ‘ट्राफिक सचेतना र सडक सुरक्षाका सवालमा सप्ताहव्यापी कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह गर्नेछ । सवैको साथ र सहयोगले चाडपर्वसँगै जिल्लामा सडक दुर्घटना न्यूनिकरणका लागि भूमिका खेल्ने अपेक्षा छ ।’

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यापी कार्यक्रमले भूमिका खेल्ने बताए । बढ्दो सहरीकरणसँगै जिल्लामा जनसङ्ख्या र सवारी साधनको चाप बढेको र त्यसैमा फुटपाथ अतिक्रमण गरेर गरी व्यवसायले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले सचेतना आवश्यक रहेको बताए ।

उनले ट्राफिक सचेतनासम्बन्धी ज्ञानको कमीसँगै सडकमा ट्राफिक सङ्केत नहुँदा पनि कतिपय दुर्घटना हुने गरेको भन्दै त्यसतर्फ सबैको ध्यान जानु पर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख चौधरीले भने, ‘साँघुरा सडक, लाइसेन्स प्राप्त नगरेर सवारी चलाउनेसँगै सडकमा ट्राफिक सङ्केत नहुँदा पनि दुर्घटना हुने गरेका छन् । त्यस्ता घट्ना रोक्न आम नागरिकसँगै विद्यालयमा अध्ययनरत बालबालिकालाई ट्राफिक नियमका बारेमा सिकाउन आवश्यक छ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले सप्ताहव्यापी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै सडक दुर्घटना रोक्न भूमिका खेल्नु पर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले सप्ताहव्यापी कार्यक्रमसँगै अन्य समयमा पनि ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए ।

सप्ताहव्यापी कार्यक्रमका अवसरमा विद्यालय र कलेजमा ट्राफिक नियमसम्बन्धी सचेतना, दुर्घटना न्यूनिकरणसम्बधी सरोकारवालासँग अन्तरक्रिया, ट्राफिक नियमसम्बन्धी होर्डिङ बोर्ड राख्ने, सरसफाईलगायतका कार्यक्रमलाई विशेष अभियान सञ्चालन गरिनेछ । त्यस्तै ट्राफिक सचेतनासम्बन्धी प्रचार पम्प्लेट वितरण, चालक प्रशिक्षण, साना तथा ठुला सवारीमा स्टिकर टाँस गर्ने र ग्रामीण भेगमा समेत सचेतनाका कार्यक्रम गरिने, सहरी क्षेत्रका सडकमा जेब्राक्रसलगायतका ट्राफिक सङ्केत राखिने भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले बताए ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख रमेश गौतम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापा, घोराही उपमहानगरपालिका–१८ का अध्यक्ष भरतमणि अर्याल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नेपाल यातायात व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य भरतनाथ योगी, मसिना गाउँ सुधार समूहकी सदस्य जयपुरा घर्ती, सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष बलदेव योगीलगायातले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार डा लोकराज पराजुली, लोक गायक केशव वली तथा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका अध्यक्ष आरके शितलले गरेका थिए । सप्ताहव्यापी कार्यक्रमको उद्घाटन पूर्व प्रहरी, यातायात व्यवसायी, विद्यार्थी, व्यवसायीलगायतको सहभागितामा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरिएको थियो । ट्राफिक प्रहरीले विहीवार विद्यार्थीसँग ट्राफिक प्रहरीसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।